मातृस्नेहको यादमा
स्वर्गीय आमा कृष्णमाया घिमिरेप्रति
दिगो आत्मशान्तिको कामना गर्दै
निबन्ध सङ्ग्रह सप्रेम समर्पित !!
- छोरी शारदा शर्मा
यो निबन्ध सङ्ग्रहभित्र परेका निबन्धहरू प्रकाशित गर्न पाउँदा ज्याँदै हर्षित छु, साथै यस विधाभित्रका निबन्धहरूले पाठकलाई सन्तुष्ट तुल्याउन सक्छन् भने कुरामा आशान्वित छ। बुद्धिजीवीबाट नै यस सङ्ग्रहको मूल्यांकनको अपेक्षा राख्दै फेरि अर्को कृतिबाट आउने निश्चय गर्दछु।
- शारदा शर्मा
भारतीय नेपाली निबन्धको सन्दर्भमा दार्जीलिङलाई मात्र हेर्दा पनि संरचना र स्वरूपमा नवीनता, बौद्धिकता साथै फिक्चर राइटिङ र विद्याभञ्जनका प्रयोगहरू पाइन्छन्। आख्यानको तुलनामा निबन्धको मन्द प्रकाशन भएको प्रतीत भएकोले पनि संरक्षणार्थ यस क्षेत्रमा प्रविष्टिनु वाञ्छनीय छ। यसोस्ले सरलतापूर्वक साहित्यानुरागीहरूलाई मध्यनजर राखेर निबन्ध लेख्ने प्रयत्न गरेको छु। भाषिक क्लिष्टता, भाव पण्डित्याई साथै दर्शन र सिद्धान्त हाक्ने पक्षमा छैन म। भावाभिव्यक्ति स्वयम् नै कुनै न कुनै 'वाद' र 'सिद्धान्त' मा पर्छन् आफै। अनुभवहरू बाँड्ने प्रयत्नसँगै चेतनाको अनवरत धारा प्रवाहद्वारा पाठकहरूवृन्दको चित्तवृत्तिलाई परितृप्त तुल्याउने प्रयत्न पनि गरेको छु। संस्कृति, नैतिक, सामाजिक आदि विकृतिहरूले विखलबन्द समाजलाई आफ्ना चक्षुहरूले नियालेको छु। समय-समयमा लेखिएका निबन्धहरू साहित्य बाटिकालाई सुम्पेको छु। मूल्याङ्कन हजुरहरूकै हातमा सुम्पेक छु।
१. प्रतिभा प्रेरणा परिषद्का सम्पूर्ण सदस्यगणप्रति
२. जोसुवा राईप्रति आवरणको निम्ति
३. श्रीमान पूर्ण सुब्बा, थुम्के पाठशालालाई शुभकामनाको निम्ति
४. सामालोचक एम 'पथिक' प्रति हौसलाको निम्ति
५. खुल्ला साहित्यिक गोष्ठीका आयोजकद्वय डा. रूद्रराज मास्के अनि कथाकार कमल भण्डारीप्रति ।
६. सम्पादनको निम्ति डा. रूद्रराज मास्केप्रति।
७. परिवार सदस्यगण ममतामयी आमा जासोदा शर्मा, छोराद्वय शिशिर वसन्त एवं भाइ प्रेमलाल।
साहित्य एकदेखि अनेकसम्म सम्मिश्रित हुँदछ। तथ्य वाङ्मयान्तर्गतका हरेक विधामा पाइए तापनि साहित्य विशिष्ट हुन्छ। सिद्धान्तका जन्मदाता अनि संहारकर्ता दुवै हुन्-स्रष्टा। सिद्धान्तले स्रष्टत्व नाप्नु खोज्नु गाम्रो सागरमा डुबाउनु मात्र हो। लेखक कुनै विद्वान् होइन न दार्शनिक नै। त्यसैले अर्जित अनेकौं अभिव्यञ्जना पस्किने गर्छ लेखक लेखकीय कौशलद्वारा। लेखेर आउटडेटेड बन्नलाई सिर्जना गर्दैनन् कोही। क्षमताअनुसार व्यक्तिएका कलात्मक अभिव्यञ्जना नै स्रष्टात्व हो। व्यक्तिअवलोकन, भावानुभूति र स्रष्टा भिजेको समाज नै पृष्ठभूमि बन्छन् चाहे स्रष्टा जति नै सचेत होस् या अचेत। साहित्य जे लेखियोस् कला हो, कलात्मक हुनु अनिवार्य छ नत्र नलेखे उत्तम। सिर्जनामा निरन्तरता र अध्ययनले परिष्कृत र परिमार्जित तुल्याउँदछ। यसरी निरन्तरतामा 'मन र म' कविता सङ्ग्रहपछि निबन्धमा प्रविष्टिएका छन् 'प्रकरण'- बाट मुक्तिनाथ शर्मा।
आफ्नो वस्तुता बिर्सिएर पाठक पाठमा एकाकार भएपश्चात् वस्तुसँगै लेखकलाई पनि महसूस गर्दछ निबन्धमा। प्रकरणका प्रत्येक निबन्ध यस्तै छन्। स्वतन्त्रता निबन्धको मुटु हो। स्वतन्त्रतापूर्वक लेखक निबन्धमा एउटा विचारदेखि अर्को विचारमा फड्को हान्दै कुदेका छन्। तर्कयुक्त छन् भाव। वैचारिक होलीमा विचारका रङ्गहरू अक्षरमा पोतेर लेखकले आनन्दानुभूति महसुस गरेका छन्। होलीमा मिसिएर खेल्न सक्ने प्रत्येकले आनन्द लिन सक्छन् नत्र नजान्नेहरू भाग्छन् टाढ़े।
निबन्ध तथ्यमात्र होइन न विचारको खेलमात्र। अव्यक्त विषयलाई दक्ष निबन्धकारले सन्तुष्टजनक रूपमा व्यक्त गर्दा रहेछन्। निबन्धकार शंकर लामिछानेले 'देवताको काम' मा सत्यलाई जानेसम्मको ज्ञान भनेर उदाहरणसहित सन्तुष्ट बनाइदिएका छन्, भौतिकवादी विचार नै भए तापनि। यहाँ 'प्रकरण' का लेखकले पनि 'विश्वास' निबन्धमा विश्वासलाई परिभाषा दिने प्रयास गरेका रहेछन्। विश्वासलाई '....अन्तःकरणको ढुक्कपन' भनेका रहेछन्। आनन्द लाग्यों, सन्तुष्ट पनि। विषयको वैज्ञानिक अध्ययन रहेछ उहाँमा।
निबन्धहरू वर्णनात्मक र विवरणात्मक छन् । निजात्मक र वस्तपरक दुवै थरिका निबन्धहरू हुँदाहुँदै कतिपय निबन्धहरूमा प्रबन्धात्मक प्रवृत्ति पाइन्छ। लेखनमा लेखकले कुनै निश्चित परियोजना नगरेर विषय अभिव्यक्त गर्नुमा निक्कै हतारिएका पनि छन्। आफ्ना विचारलाई पुष्टि दिने क्रममा कतै-कतै उनले विद्वान्हरूका उद्धृतांश मतलाई पनि स्थान दिएका छन्। लाग्छ अझ त्यसलाई अनुवाद पनि गरेका भए उत्तम हुने थियो।
आध्यत्मिक शास्त्रको साहित्यसँग अविच्छे सम्बन्ध रहेको सत्य नकार्न मिल्दैन। लेखकले पनि अध्यात्मशास्त्रका व्याख्या-विश्लेषण प्रसङ्गानुसार प्रस्तुत गरेका छन्। जुनसुकै विषयलाई टपक्क टिपेर निबन्ध बनाउँछन् उनी। त्यसैले त उनी निबन्ध लेख्नलाई मोतेञ्जको उक्ति खोज्दैनन् न कुनै समालोचकको सिद्धान्त। समाजमा घुलमिल हुँदा देखिएका विकृतिलाई नियाल्ने निबन्धकार आदर्शवादी विचारका छन्। सभ्यताको खोल ओढ़ेर समाजलाई नाङ्गो पार्ने अनि आफूलाई महान् सम्झेर अरूप्रति हीन भावना राख्ने प्रवृत्तिलाई व्यङ्ग्य कसेका छन्। बेचिएका नारीहरू, समाजमा बढ्दो विकृति र अनैतिकता उनका निबन्धका विषय बनेका छन् ।
चक्षुअघिका घटित विषयहरू व्यक्तिएका छन् । सामाजिक, राजनैतिक, जातीयावस्थितिप्रति सूक्ष्मावलोकनसँगै सपना-कल्पनाको छुट्टै मनोजगत सिर्जना गरेर विचरण गरेका छन्। इतिवृत्तात्मक तत्त्वहरू नियाल्दा आख्यानात्मक संरचना वरण गरेका छन् कतिपय निबन्धहरूले। भाव काव्यमय पाइन्छ। निबन्ध फ्रिजको वस्तु होइन। संरचना स्रष्टाहरू नै निर्माण गरेर तोड्छन् अघि नै भनियो। तर मुक्तिनाथ शर्माज्यूमा पाइने इमानदारिताले निबन्धमा सरलता र सरसता प्रदान गरेकै छ। क्लिष्टता र कृत्रिमताबाट पलायन रहेर रचना गर्ने उनका निबन्धहरूमा शब्द चतुस्याइँ कतै पाइँदैन। उनी निबन्ध एकै वर्गलाई मात्र लेख्दैनन्। सबै वर्गका पाठकले उनको निबन्धमा रहेको रसको मज्जा लुट्न सक्छन् निश्चय नै।
अन्य विधाको तुलनामा निबन्धको न्यून रचना भइरहेको बेला निरन्तर उनी लेखिरहून्। निबन्धका पारखी नै बनून्। लाखौं शुभकामना।
महेश दाहाल
२०.७.२०११
रङ्दु बस्ती
नेपाली साहित्यका अभिवृद्धिमा लागिपर्नुभएका प्रतिभा श्री मुक्तिनाथ शर्मा 'शोषित'- ज्यूको यो दोस्रो कृति 'प्रकरण' निबन्ध हामीले पाउँदा मलाई अत्यन्त हर्ष लागेको छ। साहित्यमा निबन्ध विदाको खड़ेरी छ जसमा 'शोषित'ज्यूको यो निबन्ध सङ्ग्रहले एक झर्को मलिलो जल वर्षाउन समर्थ भएको नै छ भन्नेमा म विश्वस्त छु। यी निबन्धकारको कलम निरन्तर अघि बडोस्। पाठकले उनका निःसंस्मरणात्मक निबन्धहरू मज्जाले आनन्द उठाउन सकून् भन्ने अपीलसहित मेरो न्यानो अभिवादन।
एम 'पथिक'
पूलबजार
१८/०९/२०१०
श्रद्धेय एम. एन. सर, यहाँले भावी सन्ततिलाई हितको भाव सविस्तार गर्न माध्यमरूपी अमर कृति जनसमाजलाई हाताहात थमाउने कार्य साहित्यका विभिन्न विधाहरूद्वारा गर्नुभएवापत् अझ लछेप्रै फस्टाउन् भन्ने शुभेच्छा एवम् शुभकमाना प्रदान गदर्छ।
हितैषी पूरण सुब्बा,
परबोङ बस्ती
भर्खरै टुसाउन लागेको बीजजस्तै, कलिलो, कोमल, मुलायम। नलनसाले परिपूर्ण निर्दोष अबोध जिन्दगी। एउटी साधारण अशिक्षित आमाको गर्भबाट बाहिररिनलाई गर्ववासमा रहेर दशौँमासको परिपक्वताले जन्म भएको छ यस शिशुको।
उसको कर्त्तव्य पूरा गरिसकी त्यस आमाले तर उन्मत्त यौवनमा बाढ़ भइदिने साथै यौवनको तृष्णा मेटाएर त्यस शिशुको भावी भविष्यको शिक्षादीक्षा र मानिसको सामुन्ने मानिसौँ एक पुरूषको संज्ञा तयारी गरिदिने पिताको नाम ठेगना छैन।
अब के त? त्यसकी आमा अपमानित सामाजको हिलो भएर ममतामयी जननीले बर्बरतापूर्वक समाजको कुव्यवहारको कठोरतापूर्वक दोषको भागी बन्दै वेश्याको उपनाम सहनैपर्ने हो? त्यस अबलालाई वेश्याको लहरमा उभ्याउने पुरुषलाई मान्छेहरूका मानसिकताले के भन्ने ? के ऊ दोषको भागी छैन ? तर... मान्छेका राशदेखि फालिएकी त्यस आमाले नैराश्यको महसुस गर्दै अज्ञान यौवनको बाहुपासमा नारी सौन्दर्यले सृजना गरेको अबोध बालकसित जिन्दगीको विडम्बनामूलक चार प्रहर बिताउनैपर्ने हो? यी मान्छेहरूका बस्तीमा मान्छे आफ्नो मुख नहेरी अर्कालाई कालो भन्छन्। त्यसैले आजभोलि थुप्रैले त्यसलाई देखेर थुक्छन्, खित्का छोड़ेर हाँस्छन् अनि खुशामत गर्छन्। त्यसैले आज त्यसलाई त्यसरी औल्याउनेहरू धेरै छन्। यदि कुनै एक साहित्यिकले भेटे काल्पनिक नामसँग तुलना गरेर कथा, नाटक, कविता, निबन्ध विधाहरूको पात्र बनाई साहित्यको फलकातामा फुलाइदिन्थे, अनि आफू विभिन्न पदकले विभूषित हन्थे। उपन्यास जगत्मा फुल्यासकारले आफ्नो सामाजिक उपन्यास प्रस्तुत गरिदिन्थे तर विवश त्यस शिशुलाई के थाह?
चाहे त्यो कुनै पनि क्षेत्र किन नहोस्। काल्पनिक परिपाटीले श्रृङ्गार गर्नुभन्दा सामाजिक र नैतिक परिपाटीले श्रृङ्गार गरे अवश्य त्यो शिशु भोलिको कर्मठ र सफल नागरिक बनेर देश र समाजको मैलो परम्परालाई उन्मूलन पारेर युग पुरूषको परिचय दिने थियो। युगौंदेखि आमोदप्रिय शोषकहरूको चुसाइले रित्तिएको गरिबीलाई शोषण हटाउको नारा भन्न लाउँथ्यो होला। त्यही आमा जसले कुमान्छेहरूको घृणित समाजमा लाञ्छित अनुहार देखाइए तापनि आत्मिकबलले सीता र सावित्रीको दाँजोमा उभिने ऐच्छिक चिन्तनको खाँचो थिएन। ता कि आलोचनामा बाँधिनुपर्ने नै थिएन। एक राष्ट्र प्रेम भएकी वीङ्गना थिई या चेतनशील मान्छेहरूका अपरिभाषित जिज्ञासामूलक द्वन्द्वमा पिरोलिन परे पनि एउटा भावी महापुरूषकी भविष्य निर्मात्री थिइन्।
हो त्यही बालक वर्षोंपछि एक जवान निडर छाती लिएर मातृभूमिको सिमा सिमानामा देश रक्षाको निम्ति शत्रुसँग डटेर लड़ेर भीषण बमबारूदको सामना गर्ने एक योद्धा हुने थियो।
यदि धनवान समुदायले अधोपतनको झाड़ीमा नधकेली दिएको भए, आजको शोषित र दरिद्रताको उद्धार गर्न चाहने मार्कस र लेलिन हुने थिए औ घाइतेहरूकी आमा मदर टेरेजा झै अमावस्याको दाह गर्न विद्रोहको राँको बाल्ने क्षमता, शाहस सृजित गर्न सक्ने थियो होला।
जीवन र युग त केवल नाट्यशाला हो। यो क्षणिक रङ्गमञ्चमा जसले पनि अभिनय गर्छ। आज पराक्रमी कहलाइएका ती महान् पुरूषहरू, युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेवसँग त्यस वेश्या पुत्र बालकको तुलना गरे केही फरक पाइन्न सायद। माता कुन्तीले आकर्षणी मन्त्र जाँच गर्दा हठात् देवताहरूका आगमनलाई नकार्न नसकी यी योद्धा पुत्रहरूको जन्मदिनमा सफल भइथिन् । यसर्थ के यी पुत्ररत्नहरू वैवाहिक जीवनपछि रचिएका सुपुत्रनै हुन त? अवश्य होइनन्। तब त यी पनि त्यसरी नै फालिनुपर्ने हो। तब कसरी महाभारत लेखियो, तिनलाई पात्र बनाएर? आखिर ऊ मान्छे हो एवं त्यही प्राकृतिक उध्यानमा रमाएर लहरा, पहरा र छहराको रमझम दृश्य अवलोकन गर्दै धरतीको स्वतन्त्र छातीमा रम्ने थियो। निर्धा भइदिनाले कसैले उसबाट फाइदा उठाउनु शिवाय केही होइन। मानौ झुत्रो थोत्रो पहिरणमा तर्तरी पसिना चुहाएर चैत-वैशाखको उराठिलो भवमा चर्को घाममा खनिरहेको किसान ऊ भाग्यले नै यस्तो भएको होला त? निधारमा हात लाएर उसले बिरक्तीको सुस्केरा हाल्छ भने त्यसको नैतिक जिम्मेवारी कसले लिने ? समाजको उदासिनताको परिस्थिति? अहँ होइन, उसलाई त दासत्वको व्यक्तिगत स्वार्थसिद्धले गर्दा यस्तो भयो।
अझै पनि शिक्षा नपाएका मान्छेरूपी आत्माहरू होटल, चिया पसल आदितिर काम गरी गुजारा गर्दछन्। उमेर आएपछि तिनै असामाजिक काम गरी सभ्यसमाजलाई धमिल्याउँछन्। त्यस विषयमा कसैको ध्यानाकर्षण छैन। दलितहरूको कुनै सुनवाइ छैन। भए पनि प्रयोग छैन। बोलेर होइन तर प्रयोगले मात्र निम्नवर्ग उठ्न सक्छ। मानव माधव बन्नपर्छ र नै गरीबी उन्मूलन होला। यहाँ कवि लक्ष्मीप्रसादको कविताको पङ्क्तिलाई लिउँ 'प्रयासका पत्थरमा नदीसरी, बहन्छु हाँसी म तरङ्गले भरि।
म पोखरी झैँ उही ठाउँ जम्दिनँ, छ शुद्ध यो जीवनको सबै कण ।।
प्रयासरत परिस्थितिको चेपारो र शोषक श्रेणीको शोषणबाट उन्मुक्त हुन भगिरथ प्रयास गरिरहनुपर्ने त्यो श्रापित जिन्दगी। धनवान मानिस एउटा पोखरीमा जमेको पानी हो, जो पिउनलायक हुँदैन तर गरीब बगेको स्वच्छ विशुद्ध पानी हो। जसलाई पिएर प्यास मेटाउन सकिन्छ। मान्छेकै स्वार्थतामा नरकगामी मान्छे मान्छेकै झाड़ा-पिसाब बोकेर कहीं थन्क्याउँछन्। न उसको जिन्दगीका हरेक सहुलियतहरू व्यवस्थित छन्। बरू उसैलाई 'अस्पृश्यता'को वर्गमा राख्छ सभ्य मान्छे। यसैले गान्धीले भनेका थिए "अन टचबिलिटि इज अ क्राइम, अगेन्स्ट ! गड़ एण्डम्यान, Untouchability is a crime against god and men. अर्थात् छुवाछुत ईश्वर अनि मान्छेकै निम्ति एउटा अपराध हो। यहाँ जन्मिदै अभागी र भाग्यमानी अर्थात् गरीब भएर जन्मिएको कोही हुँदैन तर मानवले श्रेणी विभाजन गर्छ र त्यसैले असहायहरूको सृजना हुनेगर्छ। नत्र एउटा नालीमा फ्याँकिएको कुनै शिशुलाई अनाथ आश्रममा दिउँ या कुनै वर्गभेद नछुट्याउने सज्जनले पालन पोषण गरे त्यो अवश्य भाग्यमानी भएको हुनेछ जस्तै महाभरतमा कर्ण। यसर्थ पुराना यस्ता कति नचाहिँदा विचार तथा भनाइहरू दोषारोपनका बीज मात्र हुन्। समय मूल्यवान हुन्छ 'कहिले सासुको पालो त कहिले बुहारीको पालो।' सामन्तहरू असहायहरूको पसिना चुसेर धनाड्यको शान देखाउँछन् तर अहसायहरू साङ्ङ्गठित भए सामन्तहरू अभिमन्यूझैँ चक्रव्यूहमा पर्ने थिए। देश, काल र परिस्थितिले परिस्थितिवश जन्मिएका छोरा-छोरीहरूलाई उठाउन पनि सक्ने छन्।
जातस्यहि ध्रुबोर्मृत्यु ध्रुबजन्म मृतस्य च।
तस्मादपरिहार्येथे न त्वं शोचितुमर्हसि ।। २७ ।।
गीताको दोस्रो अध्यायको २७ मन्त्रमा भगवान् श्री कृष्ण अर्जुनलाई यो उपदेश दिँदै भन्नुहुन्छ कि- "जन्मको अर्थ नै मृत्यु हो।" यो अकाट्य छ। फेरि मृत्यु हुनुको अर्थ नै जन्मिनु हो।
हामी जन्मिनै सुसुप्त अवस्थामा। चेतनाशून्य तर आशा छ भरिन्छ कुनै दिन । त्यो चेतना जसरी थोपाथोपा पानीले गाग्री भरिन्छ। वाष्पवाष्पका कणहरूले मेघ वर्षन्छ। भयावह हुनेछ, बाढ़ आउनेछ। चेतना शक्ति ब्रह्म हो। चेतनलाई एकाग्रतामा राखेर बुद्धले ईश्वरप्राप्त गरे अर्थात् बुद्धले ईश्वरीय पुरस्कार प्राप्त गरे र अरूलाई पनि मार्गदर्शन गराए। येशूले सुलीमा चढेर अरूलाई मुक्ति दिलाए। हाम्रो जन्म नै एउटा महान् पुरस्कार हो। यसलाई बाजीमा राखे दाउन हार्नपर्ने हुन्छ। यहाँ दिनुछ केही, छोड़िराख्नुपर्नेछ पछिकाहरूलाई केही राम्रा गुणहरू। जसरी अघिकाहरूले छोड़ेका थिए हामीलाई। बाल्यकालको लाड़प्यार, बालक्रीड़ाद्वारा दश वर्षको अर्धचेतन अवस्था व्यतित हुन्छ। जीवन यात्रा सायद निकै लामो होला तर आधुनिक युगको आयु के आयु। यो वैज्ञानिकहरूको होड़बाजीको युग। विश्व आतङ्कवादको खतरायुग। मानव व्यभिचारको युग। परमाणु विष्फोट हुने ससङ्कित घातक युग। यहाँ भयङ्कर विष्पोटक हतियारहरू तैछाड़मैछाड़ भएर सृजना भइरहेको छ।
क्षणभङ्गुर यो संसार केही बखत् केही निमेशमा नै शून्य प्रायः हुनसक्छ। यसमा पनि कल्पनासम्म गर्न नसकिने घातक रोगहरू हाम्रो वरिपरि घुमिरहेका छन्। वेवास्ता, मान्छेहरूका जमातभित्र मान्छेहरू मानवतादेखि धेरै पर रहेर स्वयंमा पुरस्कार खोज्न तन्मयमन्मय लिप्तरहेका देखिन्छन्। खोइ कस्तो पुरस्कार हो? आफै मपाई भएको आडम्बरी पुरस्कार। तरै पनि लगभग अस्सी वर्षको आयुभरि रहेको सत्तर वर्ष घटाउँदा र त्यसको घटित अङ्क चालीस वर्षसम्म यौवनको उमङ्गमा बितेपछि अब रह्यो तीसवर्ष। तीस वर्षबाट बीस वर्ष बुढेसकाललाई छुट्याइदिँदा रह्यो दश वर्ष। यो दश वर्षको आयुभरि सार्थक कर्मविहीन जीवन बित्न गए सारा उमेरहरू व्यर्थ रहन्छन्। यसकारण पुरस्कृत यो जिन्दगीलाई कसैद्वारा पुरस्कार दिइनुभन्दा अगावै स्वयम् पुरस्कृत हुनु जन्मको सार हो भन्नमा दुइमत नहोला। अतिभौतिक युग, गुरू र शिष्यमा शत्रुतापूर्ण व्यवहार। माता-पिता र छोरा-छोरीहरूमा उस्तै क्रुर कारोवार, देवालय, नारी, पौवापाटी, अतिथि र अनाथ आश्रमहरूमा दुष्कर्मीहरूको जमात। धर्मको आडलाएर बाँच्न पनि धरासाही भूइँचालले छल्काएको समुद्रजस्तो खोइ तिम्रो मानवताको पुरस्कार ? धनदौलतको होड़बाजी रातारात। चाहे जसरी भए पनि कमाउनैपर्ने। नैतिक होस् या अनैतिक, पसिनाले होस् या उछिनेर होस्। आफै ठूलो, कसैले केही भन्नै नपाइने। स्वयम् पुरस्कार लिएका विजेताहरू यत्रतत्र जमातभित्र रहेर कलङ्कको पगरी बाँधी निष्कलङ्कको छाता ओढ़ेको भान पारेर विभिन्न तहका प्रमाण-पत्र खल्तीभरि हालेर न्याय गर्न बसेका न्यायधीश जस्तै प्रमुख अतिथिका आसन ओगट्न हत्पताइरहेको युग। एउटा अनुरोध गर्छ गर्भको शिशु ता कि मैले अपाङ्ग जन्मिनु नपरोस्। तर खोइ उसको अनुरोधले भरिएको शान्तिको पुरस्कार ?
नारी बलात्कार गरी ल्याएको पुरस्कार, हत्या गरी कमाएको पुरस्कार, मन्दिर र मस्जिदहरूमा भ्रष्टाचार गरिएको पुरस्कार। झूटा र अनौठा थुप्रैथुप्रै यस्ता पुरस्कार। अहिंसामा हिंसा गरिएको पुरस्कार। धर्ममा कुकर्म थपिएको पुरस्कार। छिः कति घिनलाग्दो थोत्रो पुरस्कार। भूतसँग डराउने हिजोको दिन तर आज साँझै नपरि डराउनुपर्ने वर्तमानको दिन। प्रेतआत्माहरू स्वर्ग पुगिसके, नर आत्माहरू हुल बाँधी तर्साउन गल्लीतिर लागे।
चिहानहरू, मन्दिरसरह शान्त भए। मुर्दाहट्टी, शौचालयमा निस्किने चुड़ेलहरू अध्यात्म छाँट्न थाले। गरीबको झोपड़ी गाँस, बास र कपासमा नै सिमित रहे। पसिनाको मूल्य नचिन्नेहरू अट्टालिका, महल सुन्दर शानदार घरको देवता बने। परिश्रमीहरू आधा पेटमै सपना घुरे।
संस्कृति, कला कौशलहरू एक दिवसीय कार्यक्रममा सिमित रहे। कता गयो तिनको अमूल्य पुरस्कार? मदिराले ल्याइदिएको पुरस्कार, वेश्यालयमा बेचिएका नारीहरू मुकपशुझैं चुपचाप जिन्दगी बेचेर धन कमाउनैपर्ने तिनको नग्न पुरस्कार। बालकको दासत्वमा आफैलाई मालिक ठान्ने कस्तो निष्ठुर पुरस्कार। पशुहरूमा जस्तोको त्यस्तैछ जन्मदै लिएको तिनको श्रेष्ट पुरस्कार।
शून्यदेखि शून्यसम्म लम्पसार अड्ङ्कहरू, प्रणव मन्त्र ओमकारदेखि शुरू भएका अक्षर ब्रह्महरू यदाकदा सरस्वती भएर माटोका मूर्ति वेवारिस भई झोड़ा, खोलाखोल्सा र नदीका किनाराहरूमा अलपत्र परे तिम्रा महिमाका पुरस्कार। क्यालिण्डर भित्ते पात्रोका पन्नाहरू पल्टिँदैछन्, छः ऋतुहरू घुम्दैछन् सत्ताइस नक्षत्रहरू दोहोरिदैछन् एकदेखि अर्को। आउँदो सालको उमङ्गहरू लिएर झोपड़ीभित्र दिवास्वप्न पर्खिरहेका छन् मायालाग्दा अनुहारहरू। बद्लिँदैछ शताब्दी चिहान खन्न, लाशमाथि, विष्फोट गर्न पर्खिएका छन् परमाणुका शस्त्रधारीहरू। नरहरू दौड़िरहेछन् ग्रहमाथि साम्राज्य जमाउन जीवनको अनमोल पुरस्कार। आज अडिड़ हुँदैछ व्यस्त छन् कार्यालयका बड़ाबाबु नमिल्दो हिसाबको त्रुटिपूर्ण पुरस्कार। दूरभासको घण्टी बज्छ क्रिङ...क्रिङ... रिसिभर उठाएर प्रहरीहरू दौड़िरहेछन् हत्याहत्या, आतंक चारैतिर। समातियो त्यस दोषीलाई र दिइदैछ दण्डनीय पुरस्कार। लगातार घुम्दैछ आफ्नै बेगमा पृथ्वी लिएर निरन्तरताको गतिशील पुरस्कार। रात-दिन यस्तै छ ईश्वरीय बरदान, जस्ताको त्यस्तै छ युगको मीठो पुरस्कार। आगलागी, भूइँचालो, भलपैरो, बम विष्फोट, अतालिएका मान्छेहरूको निस्सासिएको पुरस्कार। चुपचाप छ गाउँ, शान्तवातावरण सुतिदिन्छ मीठो निद्रा बेस्सरी तर अनिद्रित आद्र आँखाहरू लिएर निदाउनै सक्दैन शहर यो बाफिएको पुरस्कार।
टाढा धेरै टाढ़ा शहरदेखि निकै पर धिपधिप जलिरहेछ एउटा टुकी रोगले ग्रस्त छ भाग्यको पखाइमा रित्तिएको व्यक्तित्व, खोइ उसलाई राष्ट्रले दिएको टिठलाग्दो पुरस्कार लगिदिएछ कसैले सुटुक्क उसले पायो रित्तो पुरस्कार। शिक्षा विमुख निर्दोष आश्रित मान्छेले नदेखेका मान्छेहरू दुइ पैसा हात थाप्दै पर्खिरहेछन्। पेट भर्न आशे पुरस्कार। मन्दिरभित्र अप्रष्ट मन्त्र रूद्राक्ष भएर सुमेरूदेखि सुमेरूसम्म एक सय आठ घरि घरि दोहोरिदैछ विरक्तीको समाधान खोज्ने ईश्वरीय पुरस्कार।
श्मशानघाटको शान्तमय वातावरणमा अर्द्धजल गरिएको लाश आफन्तहरूको अन्तिम भेट पर्खिरहेछ एकमुठी माटाको अन्तिम पुरस्कार। लोप हुनै लागेछन् हाम्रा सांस्कृतिक श्रेष्ट पुरस्कार र ओसारिदैछन पाश्चात्य नाङ्गा पुरस्कार। नमासौँ, नबिसौँ यो गोर्खाली/नेपालीपनको शानदार पुरस्कार।
आयो नौलो बिहानी स्फूर्तिसहित जगाउन। हाइ काँड्दै न्यानो डासनाबाट बल्ल उठें म। सधैं सुतेर यसरी उठिरहन्छु। सुन्दर परिवेश छ अनि सानो छ मेरो मनको बधैंचा। त्यही बधैंचाभरि लचकिरहेछन् समीरले लच्काएर हरियामुनाहरू। खोलिदिन्छु सानो झ्याल र चिहाउँछु त्यही मेरो परिवेश चिसो समीरको स्पर्श झुमिरहेछन् बाँसघारी। खुल्ला छ आकाश। भाग्दैछन्, खोइ कता भागेका हुन् ती ताराहरू। बल्ल मिरमिरे हुन्छ, भाग्दैछ रात पनि। भागोस्, किनकि निन्दनीय छ त्यो रात। निष्पट्टभित्र त्यो के खुशामत गर्छ मलाई झिजो लाग्छ। पखाल्छु आलस्य र सम्याउँछु फुङ्ग उठेको केश र हेर्छु नीलो आकाश अनि चिहाउँछु सुदूर पारीको क्षितिज ।
शान्त अति शान्त छ र नै भनिन्छ की ब्रह्ममुहूर्त। सबै शान्त छन् अभिवादन, सुन्छु सबै स्वागतयोग्य। रिस आहिस, डाह ईर्ष्या पटक्क छैन। फुलाएछ बसन्तले गमलाका फूल र दिएछ बतासले महक। म उठ्दा छँदै थिए बास्नाहरू औ टल्किँदैरहेछन् शितबिन्दुहरू झसँग भएर गम्दै थिए। सशक्त रहेछन् यी पालुवाहरू अनि त फक्रदै थिए कोपिलाहरू। देखिएभरि माया गर्ने, नदेखिए बिर्सिने म मान्छे। गिज्याउँदै थिए मलाई तिनीहरू। आङ तान्दै सुतिदिएर पो के गरे? यसरी कति गुमाएँ कति नयाँ नयाँ सृजनाहरू। अन्वेशण गर्नु थियो, पुरानाहरू तोड्नु थियो। फुल्दथे आरूका फूलहरू झर्दथे पनि ती फूलहरू तर चकमन्न थिए बोटहरू। थिएन रोदन थाह पाएको नपाएकै हुन्थे, शान्त थिए पलहरू। सायद खुशीले होला एउटी धोबिनी सधैं धाउथी, नाच्थी उफ्रीउफ...। गाउँथी मीठामीठा वेदनाका गीतहरू अनि सम्झान्थीको कसो र छाती चिचरे भन्थी ऊ, "तिमीले किन त्यसरी ढाट्यौ?"
त्यो एक पवित्र प्रेमिका थिई, शुद्ध प्रेम गर्थी क्षितिज र आकाशजस्तो तर कसरी धोका भयो होला यति गहिरो प्रेममा? किन छुट्टिनुपस्त्रो होला? त्यसको त्यसप्रकारको विलौनाले मलाई छुन्थ्यो। कसैको विरह वेदनामा यी नयनद्वय किन रसाउथे कोनी। ऊ भुर्र उड़थी अनि पल्याकपुलुक हेरेर आँसु पुच्छदथे, छ्याः म के भाको होला !! त्यसको विरह सुहाउँदो जोड़ी म भएको भए साँच्चै प्रणयसूत्रमा बाँधिन्वे होला। सधैं त्यसको आगमन हुन्थ्यो र त्यो मेरो पनि ऊप्रतिको एकोहोरो टोल्याइ एउटा दैनिकी नै भएको थियो। उसका हजारौं पुस्ता बितिसकेको पुरानो अतीत भए पनि आलै थियो त्यो भावना। उसका कति झरि बिते, कति हिउँदोहरू रोएरै टरे। कति कतिपल्ट अरूले बसन्त फुलाएर तर ऊ भुल्दिन थिई उसले लाएकी पवित्र प्रेम। हुनसक्छ त्यो पागल प्रेमी म आइहाल्छु है, तिमी यहीँ बसी मलाई कुर्दै गर भनेर गएको थियो होला यात्राभन्दा ठूलो प्रियसीको माया बोकेर जाँदाजाँदै बाटैमा प्रणान्त पो भयो कि वा ऊभन्दा विछट्ट राम्री चरीले पो उसलाई माया जालमा फँसाएकी छ कि? जेहोस् एउटा खबरसम्म त पठाउनुपर्ने थियो नी होइन र? के प्रेमको वादा पनि यति झूटो हुनसक्छ र? कुँड़िएको मनभरि ऊ भन्थी किन तड़पायौ यसरी मलाई? एउटी अबलाको हृदय छिया छियाः पारेर तिमीले के पायौ ? म जङ्गल बनपाखा र खोल्सा-खाल्सी अनि पोथ्रा र झाड़ीहरूमा खोजिरहेकी छु तिमीलाई ! तिमीबिना पटक्क चयन छैन मलाई। यदि कहीँ छौ भने आउन प्रेमालाप गरौं। हाम्रो बाचा, कहिले नछुट्टिने कसम अधुरो भएन र? हो तिमीसँग प्रेम गरेकी हुँदा मलाई हिजोआज सबैले गिज्याउँछन्, यसैले अब म अरूसँग प्रेम गर्न पनि त सक्दिनँ। यसकारण चाँडै आउँछु भनेर तिमीले किन त्यसरी ढाट्यौ? ऊ दोहोस्याई, तेहेरवाई कराइरहन्थी।
कसैले कसैको तड़पाइमा तड़पिएर जिउनु पनि जिन्दगी हो र? अनि त्यसको सार के होला ? प्रश्नै प्रश्नभरि उसले आफ्नो उड़ान भर्थी-घरि यो घरि त्यो डाली। स्वतन्त्र बाँच्नु प्राणी समूहको साँच्चै रोजाइ हो परतन्त्र भन्दा। यो जिन्दगी न वर्षा हो नः खड़ेरी। न साँझ न त बिहान तर यो बरदान हो जसलाई मागेपछि प्रयोग गर्न जान्नुपर्छ। राक्षस भस्मासुरले शिवलाई भस्म गर्नसक्ने बर माग्यो तर प्रयोग गर्न नसक्दा स्वयम् भष्म भयो। त्यो के तत्व हो। जसले अलिकति चेतनासँग यहाँ उभ्याइदिएको छ तर प्रेमको मदसरी। प्रेम कस्तुरीको विद्या हो, पाउन दुलर्भ छ। थाह पाउनेहरू कस्तुरी खोज्छन् तर स्वयम् कस्तुरीलाई के थाह छ कि ममा यस्तो मूल्यवान वस्तु छ भनेर। जब चाल पाउला तब मौरीले मह चिनेजस्तै आफ्नै गुँड़मा ओसार्थ्यो होला। उसको हृदय कोमल छ, ऊसँग प्रेम थन्क्याउने ठूल्ठूला भकारीहरू छन्। प्रेमको विस्कुन लाएर उठाउन पनि सक्छे औ दयावान भएर थुप्रै अरूहरूलाई बराबर बाँड्न सक्छे अनि कतै अर्घेलो गर्न चाहन्न ऊ।
यसरी प्रेम पुजारी भएर उसैलाई मात्र किन खोजेकी होला। अब त अन्य कसैसँग पुनरविवाह गरेकी भए हुँदैन थियो होला र? यसरी प्रेममा धोका दिनेहरू पनि छन् कति। विवश ऊ, जिन्दगीका खुशीहरू बेखुशीमा रूँदै रात काट्दछे। कसम हारेकी सोझी, इमानदारी प्रेमीका रहिछे। एक, दुइ, तीन वाचा मारेकी रहिछ। कति एकोहोरोपन हैं कठैबरी !! कहाँ होला जोड़ा? मस्त्रो बाँच्यो खुद खबर नपाएकी, यो कस्तो विडम्बना। जब बिहान हुन्थ्यो अनि मिरमिरेमा ऊ कराउथी "तिमीले किन त्यसरी ढाट्यौ?"
हुन त प्रेम विष होइन न त आत्महत्या तर प्रेमीहरू किन पिउँछन् विष? किन गर्दछन् आत्महत्या? प्रेम त एक पवित्र शब्द हो औ जो सित पनि जोड्न सकिने नाता हो। मानिस आकर्षकलाग्दा जुनै चीजसँग पनि गर्छ। प्रेम फूलका रङ्ग विरङ्गसँग प्रेम गर्छ, प्रकृतिका सबै किसिमसित प्रेम गर्छ। प्रेमको परिभाषा बोध भए पनि न भए पनि प्रेम गरिन्छ। एउटा कुकुरले मालिकसित प्रेम गर्छ र नै पुच्छर हल्लाउँछ। वीणाको धुनसँग सर्प प्रेम गर्छ तर सबै प्रेमको सार्थक रूप कहाँ होला र। कुनै प्रेम क्षणिक र कुनै धोका एवं कुनै दीर्घायु हुनसक्दछन्। रामले बानरसँग प्रेम गरेर फौज बनाएका थिए। प्रेम आदरपूर्ण हुनुपर्छ। यो मानव हृदयको गहना हो। यसको अभावमा मान्छे पागल हुन्छ। ऊ सामाजिक हुनसक्दैन। पति-पत्निको सम्बन्ध सिन्दूर र पोतेले होइन अपितु प्रेमकै कारण मृत्युको वियोगमा पनि प्रेम आँसु भएर झर्दछ। यसकारण यो चरीको प्रेम पनि कम थिएन र नै पागलप्रेमी बनेकी छे त्यो धोबिनी।
शाहजहाँ र मुमताजको प्रेम नै आजको ऐतिहासिक परिचय हो। प्रेम धरधरी रुन्छ, प्रेम गललल हाँस्छ। कहिले प्रेम शिशु भएर कोक्रोमा झुल्छ अनि एक चुट्की सिन्दूरले तरूणीको सिङ्गै जिन्दगी निल्न पनि सक्छ। यो कस्तो प्रणय भनौं जो वियोगमा पनि उसको भाग्यमा आरूको फूल भएर फुल्छ /झर्छ पटक-पटक। जब आरू फुल्छ तब सम्झिन्छे त्यही पुरानो वेदना र भाका मिलाई मिलाई सुसेल्दछे तिमीले किन त्यसरी ढाट्यौ?
प्रेमलाई अधरमा राखे चुम्बन हुन्छ, परेलीमा राखे आँखा झिम्क्याइन्छ। मनमा राखे भक्कानो फुट्छ। 'यूलीसिसले' प्रेमलाई यसरी परिभाषित गरेका थिए- "अरू कुरा मारे पाप, आँखा मारे सुन्दरी लाभ, कसैले 'लभ इज ब्लाइन्ड', पनि भन्ने गर्छन्। त्यसैले होला प्रेम जोडून जतिसारो छ तोडून पनि त्यतिनै गाह्रो छ। प्रेमको आफ्नै अदालत छ अनि जो कोही जब वकालत गर्न चाहन्छ/बहस गर्न चाहन्छ तब प्रेमरूपी अदालतको ढोका खुल्ला रहन्छ औ प्रवेश गरेपछि स्वयम् न्यायको निम्ति उभिन पर्छ। नत्र प्रेमको कटगारामा म जे भन्छु सत्यसत्य भन्छु सत्यको शिवाय अरू केही भन्दिनँ भनेर छातीमा हात राखेर कसम खानुपर्छ। यहाँ त्यस धोबीनीलाई धोका दिने प्रेमी पनि सायद कुनै कटगारामा छ र फैसला माग्नजाँदा प्राकृतिक अदालतले उसलाई बयान माग्यो र न्यायधीशको अगि ऊ भन्दै थिई "तिमीले किन त्यसरी ढाट्यौ?
मागेर ल्याइने दिक्दारीपूर्ण र बाध्यताले आश्रित भइदिएको एउटा शब्द भिखारी। आर्जन नभइदिनाले रित्तो मनको थैलो थाप्नैपर्ने त्यो विडम्बना। जन्मदेखि मृत्युसम्मको अन्तरालमा हात पसारी "पूर्णसत्" भन्नैपर्ने एक प्रकारको आगो। जल्दैछ धूवाँ छैन न त ज्वालो नै देखिन्छ तर उत्ताप आइरहन्छ अनि त्यही उत्तापले सन्ताप दिएर जीर्ण मानसपटमा एउटा प्रश्न उभिन्छ। भिखारी म माग्दैछु किन कि म भिखारी। मगन्ते भन्छन् मलाई हिजोआज छाक टार्न नसकेर माग्छ, तर माग्नु भनेको खोस्नु होइन। महँगाइका अर्थहरू एकै ठाउँ समेटिदैनन्। यिनीहरू केही फराकिलो पनि होलान्। माग्दैमा निर्गतिलो हुने र दाता चाहिँ गतिलो हुने होइन ऊ पनि आवश्यकताअनुरूप माग्छ। कहिलेकाहीँ भिखारीकै घरमा भिखारी माग्न जान्छ र दुवै भिखारीहरू आपस्तमा मागामाग गरी समस्याहरूको समाधान खोजिएका अर्काका झोलीमा न्यायसङ्गत भीख हाली साटासाट गर्दछन् । तर कसैले भने विमुख पारेर रित्तै फर्काइदिन्छन्। हामीसित सबैथोक कहाँ होला र? एक विद्यार्थी गुरूकहाँ शिक्षाको भीक्षा माग्न भिखारी भइदिन्छ। एउटा राष्ट्र अर्को राष्ट्रकहाँ समाधानको भिखारी भइदिन्छ। सुदामाले कृष्णलाई आफू धन दरिद्रताको बोध गराइ सम्पन्नताको भीक्षा मागे तर कृष्णले पनि सुदामासँग एक सच्चा भक्तिको निम्ति भीख मागे। आपस्तमा दुवै छुट्टाछुट्टै विषयको भिखारीजस्तै देखिए। दान दिने र लिने दुवै भिक्षु हुन्, किनकि जसले जसलाई केही दिन्छ उसले पनि कसैबाट केही लिन्छ। प्रेमिकाले प्रेमीसँग प्रेमको भीक्षा माग्न भिखारिणी भएकी हुन्छे। मौरी महरूप भीक्षा माग्न फूलफूल घुम्छ। भर्ती बादलसँग प्रकृति बनाउन पानीको भीक्षा माग्छ। यसर्थ यहाँ को पो ठूलो होला र? पेटले भोजन र इच्छाले तृप्तिको, नदीले शुद्धता र शिशुले रथाको भीख माग्न भिखारी भइदिन्छ। गेरूवा लगाएर कमण्डलु लिएर दैलोमा उभिएकाहरू माग्न भिखारी भएका होइनन् क्यार। थोत्रोमोत्रो लाएर दुब्लो पतला शरीरधारीले मैलो झोला थाप्ने मात्र भिखारी भएको होइन। त्यो त असहायताको परिचयः पो दिएको त. तर माग्न त हामी सबैले नै माग्छौं नी होइन र?
प्यासी तिर्खा मेटाउन अपरिचितलाई पानी माग्छ। चालक धनार्जन गर्न यात्रीलाई भारा माग्छ अनि यात्रीहरू हिंड्दा थकाइलाग्ने भयले चालकलाई त्यहाँसम्म लगिदिनुहुन्छ ? भनी शब्दात्मक आशारूपी भरोसाहरूको प्रत्युत्तरको भीख माग्छन्। यी दुवै द्वन्द्वात्मक देखिए पनि परिपूरक छन्। मैले परिवेशलाई सुस्वास्थ्यको कामना गरी एउटा सरल जीवन धान्ने शितलपवनको भीक्षा माग्दैछु।
बाँच्नु र बचाउनु मानव मस्तिष्कको फराकिलो बाटो हो औ दिनु नै लिनु पनि हो। भावनात्मक अभिव्यक्तिको लेनदेन अर्थात् Give and take भिखारीलाई भीक्षा दिनुहोस् अनि भिखारीले पनि तपाईंलाई धन्यवाद भन्छ या 'तपाईलाई ईश्वरले रक्षा गरून्, केही न केही त भन्छे भन्छ, त्यसो भए तपाई पनि भिखारी। मान्छे मान्छेकै दैलोमा पुग्दा त्यो अहम्लाई पन्साएर केही प्रेरणा त्यसको थैलोमा हालिदिएर आगन्तुक हर्षित हुन्छ। म मात्र केही हुँ I am a person भनेर मनको ढोका सङ्कुचित गर्दा वैचारिक खिन्नताले द्वेष उत्पादन हुनसक्छ। भेड़ाको बड्ङ्गलमा एउटा भेड़ो भड़खालामा परे सबै पर्छन् रे। यसर्थ मान्छेको विचार भेड़ाको जस्तो नभइदिए हुन्थ्यो।
भिखारीको माग्ने विषयको तोक लगाएको मोहर हुँदैन। आफ्नै आँखामा कसिङ्गर परे हेरिदेऊन भन्नुपर्छ। त्यो समाधानको भीख माग्ने भिखारी हो। छजना अन्धाहरूले हात्ती छ खालकै देखेजस्तो आँखा हुनेहरूले अन्धाको सत्यताभन्दा माथि उठेको नभए त्यसको शेषपछि त्यहाँको सञ्चालक कस्तो होला? जसले समाजलाई के देला ? त्रिकालदर्शीमुनीलाई मैले मभित्रका शब्दावली पल्टाएर तिनको चरणस्पर्श गरी मौन रहें। तिनले के बुझे तिमी ठूलो पुण्य नगरी स्वर्ग जान सक्दैनौ भनेर आफ्नो जलपात्र बोकेर कतै हिँड़े। म भिखारीको झोलभित्र अलिकति आकाशबाहेक अन्य केही थिएन र मेरो भूत, वर्तमान, भविष्य मन्थन गर्दा जे निस्किन्छ त्यही औषधिको रूपमा तिनले मलाई अलिकति दिएको भए म विमुख हुने थिइनँ।
गालीसरि दिएको भीक्षा भिखारीले पकाउँदा गालीहरू वाष्पमा परिणत भई शुद्ध अन्नग्रहण गरी झिनो शरीर बाँचिदिन्छन् निष्कलड्ङ्क। सबै यहाँ दिन आएका छन् तर मान्छे लिन आएको छ। छाउराहरूकी आमा भुस्याहा कुकुरनी जुठो टपरी चाटेर सन्तुष्टिले छाउराहरूलाई दूध चुसाउँछे र रातभर भुकीभुकी बाक्ला डसनामा आङ तान्दै सुतिदिने सभ्य मान्छेहरूकै प्रहरी भइदिन्छे। स्नेहको भीख मागेर स्वामीभक्त कुकुरनी पुच्छरले चमर डोलाउँदै स्वागत गर्दछे तर लौरो देखाएर लखेटिन्छे। त्यहाँ त्यसको अमुक भाषा बुझिंदैन र ऊ चुपचाप पन्सिदिन्छे। कानूनको बन्धनभित्र फँसेका कैदी उन्मुक्तिको भीख माग्छ। फाँसीमा झुण्ड्याइएको जिन्दगी निराकार ईश्वरसित मोक्षको भीख माग्छ। यो भिखारीहरूको बाक्लो शहरमा हराइदिने भिखारीहरू मछवाराको महाजालभित्र परेको माछा जस्तै तराजुका पल्लाहरूमा तौली माग्छ। बेच्नेले पैसा माग्छ, लानेले इच्छाहरूको आगोमा त्यो माछा पकाएर तृप्तिको निस्वास लिन्छ। भनिन्छ- "मागे हात्ती चोरे लात्ती।' कसैकी छोरी मागेर श्रीमती हुन्छे, एकलव्यले माग्नेलाई औंलो दिएका थिए। सावित्रीले पतिको मृत्युदण्डलाई वरदान मागेर टारेकी थिइन्। माग्ने तरिका धेरै प्रकारको हुन्छ। शिशुले आमालाई रोईरोई दूध माग्छ, गाईले बाँ गरेर गोठालालाई घाँस माग्छ। कसैले गीत गाएर पैसा माग्दछन्।
यसरी माग्नेहरू सबै भिखारीकै लहरमा पर्ने गर्छन्। यसोहुँदा एक भिखारी अर्को भिखारीलाई केही दिए त भइगयो नी। भनौँ भने हामी जम्मै मान्छेहरू ईश्वरसित केही मागिरहेकै हुन्छौँ यो एउटा पैंचो चलाउने तरिका नै हो। जन्मभूमिले नागरिकलाई रक्षाको भीख माग्छ औ नागरिकले राष्ट्रलाई सुरक्षाको। भीक्षा माग्दैमा, माग्नेसँग केही छैन रहेछ भन्ने बुझ्नुहुँदैन र भीक्षा दिँदैमा कङ्गाल हुँदैन। मागेर समाधान हुन्छ भने त्यो सही हो। ढोका अगि उभिएर माग्छ भने त्यो उसको बाध्यता हो तर के मागेको हो बुझिदिनु सत्यता हो। जम्मै जात, धर्म र सम्प्रदायका मान्छेहरू माग्छन् र उनीहरू स्वतन्त्र हुन्छन् ।
मनको अन्तस्करणको ढुक्कपननै विश्वास हो।
योभन्दा ठूलो सृजनामा केही छैन, नत्र छातीमा हात राखेर सोच्नुहोस् तपाईं आफै भन्नुहुन्छ कि बल्ल ढुक्क भो। अर्थात् हराएको कुनै मूल्यवान जिनिस प्राप्त भएको खबर आयो, तपाईंलाई विश्वास हुन्छ कि भोलि त्यो चीज मेरै हातमा आइपुग्छ। ईश्वर कहाँ छ अनि कसले देखेको छ? तर हामी हातमा धूप जलाएर एक धुँगो फूल लिएर मन्दिरमा चड़ाउँछौँ र भन्छौं हे भगवान् ! मेरो फलानो कामना पूरा होस् नभन्दै भने जस्तो भए धन्य प्रभु भन्छौं त्यही नै त विश्वास हो। हामी भने ईश्वरप्रति विश्वास लिन्छौँ, तर परिबन्धले काम पूरा भएको पनि त हुनसक्छ, होइन र? विश्वास गरेर नै यो धरामा हामी ढुक्कसँग बसिरहेछौं। यदि विश्वास नभए आकाशमा भएका पृथ्वीभन्दा ठूलाठूला ग्रहहरू खस्नु हो भने हाम्रो के हालत होला? या त पृथ्वीमा कुनै ठूलो ध्वान्द्रो परे के गर्ने? भोलि बिहान उज्यालो हुन्छ र म फलानो काम गर्छु भनेर ओछ्यान पस्छौं, त्यहाँ विश्वास छ र नै त भोलि हुन्छ, नत्र राती नै मरे के गर्ने यो विश्वास कहिले गुमाउँछौं र अनविश्वास, विश्वास झुण्ड्याउछौं, त्यो ताला भएको हुन्छ। विश्वासमा अनविश्वास पाएपछि प्रेमीहरू विष पिउँछन् या पासो लाग्छन्। विश्वासभन्दा गतिलो शब्द संसारको सारा कृयाकलापको शब्दकोषभित्र खोजे पाइन्न। मूर्ति छ ईश्वर छैन र पनि विश्वास दुइहातका औंला जोड़िएर उठ्छन् अनि टाउको केही निहुरिन्छ। सपनाहरू सुतेपछि आत्माले खोजील्याएका दृश्यहरू हुन् र हामी विश्वास गछौँ। हात चिलाए पैसा आउँछ र खुट्टा चिलाए हिडिन्छ भन्ने विश्वास लिन्छौँ। सानो अड्कुशद्वारा वरिष्ठ हात्ती तह लाग्छ। त्यो यथार्थ विश्वास हो। यदि बल नै गर्न परे लुते माहुतेको के लाग्छ। बिन बजाउँदा सर्व भएर विश्वास नाच्छ। सिपाही विश्वास भरेर बन्दूक बोक्छ यदि पड़किएन भने नि त। कहिलेकाहीँ विश्वास खाएर हामी निको हुन्छौँ, त्यो औषधि भएर बसेको हुन्छ। हामी पक्का मछौं, विश्वास छ तर डराउँछौं। पल्लो मुलुकसँग वल्लो मुलुक ढुक्क छ किनकि अस्ति सम्झौता गरेको छ। सम्झौता नगरेको भए युद्ध हुन्छ। एक चुट्की सिन्दूर पोतेको कसमले नै नारी-पुरुषबीच पति-पत्नीको सम्बन्ध रहन्छ। पत्नी कसैले लगे अधिकार जमाउन पाइने या पतिले छोड़पत्र गरे कानूनी अधिकार पत्नीले पाउने। त्यहाँ सामाजिक कारण भएर धार्मिक नियम कानूनी मान्यताभित्र विश्वास नै पसेको हुन्छ।
चोरले चोर्छ। खुनीले हिंसा गर्छ। बलियोले निम्छरोलाई हेप्छ भन्ने विश्वास छ अनि प्रहरीले पक्रन्छ र दण्ड दिन्छ भन्ने निर्धा सोझाहरूलाई विश्वास छ। सर्पले डस्छ, विषले मरिन्छ, छोराले पाल्छ, छोरीले हेर्छ, गाईले दूध दिन्छे, बिरालोले मूसा मार्छ, बाघले खान्छ, फल फल्छ, पानीले बगाउँछ इत्यादि विश्वासमा बाँचेको छ। यदि यी विश्वासहरू अनविश्वास वा धोका भए हामी के गर्न सक्छौं र? हामी परदेश जान्छौँ एउटी साधारण महिलालाई घरको सम्पूर्ण सम्पति, घर, छोरा-छोरी, मणि-माणिक्य छोड़ेर। हामीभित्र त्यो दृढ़विश्वास बाँचेको हुन्छ एवं श्रीमती श्रीमान्ले सम्पति ल्याउने विश्वासमा घर कुरेकी हुन्छे। सानो जोताराले ठूलाठूला साँड़ जुरेगोरूहरू नारिएर जोतिएका हुन्छन्। बाहनभित्र अटेसमटेस यात्रीहरू चालकलाई विश्वास लिएर यात्रा गर्छन् अनि चालक औजारहरू ठीकै छन् भन्ने विश्वासमा वाहन हाँक्छ। खरी लगाए मादल विश्वास बज्छ, छिद्रमा औंला राखी फुकी दिँदा बाँसुरी विश्वास बज्छ। गन्तव्य पार गर्न निकै थियो दुइ घड़ीको जुन झुल्किने आशाले म अँध्यारामा विस्तारै हिँड्दै गरें। विश्वासले पराकाष्ट नागोस् जस्तो लाग्छ एवं सबै विश्वासभित्र बाँधिए संसार स्वर्ग हुने थियो। विश्वास नभए शङ्का हुन्छ, शइकाद्वारा इन्द्र हुन्छ यसर्व शङ्काहरू अनविश्वासका परिचायक हुन्।
फूल सुन्दरता भरेर सुगन्धसँग फुल्न चाहन्छ, पुतली फूल फुल्छ भन्ने विश्वासीलो आशामा उड्दछ। पवन मन्द भए पनि चलिरहन्छ। रहर गछौँ हामी पवनसँग बाँच्ने कहिलेकाहीँ श्वासप्रश्वासमा अप्ठ्यारो पर्न गए डाक्टरसँग सल्य विश्वास बोल्छौं। बिरामीले आफूलाई जचाउँदा वैध्यसँग सत्यसत्य बोलिन्छ यदि असत्य बताए आफैलाई परिणाम देखापर्छ। यही जिन्दगी हो, जहाँ सत्य रहेको हुन्छ "सत्य मेव जयते" अर्थात् सत्य डगदैन। डाक्टरले दिएको औषधि विश्वास हो। थाह छ म प्रथम दर्जामा उत्तीर्ण हुनेछु किनकि विश्वास राम्रो लेखेको छु। चराका बचेराहरू गुँड़मा लोलाएका हुन्छन् विश्वास छ माउले चारो ल्याउछे, विश्वास छ मेरा बचेराहरू सकुशल गुँड़मा जीवित छन्।
चारै युगहरू घुमिरहनु ग्रहहरू अर्कासित ठक्कर नलिई घुमुन्। त्यही विश्वास लाग्छ। काटिन आँटेको बोको, म काटिदिनँ होला भनेर तृण खाइरहन्छ तर क्षणैमा विश्वास अनविश्वास बन्छ। घरमा मासु पाइने विश्वासमा जहानहरू पर्खिरहेछन् तर जालहारी भने कतिबेला नदीमा डुबेर मरेछ। यसरी विश्वासै विश्वास पनि कोहीबेला अनविश्वास बन्छ। यदाकदा रमाइला विश्वासहरूमा एउटी युवतीको गर्भमा कसैको नासो पर्छ तब विश्वासको निश्वासमा दुर्गन्ध आउँछ र वातावरण खलबलिन्छ। कहिले भने विश्वास र अनविश्वास दुवै तालाचाँबी भएर शौचालयमा झुण्डिन्छ। कारण मनले भन्छ, मेरो शौचालय सफा छ, यदि कसैले पसेर दीशा-पिशाब गरिदिए मैला हुनेछ। अर्कोतिर दिशा लाग्दा शौचालय प्रयोग गर्न नपाइने मप्रति या अर्काप्रति गरिएको अनविश्वासले उक्त साँचो दैलामा झुण्ड्याइन्छ, तर साँचो तोड्न पनि सकिन्छ अनर्थ नहुने भए यसर्थ चाबी नै विश्वास बन्दछ। पुजारीले मन्दिर थुनेर विश्वास छोड़ेर जान्छ। मानिलिउँ अब त्यहाँ भगवान् छैनन तर श्रद्धालु त्यसभित्र भगवान् छन भनेर विश्वास ढोग्छ। विशाल शरीर धारी अजिंगर विश्वास खान भोकै पर्खिन्छ। चलफिर गर्ने बुता छैन तर विश्वास रूप शिकार त्यहाँ आहार भएर आइपुग्छ। माकुरो जाल बुनेर बसिरहन्छ। जालको चारैतिर साङ्केतिक धागोहरू जड़ान गरिएको हुन्छ। उसलाई विश्वास छ कि शिकार परे त्यो साङ्केतिक धागो हल्नेिछ। नभन्दै साङ्केतिक धागो हल्लिन्छ र माकुरो त्यहाँ पुग्छ। विश्वास छ-शिकार परेछ। अर्कोतिर पुतलीले सोचेको हुन्छ कि, म उड्ने बाटोमा केही रोकावट छैन भन्ठानेर नै ऊ बेगिन्छे। यसरी दुवैतिरका विश्वासहरू अनिश्चित भई धोका हुनसक्छ।
विश्वास दिँदादिँदै पनि कहिलेकाहीँ विश्वास लिनलाई कसम खुवाइन्छ, विश्वासकै लागि। तर कसम खाँदैमा अनविश्वास कहाँ विश्वास हुनसक्छ र। दाम्पत्य जीवनमा पतिको घर गएकी पत्नीलाई जीवनसाथीको रूपमा विश्वास नगरेर "दाइजो" सँग विश्वास अपराध भएर जिउँदै जलाइन्छ। के त्यो विश्वास हो? अनि पत्नीको स्थान दाइजले पूरा गर्न सक्छ ? आपस्तमा "तिमीबिना बाँच्न सक्दिन" भनेर प्रणय सूत्रमा बाँधिएको जिन्दगी ज्वालामा परिणत हुन्छ। यसर्थ कसैले कसैसँग पूर्ण विश्वास राख्न सकिन्न। मान्छेले मान्छेबाट "हन तँ कस्तो अनविश्वासी हैं?" भनेर गाली खाएको पनि छ। यदि कसैले "भाइ तिम्रो नाम के हो" भनी सोधे हामी मेरो नाम..... हो भन्छौं। तर त्यो नाम आफैले राखेको हो के ? कसैले सानैमा राखिदिएको नाम, सुनेको भरमा विश्वास भएर "हो" भन्छौं।
एउटी महिलालाई हामी "आमा" भन्छौं तर तिनी आमा नै हुन् भनेर किटान गर्न सकिन्छ र? कारण हामी सानैछँदादेखि चिरपरिचिर नारी, जसले स्याहार्थीन् तिनलई कसैले "आमा" भन्न सिकाउँदा "आमा" नै हुन् भन्ने विश्वास अड़ेको हुनसक्छ। यदि एउटीले जन्माएर अर्कीले हुर्काएका पनि त हुनसक्छ नि। त्यसो भए विश्वास दिएर कसलाई खास आमा भन्ने ?
यसर्थ "विश्वास" भन्दा ठूलो अन्य शब्द नै छैन। यसकारण मान्छे मान्छेमा विश्वासको आदान-प्रदान गरौं।
म विश्वास किन्न एकदिन "सो रूम" भित्र पसें अनि पैसा तिरें। उसले मलाई जिनिस दियो। त्यो जिनिस बाटैमा बिग्रियो। मैले अनविश्वास किनेछु भनेर दुःख लाग्दै थियों, ऊ पनि मलाई खोज्दै टुप्लुक्कै त्यहीँ आइपुग्यो अनि बेचेको सामानतिर हेर्दै भन्यो “भाइ तपाईंले मलाई जाली नोट दिनुभएछ” त्यसपछि दुवै हेराहेर गस्यौं। हाम्रो विश्वास अनविश्वास भएछ।
मैले भूत दुइप्रकारले बुझेको हुँ। वर्तमान बित्दैजाँदा हुने र प्रेतआत्मा मान्छे मरेपछि अर्थात् दुर्घटना परेर मृत्यु भए, मान्छेहरू भन्ने गर्छन् यहाँ यस्तो भएर फलानो मरेको छ, तर्साउँछ है। यो शब्द बड़ा गजब छ। सुन्दै एकप्रकारको डरलाग्दो हुन्छ। ठूलो शरीर लामा-लामा दाँत भएका, जिङ्गरिङ्ग कपाल (केश) भएका अनि गहिरा अँध्यारो खोल्साखाल्सीतिर विशेष राती निस्किन्छ। यसले तर्सायो भने बिरामी परिन्छ मात्र होइन तर मरिन्छ पनि। एक्लै राती नहिँड्नू है भूतले खाला, के के लाग्ला जस्ता कायर बनाउने शब्दकोष हामी हाम्रा स-साना शिशुहरूका कलिलो मानसपटमा हालिदिन्छौं। यसोसले राती मान्छेहरू गुनगुनाउँदै हिँड्छन् या त नानीहरू र नारीहरू भयभीत रहन्छन्। हिजै मात्र त्यहाँबाट लाश हिँड़ाएको थियो एक्लै कसरी जानु हैं? कतै बाटोमा ठीङ्ङ्ग उभिएको त छैन ? कसैकसैले भनेको सुनेको पनि त हो नि 'विचरा उसलाई भूत लागेको छ अरे, कति गर्दा पनि जाति भएन, सारै छ अरे मर्छ होला। झाँक्री लगाउनुपर्छ ग्रह बिग्रियो होला, जप गराउनुपर्छ। बुट्टी बाँध्नुपर्छ', यी सब सामाजिक अन्धविश्वासभित्र हामी र हाम्रो समाज चिन्तित छ र अविकसित पनि छ। हो आत्मा मर्दैन'रे गीता त्यसै भन्छ अनि सबै सम्प्रदायहरू आत्मा र प्रेतात्माहरूको विश्वास पनि गर्ने गर्छन्। यो आत्मरूपी भूतसँग कतिदिन डराउनु र आखिर मरेका भूतभन्दा त जिउँदा भूतहरू नै डरलाग्दा हुन्छन्। राती निस्किने भूतसँग राती नै डर हुन्छ अनि दिन भएपछि तिनीहरू चिहानमा लुक्छन् होइन र? आखिर जिउँदा भूतहरू त रात न दिन तर्साइरहन्छन्। यत्रो विशाल ब्राम्हण्डमा म त केवल भूतैभूत देख्छु। म ठूलो हुँ वा म ठूलो हुनपाए हुन्थ्यो भन्ने मनसाय मान्छेमानै हुनेगर्छ तर समयका तीनवटा कालहरूको परिवर्तन अनि त्यसको परिवर्तनले ल्याएको परिस्थितिसँग जुझ्नु, भोग्नु, बेहोर्नुपर्ने सरल र कठिनाइहरूको सम्झना नै लिँदैनौं। प्रत्येक वर्तमान भूत हुन्छ औ प्रत्येक भविष्य वर्तमान।
यसरी समयको भूतले खाइरहँदा पनि भूत नदेखि मरेका आत्मरूप भूतसँग किन पो डराउनु। मनले भन्छु म नै सर्वेसर्वा हुनपाए हुन्थ्यो। मेरो हुकुमबिना यो कसले यसो गरयो इत्यादि। जन्मिएदेखि मृत्युसम्म आफ्ना सारा पराक्रम, कर्म, इच्छा अनि संरचना र पूर्वाधारहरू एवं आउनै लागेका वर्तमान, वर्तमानपछि हेदहिर्दै भूत तब किन डराउनु। खाइसकेको छ सुस्तरी मूसाले रोटीको टुक्रा खाए जसरी भूतले। गाड़ीको पैंयाजस्तै यी तीन समय कालचक्र पनि पालैसँग भूत! यो लेखाका अघिल्ला हरफहरू भूत। भविष्यका कल्पनाहरू वर्तमान खाएर फेरि भूत भए। त्यसो भए खोइ डराएको त भूतले दिनै खाँदा पनि। त्यो बाल्यस्नेहपूर्ण उमेर खोइ? आफैले खाएर युवा-युवती, वृद्धा भए। जीवन सलल बगिरहन्छ। यहाँ समस्याहरू छाल र तरङ्ग भएर किनार लाग्छन्। यहाँ आफै भूत, अर्को भूतसँग के को चिन्ता। यो कलमको मसी सिद्धियो र मैले लेख्दालेख्दै यो मसी भूत भएछ र वर्तमानमा मसी हालें। सधैं दोहोरिने नक्षत्र, तिथि, बार, महीना निरन्तर पल्टिने भित्ते पात्राको पन्ना। कहिल्यै सकिँदै नसक्किने आकौ साल पनि भूत अनि कहिल्यै नआउने भविष्य पनि भूत। ध्वनि, प्रतिध्वनि, फेरि ध्वनि जो म सुन्दथें कसैकी। उम्रिरहने मुहान जहाँ म सधैं हातमुख धुन्चें, नुहाउँथें, धारा, पानी र ठाउँ त्यहीँ हो तर पानी त्यो थिएन र भोलि अर्कै पानीमा नुहाएँ। एउटै सूर्य घरिघरि भोलि भएर देखा पर्छ। यहाँ सेकेण्ड (पल/पल) हरू भूत भइदिँदा म पनि भूत भइदिन्छु। मेरा हतारहरू भूत भइसकेका छन्। आजभोलि म यो वर्तमानसँग वाक्कै भइसकेको छु किनकि जति वर्तमान थुपार्छ सबै भूत भइदिन्छन्। मेरो अनुहारभरि भूत चढ़ेछ चाउरिएको पाउँछु। कपाल सेतो भूत भएछ र रङ्गाउँछु, वर्तमान कालो बनाउँछु फेरि भूतै हुन्छ। घरका दलिनहरू भूत भएर मक्किएछन्। देख्ने आँखाहरूमा तिनको ज्योति भूत भएर चश्मा चाहन्छन् वर्तमान नियाल्न। कान, छालालगायत ज्ञानेन्द्रियहरू भूत हुँदै दुर्बल भएको बाह पाउँछ। यो लेखाइको ३१ दिसम्बर २००८ पनि भूत हुँदैछ।
उदेक छ यो मेरो पेटलाई धेरैचोटि गए तर मर्नुको भने 'नभूतो न भविष्यती', मैले पूरा गर्नैपर्छ। येनकेन प्रकारेण उदरम् परिपुरयेता यस्ता भूतहरूको आक्रमणमा परेर मर्नेहरूको मलामी कारण सोद्धा शोकित परिवारहरू भन्थे 'जण्डिस लागेर'। विचरा त्यो जण्डिस पो भूत भएछ। म जन्मिनुभन्दा अघिको समय भूतले शरीरभित्रको आत्मरूपलाई मेरो शरीरमा पत्यारोपण गरिदिएछ तर निकट भविष्यमा देह भूत भएपछि आत्माले शरीरको कस्तो प्रतिक्रिया देखाउला यी चिन्तनयोग्य विषय हो। सबै यस्तो थियो कि थिएन तर काल परिवर्तनले यसलई निचोरेछ, साँघुरचाएछ र भूत पढेर अन्दाज लेख्नेहरू इतिहासकार भए। हावा-पानी, ऋतुहरूलाई म नयाँ भनिदिन्छु तर स्पर्श गरिसकेर भूत भइदिन्छन्। मलाई भोकको भूतले दुःख दिएर दैनिक तीनघण्ट रोटी कमाउनु पैदल जान्छु र भएभरको अघाइदिन्छु एकैक्षण। यो पेटको भूतले मेरो जवानीको हत्या गरेको आरोप छ। यसलाई र पनि प्रशस्तै बाँच्ने इच्छाहरूमा तगारो बन्न आउँछ विगत भएर। समस्यै समस्या हुन्छ वर्तमान बेफुर्सद भइदिन्छु जिन्दगी। कोल्टे फेरिदिन्छु कति रात अनिद्रित प्रहरहरू। हैरान छु, लखतरान छु, विवश छु। ऋणी रहेछु म, तिर्दैछु जिन्दगीका ऋणहरू। दान गर्न सकिनँ कर्ण जस्तो। हो भने यही शब्ददान हो सम्झिदिएमा, होइन भने सबै यी क्षणहरू बितेका भूत मात्र। यो भूतैभूतको मण्डलीमा एउटा मृतजीवी च्याउ, दुरूस्तै झरीमा उम्रिदै घाममा वैलाउँदै छ। त्यो बिना हरितकण च्याउ जो बीजरहित छ र पनि जिउने रहर छ, जिउँछ केहीक्षण। मलाई संसारको मद लागेको छ। सायद अरूलाई पनि यही रोग लागेको होला। सबै मेराहरू गुमाएर पराय हुनेछ, भूत हुनेछ। सारा सृजना खोस्न आउँदैछ लुटारा भएर। भाव लाग्दैछ मान्छेको, मान्छेकै बजारहरूमा त्यो पनि भूत हुनलाई। न तर्साउने भूत भएछन् मेरा भाग्यहरू एउटा स्वरूप नभएको महाभूत।
म भन्छु मैले पाइनँ। पाउनुनै पर्छ। अरूलाई भन्दा ज्यादा मेरै भए हुन्थ्यो। मलाई सबैले नमस्ते गरून् । श्रीमती मेरै राम्री होस्, छोरा-छोरीहरू मेरै असल बनून्। सबै हिसाब खोज्दैछु एकएक। म बोल्दैछु माइक्रो फोनमा अहङ्कारका गुरूचण्डाली दोषयुक्त भाषण या म गर्दैछु प्रवचन तर म नै ती भनाइहरूसँग सहमत छैन। समय यो रहन्न भूत भइदिन्छ अनि मलाई जित्नेहरू क्रमश त्यस्तै गतिमा भूत हुनलाई त्यहाँ उपस्थित भइदिन्छन्। यदि गर्नसके केही इतिहास लेखिएला। चौतारो, धर्मशाला बनिएला केही दिन अनि त्यही भूत।
मरेका भूतहरू त कसैलाई अपहरण, बलात्कार, हत्या, हिंसा केही गर्दैनन् । न त ठगेर खान्छन्। न त चोरेर खान्छन्। बरू यहाँ आत्मास्वरूप घुम्न अतीतको यादमा आएका हुन्छन्। बरू यहाँ जिउँदा भूतहरूले अनगन्तीलाई सताइसके। कसैले टाइ लगाएर, त कसैले वर्दी लगाएर अनि कसैले गेरूवा लगाएर। यो भूतमण्डलमा चिहानघारीका भूतहरू जसको इरादा पूरा हुनेछ ती सधैंलाई अन्त्य हुनेछन्। एउटा नाता छ मेरो जिउनुको सन्दर्भमा, आशा राख्दैछ यो समाजले मबाट किनकि मैले पैंचो चलाएको छु केही। त्यसैले दशी छोड़िराख्नुछ, एउटा सौगात छोड्नु छ किनकि निसङ्कोच म भूत भएको हुनेछु।
चिहान नबनाइयोस् मेरो सङ्गमरमरको ओगटिने छ त्यो ठाउँ उब्जाउ गर्न। सराप्नेछन् ती वर्तमानकाहरूले सड़ेको मेरो पार्थीव शरीरलाई। कति जिउँदा ईश्वरहरू मेरो सौगात पर्खिरहेछन्। नाटक हुँदैछ यो रङ्गशालामा यसैले अभिनयको दायित्व पूरा गरेर भाग्य लेखिएको भावीको हस्ताक्षर मेरो निधारको अस्तु।
अनुसन्धान गरियोस् अस्तु र पढ़िदिउन् भूत, वर्तमान र भविष्य अनि सक्छन् भने पुनरजीवन गराउन र त्यसपछि भनून 'आहा क्या गजबको भूत।’
भोलि हुन्छ के? भोलि एउटा भविष्य, त्रसित छौं हामी भोलिसँग। विरामीले भन्छ- "बा म भोलि मरेको पो हुन्छ कि?" यात्रीले भन्छ "भोलि म कहाँ पुगेको हुनेछु।" एउटा विद्वान् भोलि जन्मिएको हुनेछ अनि राष्ट्र भोलि कति अगि हुनेछ। भोलि ठूलो भूकम्प आउनसक्छ आदि तर भोलि भएकै हुन्छ। एउटा भोलि पाउन सधैं आतुर हुन्छु। ती आगामी लक्ष्यहरू नयाँ दिवाकरसँगै थाल्ने इच्छाको एउटा कौतुहलपूर्ण तालिका विछ्यौनामा पल्टिएपछि बनाउँछु। निद्रारूपी आमाका काखमा 'चिम्म नानी' नभनेसम्म घरि दाहिने घरि देब्रे कोल्टे फेर्छु अनि त ती आमाले चिल्लो लगाई सुताइदिन्छिन् । उठिदिन्छु थुप्रै घरभन्दा बिथोल्न उनका रातका मीठा सपनाहरू झक्झकाउन। रहरलाग्दो समीरको साथी बनी भाँडाकुटी खेल्न। आहा कति मजाको छ मेरो भोलि। जब समीर, चिसा हातहरूले मलाई छुन्छ तरङ्गीत हुन्छन् रोमहरू। त्यतिखेर पूर्व उदाएको हुन्छ भोलि भएर।
फूलका सुगन्धहरू एकाएक नाकका प्वालबाट सुगन्ध भरेर कोचारिँदै हुनेछन् भोलि 'ओहो कति मीठो' वासना। शीतभरिका पातहरू बिहानै टल्किदिन्छन्। चरीहरूका गीत सुन्न भोलि पनि म बाँचेकै हुन्छु। मन्दिरबाट तथास्तु दिँदै निस्किएका शङ्ख र घण्टीका आवाज अनि सुगन्ध धूपको। ईश्वर बन्छ बिहान मेरो भोलि। मङ्गल वचन बोल्छ भुकभुकेमा। आलस्य लिएर हाइ काड्नेहरू स्फूर्तिसँग भोलिको पानीले मुख धोई भृकुटीमा विभूत धारण गरी हिँड़ेको पाउँछु। शान्त, न्यानो, हल्का पहेलो घामको किरण फैलिदै बलेंसीमा टुपुक्क आइपुग्छ। त्यो भोलि शान्त निरापराध छ र पनि कति चुल्हाहरू त्रसित छन् भोलिसँग सायद कर्मक्षेत्र साँगुरिएर होला तर खुशी छु दैनिक स्वच्छ भएर आउने भोलिसँग। यसरी भोलि पनि आइरहोस् खुशी बॉल। पर्खिएका छन् थुप्रैले भोलिलाई मिलन गर्न युगल प्रेमीको रूपमा। पर्खिएको छ फक्रन त्यो कोपिला भोलिलाई अनि पर्खिएका छन् बचेराहरू गुँड़मा भोलि उड़नलाई। सायद पर्खिएकै होला राष्ट्रले नयाँ इतिहास लेख्न त्यो भोलिलाई। भाकाहरू भोलिकै हुनसक्छन् लिने र दिने।
हुनसक्छ भोलि मारिनुपर्ने पालो आएको छ। त्यस निर्दोष पशुको र थतमरिएका • छन् स्वादहरू भोलि कुरेर। बयान हुँदैछ अदालतमा जीत कसको हुने हो हेरौं भोलि।
चित्र विचित्र छ, कतै भने निर्माण भत्किँदैछ। अतालिनु नै किन र यहाँ भोलिसँग ? ऊ शान्त छ, मुसुक्क हाँस्छ। हिजै जस्तो आज र आजै जस्तो छ भोलि। उन्मक्त भएर इच्छा, आक्रोष र प्रतियोगिताले पो विडम्बना ल्याएको हुनसक्छ। यसैले आतुर फतुरहरू त शान्ति भङ्ग गर्ने माध्यम होइनन् र? एउटा बालकलाई सोधौं त, तिनी भन्छन् "म भोलि ठूलो मान्छे हुन्छु" अनि "के गर्छौ" भनी थप प्रश्न गर्नोस् ऊ भन्छ "नी म ठूलो मान्छे भएर आवाजहाजमा चड़छु।" साँच्चै हो, त्यो उमङ्गपूर्ण भोलि घड़ीको टिक्टिसँगै मध्य भइदिन्छ। हातमा एउटा खबार कागज आइपुग्छ। म पढ़छु फलानो ठाउँमा विष्फोट भएर भारी मात्रामा महिला र नानीहरूको मृत्यु भएछ। एउटी अबलाको बलात्कार भएछ। बुहारीको हत्या भएछ, युवकको लाश फेला पस्यो। बाहन दूर्घटनामा सत्ताइस घाइते, हात्तीले घर भत्काएछ, बाघले चिथोरेर वृद्धाको निधन, पूल भाँचिएर यात्रीहरू अलपत्र। उफ यो कस्तो भोलि हैं? बिहान जस्तै दिन भइदिए पो। जिज्ञासा रहन्छ हे फसाद भोलि के हुने हो। तर भोलि चकमन्न छ। बिर्सिन्छु म भोलि र अतीत भइदिन्छ त्यो वर्तमान। रातभर चौकीदारी निभाएका भुस्याहा कुकुरहरू पनि चुपचाप सुतिरहेका पाउँछु। बालकहरू औंला चुस्दै कोक्रमा भुसुक्क निधाएको देख्छु। ग्वाला दूध लिएर दैलोनेर देख्छ, अहो भोलि बिहान भएछ। पुजारी टिकाप्रसाद लिएर मेरो खाली निघाः भाग्यमानी गराउन आशिष पढ्दै मेरो अगि। दुध उमालेर सुरूप पार्दै आफूलाई आनन्दविभोर भएको पाउँछु। दिनहरू त्यसरी किन आउँदैनन्। परिश्रममा भरगो आन-चविष्यमा यस्तो वैमनश्यता ? चेतनशील मानव जगत् आज कता जाँदैछ? कोटी भन्छन् "मोड़न भयो। लुवाइ, खुवाइ, बोलाइ सबै मोडन।" कोही भन्छन् "वैज्ञानिक जमाना पो त। अनुसन्धानकर्ताहरू गहिरो चिन्तन लिएर अन्वेशन गरिहेछन दिनरात ल्याब्रोटोरीमा बसेर घोरिएका छन् भने भोलि कस्तो ल्याउनलाई होला। एउच कौतुहल लाग्छ। प्रत्येकको भोलि चिन्तनको विषय बन्न सक्छ। कुनै भयावह हुनसक्छ या शान्ति, मैत्री पनि हुनसक्छ।
भोलि एउटा प्रश्नसूचक शब्द हो। यो निकै सक्रिय हुनुको साथै मनन गर्न लायक छ। भोलि केही गर्नु छ भने अनि त्यसको फल खानु छ भने आजै मस्तिष्क उर्वरा हुनुपर्छ। भोलि पैह्रो गएर बाटामा अवरोध हुनसक्छ। हिउँ परेर लगलग जाड़ो हुनसक्छ। आजै कुवा नखने भोलि घरमा आगलागी हुँदा केले निभाउने ? आगलागी भएपछि दमकलमा पानी भर्ने कि आजै भरी राख्नुपर्ने?
आजको प्रत्येक विद्यार्थीसँग राष्ट्र, समाज, गाउँ-घर सबैसबै पूर्ण भरोषामा बाँचेका हुन्छन्। भोलिको सूर्योदय प्राणी जगत्को भरपर्दो बरदान होस्, आशिष होस् तर श्रापित नहोस्। अहो! हे भोलि कताकता डर पनि लाग्छ। त्रसित हुन्छ किनकि मेरो जीवन यात्राहरूमा पार गर्नुपर्ने लक्षित गन्तव्यहरू भयावह त छैनन ? के थाह? थुप्रै निर्दोषहरूको माझमा डराएको हुन्छ औ जसले सुन्छ मात्र ऊ झस्किन्छ। भोलिसँग एउटा बालक रमाएको हुन्छ किनकि भोलि उसको नयाँ नाना लाउने दिन हुन्छ। भोलि दशैंमा चिचिमाम खाने इच्छा हुन्छ तर भोलि परीक्षाफल निस्किन्छ भने भयले कताकता उसले सङ्कोच मानेको हुन्छ। अचम्भ छ यो भोलि। हो मेरो केशको एउटा रौं फुलेको हुन्छ औ देख्नेले भन्छन् 'अपुइ तिम्रो कपाल फुलेछ।' सङ्कोच उत्पन्न हुन्छ कारण दिनदिनै म बूढ़ो हुँदैरहेछु। सकारात्मक र नकारात्मक प्रतिक्रिया लिएर आउनेछ भोलि। आमाको भोलि जन्मिएर आफ्नो भोलि मरेको हुन्छौं हामी। सारै भयभीत भइरहँदा पनि आफ्नै लक्ष्यहरू ठगिन्छन् अनि लक्ष्यतिर ढल्किँदा ठूलो समस्या भइदिन्छ भोलि। एकतमासको नकचरो जस्तै लाग्छ भोलिलाई। यो कहिल्यै रिस्साएको हुँदैन, जहिले हाँसिरहेको हुन्छ। मैले एउटा आँप रोपको हुन्छु भोलि र त्यो भोलिभोलि हुँदै अनगन्ती भोलिहरू पछिका भोलि फुलेको हुनेछ र त्यसको भोलि लटरम्म फलिदिन्छ अनि त्यसको पनि भोलि स्वादिष्ट आँप मैले खाएको हुन्छु।
भागिरहन्छ हरदम तरै पनि लखेट्छौँ हामी भोलिलाई। 'काम साँची आफूलाई खान साँचे अर्कालाई' भने जस्तै भोलिको निम्ति साचिदिएका कार्यहरू सिद्ध नहुन सक्छन्। भोलि थुप्रै अरू थपिएर आजका रहल भोलि समेटिन नसक्ला। प्रत्येक भोलिहरू एकएक कदम भागिरहन्छन् छुट्टाछुट्टै अर्थ बोकेर। बहुरूपी, बहुभाषी, त्यो भोलिसँग आजै सतर्क रहन सकेहुन्थ्यो तर हामीभन्दा अझ चलाख भोलि। विश्राम लिन नमान्ने भोलिले पछ्याउन लगाएर दौड़ादौड़ी छ हाम्रो। लखतरान भएर त्यसको पछि कुद्दाकुट्टै एकदिन हाम्रो मृत्यु भोलि भएको हुन्छ।
यो देश हाम्रो देश। डाँड़ा पाखापखेराले सङ्केत गरेको देश, सेता हिमालहरूको स्वच्छ परिवेश। नातीशितोष्ण जलवायुले जाँगरिलो फूर्तिलो अनि हिमशिखरले हुत्याई ल्याएको चिसो समीरको स्पर्श र रिमझिम वर्षाको सङ्गीतमा कलकल खहरेहरूको साउने आवेशमा हतारिँदै बगिदिने भेलहरूको फूर्सद नभएर आफै ढुङ्गा-ढुङ्गामा ठोक्किदै सधैँ नयाँ जोश उमङ्ग फर्काइल्याउने साँच्चै रमणीय हाम्रो देश।
कृषकको थकाइसँग अङ्गालो हाली गुन्द्रुकको अमिलो हुँट्कीसँग अमिलो मही र किनेमाको पुरानो स्वादसँग बेलुकीको छाक टारिदिने दार्जीलिङे मायाभित्र खुशी बाटिदिने सोझा इमान्दार गोर्खाहरूको देश। सेतो भूइँकुइरो उठेर समानताको श्रीपेच लगाई आशिष दिन हत्पताइरहेको महाकल बाबाको देश। सिञ्चेलको पोषिलो चिसो पानीमा आत्मा पौड़िएर सधैं मृदु हासो हाँस्ने सरल ग्रामीण जीवन जिएर रमाइरहने देश। चरीको काफल पाक्यो, एवं न्याउलको गायन राग पहेंलो, रातो फलेदोभरि फुली डाली-डालीमा बैशाख बोलाउने उसको आफ्नै बोली विशेष। सिमलको भुवासरि हिउँको वर्षामा लुकामारी खेल्दै कुकु भनिदिने त्यो बालापनको सधैं यादमा रमाउन तयार छन्। यहाँ ग्रामीण तरूणीतन्देरीका उमङ्गहरू। रानीचरीको निर्धक्क स्फूर्ती नाचेको बिहान अनि भाँडाकुटी खेलिदिने शैशव यादको शान्तनिमेष।
कहिले घामको तातो बोकेर पसिनाजड़ित निधार त कहिले झरिले रूझेका खिनौटे हत्केलामा कोदो, फापर र दालको फुलौरो, फर्सीको बियाँ अनि फिलुंगे अबार, माघे सङ्क्रान्ति भएर कुसुमे, बनतरूल, घरतरूलसँग मीठो भोक टारी एक निद्रा सुतिदिने यो देश। यहाँका प्रजाहरूका प्रजापति महाकालबाबा एक नरेश। पिठ्यूँमा डोको थुम्चे बोकी थाप्लोभरि भाका बन्दोबस्त र पटुका कसेर भोक टारिदिने सरल स्वास्नी मान्छेहरूको छाती चुसेर दूधेनिद्रा सुतिदिएर भुसुक्क निदाइरहने कोक्रोभित्र भविष्यको लाहुरेको आत्मसमर्पणको हरियो देश।
टङ्...टङ... घण्टी बजेको कर्णकहरमा शब्द घुसेर बिहानीको मीठो निद्रा भालेको कुखुरी काँ... सँग उठी हरियो चियाका मुनामा सन्ततिको सपना सजाउने कमाने आमाहरूको देश/ युग-युगान्तर इच्छाहरू बेचेर अनिच्छाहरू किनकिन हिमाली स्वर्णीम सपनाभरि भावनाको तीनतले महलमा कुइराको भूवा ओड़ेर पेट अघाउन छाक टार्नपर्ने बाध्यतामा उमेर गुजारी पुनर्जन्ममा तक्दिर खोज्ने आशैआशमा एकसरो कफन ओड़ेर चितामाथि निर्दुक्क चिसो निद्रा सुतिदिने हाम्रा पूर्वजहरूको देश। वर्षों निरक्षर रहेर बिनाहातकड़ी यो खुला झ्यालखानाको बारदलीमा उभिएर भाग्य लेख्ने भावीको पर्खाइले कसम खाएको सिपाहीजस्तो पसिना बेचेर सिमानाका बडकरहरूमा थुक्क कर्म भनी भावी दोस्याउने खुकुरीवीर गोर्खाहरूको देश।
विधुवी भएकी पहाड़की रानीको चिरहरण भएपछि लज्जा छोप्न सर्माउँदै परदेश गएर सन्तान हुर्काउन कुटे-कोदालो गरिनुपर्ने बाध्यताको देश। कसले सुनिदेला र पहाड़की रानीको पुकार? सन्तान हुर्काएर वृद्धा भएकी छिन् आमा। विह्वल भएर आँसुको वर्षादमा रूझिरहेकी छिन् आमा अनि कहिले त सहनशिलता गुमाएर आत्महत्या गर्न खोज्दैछिन् विचरी विधुवी आमा। कहिल्यैकाहीँ हिमशिखरले लगलग कमाउँछ त कहिले खरेड़ीले सुकाउँछ अनि कहिले भने आइलाले बगाउँछ। जीवन धान्ने विषयमा पलायन हुँदैछ, परेदशीदैछ दार्जीलिङको ढुकढुकी। चुल्हो तातेको तापमा टोकरीले पिल्स्याएको पिठ्यूँका डामहरू तेल घसेर तताउँदै चपाएको खाना खुवाउँदैछ भावी सन्तानलाई। सोचेकी होली सायद कामदारी, चौकीदार, मन्सीबाबु, बैदार आदि कल्पनाले खिचेका नियुक्ति पत्रमा। लाले, पुंडे र तारे जोतेर घर फर्किएका हलिका अलिखित प्रमाणपत्रहरू बाली नसप्रिएको बेदनामा हातको तकियाँ गलाई झुलिदिन्छ दिक्दारीका उमङ्ग आशाहरू अनिच्छुक स्वीकृति भएर। विकल्पमा धेरै नौला सृजनात्मक विषयको थालनी जो समयानुकूल यहाँको परिवेश अनुरूप तथास्तु पाउन सकेन पसिनाले। परिश्रमका ज्यालाहरू दक्षिणास्वरूप खटाइए तापनि विद्रोह नबोली मौनतामा बरू परदेश लागे यहाँको ढुकुटी भर्न आफू ऋणी भएर। बाहुबल सकिएछ क्यार बाजेले चलाएको खुकुरी उचाल्दैन नाती। सासुले पट्याँस हानेको नाङलो निफन्दिन बुहारी। खेतबारीका थली र गराहरूमा नूनिलो पसिना चुहाएर बाली सपार्न कुल्ली नाम भएका डाक्टर, इञ्जिनियर र वैज्ञानिकहरू फुटपाथका अर्धनग्न वस्त्र पहिरिएर खुशीमा खुशी बाँड्दै बोनसको आशमा कुटेले गोड्दैछ विश्वबजारको मूल्यवान चियाको स-साना विरूवाहरू। कहीँ बाँझो नहोस्, छेउकुनामा रूखका विरूवा रोप्छ, ताकि पैह्नो नजाओस् र त उर्वरा छ यहाँको माटो। बाबुबाजेले कमाएको चिया र कुलैनबारी, पूर्वजले जोतेको खेत यसैले त आज हिमाल हाँसेको छ। सुनाखरी जस्तो फूल्न अझै चाहन्छ पाखुरे र खेतालो इमानदारी। दीघार्यु भएर दीर्घ निश्वास लिउन भन्छ जलवायु। निहुरिएर तिम्रो वीरता बचाउँ भन्छ बाँसघारी। कतै गए पनि मलाई नबिर्स भन्छ देउराली खुशीको मृत्यु मरिदेऊ भन्छ यो देशको चिन्हारी।
अनगन्ती फन्को मारेर धर्तीले दार्जीलिङलाई काखमै बोकेको छ भन्छन् टिस्टा, रङ्गीत र बालासनले। तृष्णा मेटाइदिउँला भन्छ झरनाले। ज्वालामुखीको सतहभित्र वाफिदै वासभूमि, धैर्यताले निश्कर्षमा पुग्न एक माइलखुट्टी पार गर्न पछ्या भन्छ ओजस्वी सूर्यले। गर्भे टुहुराले वकालती चलाउला कुनै क्षण, सधैं दिगो सूर्य उदाइदेला। घड़ीको टिक्टिक्ले परिवर्तन पल्टाइ लगे पनि परेलीले ताली नलागोस्। क्षितिजको तुवालो उड़ाउन अभिभावकको चोर औलो समाई सुस्तरी लम्किदैछ एउटा बालक, पढ्दैछ 'क' देखि 'ज्ञ'-सम्मका साउँ अक्षरहरू। पढ्नेले बुझिदिए, बुझ्नेले गरिदिए यो आत्मा रोदनको दर्शन र लेख्नेले लेखिदिएको मुस्लामुस्ला शब्दसागर जो छरपस्टिएका पृष्ठहरूको पृष्ठसङ्ख्या मिलाए आधरभूत आवश्यकताको अर्थ स्पष्ट हुने थियो। घाम नडुबी वासगृहमा पुग्न पाए हुन्थ्यो। नक्षत्र गनी ज्योतिषले कुण्डली उतारेपछि लगन बोलाउन विलम्ब भयो।
दुशाशनले चिरहण गरेको नग्न चित्कारको मुकदर्शक होइन तर जुवा खेल्न अगि पाशाको चितपट चिने हुन्छ। बलीको साम्राज्यमा निम्छरो नसम्झिएर आफूलाई सामर्थ्यवान सम्झी शिखर उक्लन पाए हुन्थ्यो। मरिचजस्तो डल्लो भए पनि पिरो छ। परिचय एकताको खेतबारीमा उमार्नुछ पूर्खाका आशाहरू। लिलाम भएका छैनन जङ्गल फाँड़ी चिया रोपेका भत्भत पोल्ने हातका ठेलाहरू अनि निस्ताएका छैनन सुत्केरी आमाका खालीपेटहरू। खाँड़ो पखाल्न यहीँको शितले पुग्छ तर पलायन हुन किन आजै पाइलो सार्नु र? औंसी बितेर अब पूर्णीमा आउँदैछ किन कि बादलको घुम्टोभित्र उज्यालो देखिंदैछ। पैचो मागेर मुर्दाहरूलाई मट्टि दिए आत्माहरू स्वर्गमा विराजमान हुने थिए सायद। नवजातहरूलाई मधेशको तेल लछेप्रै दलिदिनु भन्दा पहाड़को हिउँ पोतिदिए तथास्तु हुने थियो। बगिएका छैनन सिञ्चेल भाकेर सिन्दूर दलिएका परेवाहरू बरू उँधौली र उभौलीका दोहोरो प्रहर घुर्दैछन्। यसकारण कि हाइकाड्दै आङ तानेर उठ्न कर लाउँदैछन् समयका मिरमिरे उज्यालाहरू। रोटी र फिक्का चियाको चिसो घुड्की घुट्युट ! निल्दैछन् एक्काइसौं शताब्दीका शोषित मान्छेहरू दार्जीलिङको बल्यासीमा बेहाल प्रदर्शनी खप्दैछन् सिमा रक्षा गरी घर फर्किएका लाहुरेहरू। त्यसैले यो देश, यो हिमाली भूभाग, यो माटामा छ्यापछ्याप्ती रातो रगत र नूनिलो पसिनाको मूल्य विश्वबजारमा मूल्यवान छ। लाहुरेका आधा पेट सुतेका अनगन्ती रातहरू लामखुट्टेलाई सोधे हुन्छ। सामन्तको उष्ण जलाशयमा पौड़िएको कथा सुटुक्क सोधे पनि हुन्छ। सपनाको महलको छत्बाट कतिचोटि पछारियौ भनी। प्रश्न राखे हुन्छ। मधेशबाट धन कमाउन पहाड़ चढ़ेका वृद्ध मोचीलाई यहाँको मानचित्र सोधे पनि हुन्छ। थाप्लामा भारी बोकी दुःख गर्नेलाई यहाँको दुःख कति छ भनी सोधे नधकाइ बताइदिन्छ। झोड़ाको पानी पिउने नागरिकलाई गङ्गाको मुहान नसोधे पनि हुन्छ।
भोको पेटलाई सारङ्गीको खाली पेटसँग तुलना गरे हुन्छ। मार्कसको दर्शनलाई मागी खाने स-साना नाबालकहरूको अनुहारमा पढ्न सकिन्छ।
रात गाड़ा छ कहीँकतै छिरिक्क उज्यालो छैन। सूर्य उदाउन चारप्रहर रात अझै बाँकी छ। न आँसी हो न सावन भदौको फुपू भदै छुट्टिने बिरहको रूञ्चेझरिको रात। निःसङ्कोच मनमा सङ्कोच बोकरे अझै गहिरिँदैछ रात। अड़कलै गर्न नसकिने सागरको पानी जस्तो र पानीदेखि माथि तैरिएको कमलको भावुकतामा रातको परत सुस्तसुस्त मझेरीदेखि कस्याँसो र कोठेबारीभरि छरपस्टिएर आँखाका नानीभरि पनि छ्यापछ्याप्ती छ एस्किमोहरूको गुफा जस्तो। अनिदो निद्रा सुतेर विछ्यौना बिझाउँदैछ र पनि सुत्नै पर्ने। झाड़ा पिसाबले पिरोले पनि सहेर कुखुरी... काँसम्म सुत्न सक्किन्न क्यार। छोरीहरूलाई पाठशाला लैजान हतारै छ, साउँअक्षर चिनाउन बाँकी नै छ। छोरालाई घरको ऋण धनको लेखाजोखा सुनाउनु छ। एउटा सरकारी कागजमा बुड़ीऔंलाको छाप मारेर विश्वास उगेल्नुछ। चारकोष जति बाटो हिंडून एकघड़ी मलाई तिम्रो जून पैचो देऊ।
पूर्णीमा जस्तै छ्याङ्ग उज्यालो प्रकाशमा गन्तव्यका खुड्किला देख्न सकियोस् ताकि सिरकको उष्णताले ताली लागेको आँखाको कचेरा पखाल्ने झर्नाको पानी देखियोस्। प्रेतआत्माहरूले निशानी लगाएको चिहानको छातीबाट शहीद छ्यापछ्याप्ती रगतसरि उठेको देखियोस् अनि देखियोस् माग्नेहरूले मन्दिर जाने बाटामा होइन तर देशको इतिहासमा आफ्नो नाम लेखिएको। सुनलाई कसी लगाएर रूप देख्न एउटी युवतीको शिरबन्दी सजाउन मलाई उज्यालो चाहिएको छ तर सागरमा टल्किएको प्रतिविम्बको नक्कली उज्यालो होइन ताकि मरूभूमिको मृगतृष्णा नहोस्। मलाई मेरो देश फुलेको हेर्न र मेरा मान्छेहरू अघाएको तिनको मुस्कान हेर्न केवल चिम्रो जून पैचो देऊ। पैतालाभरि तिखो शूलभासिएर यात्रा लङ्गड़ो नहोस् बिउ मासिएर धर्ती बाँझो नहोस्। खेत जोत्ने गोरूले भरपेट पराल खाएका र हाम्रा सिपाहीहरूले विजयको झण्डा सिमानामा फर्फराएका हेर्न एकमुठ्ठी तिम्रो जून पैचो देऊ।
तिमी त दिउँसै उज्यालो बालेर निदाउँदा रहेछौं अनि ब्यूँझिएपछि हाइकाइदै समय व्यतीतका खेल खेल्दा रहेछौ। तिम्रो चुरोटको ठुटो चुसेर जम्मै वेदना उड़ाइदिएर निस्ता आशामा ठिङ्ङ्ग अगिल्तिर उभिने नागरिकहरूलाई डकार्दा कस्तो हुन्छ? के थाहा? यसैले औंसीदेखि पूर्णीमासम्मको भोको यात्रा पार गर्न एउटा उज्यालो देऊ।
शैशव बेलामा ढुकुमुकु खेल्ने हात कलिला मागेर भन्छ 'मुझे पैसा दो'। माग्नु नराम्रो होइन तर आत्मनिर्भर खोइ। यसैले चक्षुको दिव्य उज्यालो दिन अझै थप चेतना चाहिएको छ। यसकारण उसको पथको साथी तिमी हामी त्यही जुन खोसेर देखाऊँ।
तिम्रो जूनको पैंचो पुरयाउन देश उठेपछि आउँला। तिम्रो मृत्युमा स्मृति एउटा बड़ांशानदार बनाउँला। जब तारा झै झलमल हाम्रा देशवासीहरू हुन्छन् अनि पो भोलि तिम्रो इतिहास तिनकै हातले लेख्छन् ।
पिञ्जड़ामा तोते बोल्दैछ मैना। थुनिएर स्वतन्त्र प्रियतम प्रियसीको यादमा सूर्य जलेको छ। रटाएको शब्द दोहोस्याउँदै खुल्ला झ्यालखाना प्रकृति रमाएको हेर्नुछ।
मक्किएर भत्कियोस् बरू पिञ्जड़ा तब आफ्नै पखेटाले उड़ेर त्यो चन्द्रामा हेर्नु छ। उड़ाइदेऊ बादल सबै मलाई त चन्द्रमा चुम्नु छ।
कलङ्करहित स्वच्छ जूनको सिङ्गै प्रकाश दर्पणमा प्रतिविम्बित नभई नजरमा उज्यालो पर्न हो। त्यही चन्द्रमा चाहिएको छ। तिम्रो रात मलाई पनि हिँड्नु छ। त्यसैले केहीक्षण तिम्रो जून पैचो देऊ। खिइँदैन आकाश, सकिँदैन प्रकाश र निखिंदैन तिनको प्रभा। सङ्कटका ठूल्ठूला घड़ी धेरैपल्ट विजय भइसकेका छन् अनि अत्तालिनु पनि छैन। यो दानवताकाले पल्टाइएका पृष्टहरू देवता सहजसित सामना गर्दछन्। कौरवसँग पाण्डव जुझेको आत्मकथा र कुरूक्षेत्रको अन्तिम निर्णयको कथा आलै छ। यो महान् योगभूमि, तपोभूमिमा दर्शनको अनुपस्थितिको महसुस हुँदैन। मै हुँ' भन्ने योद्धाहरू कति व्यर्थको मृत्यु मरे पनि रामको धनुमा रावणको आत्मा अल्झिएको कथा स्वयं मर्नेलाई थाह छ। समेटिएर जाँदैछ युग, आफ्नै गतिमा बग्छ सागर, चुपचाप छ सरोवर। यो शान्त वातावरण खलबल्याउने महिषासुर मरिसकेको छ एउटी युवतीको हातबाट। विगतको इतिहासको पृष्ट पल्टाएर हेर त्यो समरलाई एकचोटि सोध युद्ध लल्कारने सिंह उम्रेका जुरो पलाएका साँड़हरू परास्त भइसके। दिवास्पन्नलाई स्वप्न झै ठानिंदैन। युवती त्यसै राम्री छे तर अझ राम्री पार्न तिनलाई सोह्र श्रृङ्गारले श्रृङ्गार्नु छ। मैले उसको तारूण्य सलक्क निलिसकें। त्यो उसको सुन्दरतालाई थाह छ र विवश उसलाई उसकै आँखाहरूले धोका दिएर ऐनाको सहारा लिएकी छे र ऐनामा आफ्नो कुमारीत्व चिहाउन पूर्णीमा चाहिएको छ र त भन्दै छु मलाई तिम्रो जून पैंचो देऊ।
युद्धक्षेत्रमा बन्दूक खाएर, बन्दूक सुमसुम्याएर बन्दुककै सपनामा जन्म दिने बुढ़ी आमाको आफै चुसेर रित्याएको छातीभित्रको ढुकढुकी र सबै बचाउन आफू निखिएको अनिद्रित रातहरूमा काल्पनिक भविष्यको यर्थात् सजाउन सिमानाका बडकरहरूमा उसको भाग्य हेर्न एउटा गोलो स्वच्छ रजत उज्यालो चाहिएको छ। त्यसैले तिम्रो जून पैंचो देऊ। मेरा अनगन्ती जूनहरूमा कलकले केहीक्षण विरूप बनाइसके तापनि त्यो गर्भे टुहुराको छैटौं लेख्ने भावीको लत्पतिएको हस्ताक्षर र त्यसको अगामी भाग्य हेर्न प्रशस्त उज्यालो चाहिएको छ बरू शुल्क नै तिरौंला। यसकारण त्यो मुहूर्त छोपुञ्जेल तिम्रो जून पैंचो देऊ।
धेरैचोटि मरिसकेका छन् जिन्दगीहरू। कोही मारिएका छन् त कोही स्वयं मरेका छन्। कोही बाँच्छ भन्दा भन्दै पनि मरेका छन् अनि मरिसकेर मारिएका छन्। अचेल एउटा पूर्णकद ईश्वरबाट पाए जति तथास्तु खाइसकेर चितामाथि ठूलो होड़ जित्न आगो लगाइमाग्दैछ आफन्तहरूलाई पञ्च बसेका छन् मलामी। जीवन जलाउन दागबत्ती अब शब्द हराएको मुखमा मौनताको निशानी चन्दनको टुक्रामाथि कपुर लजेर दूधले बुताउनु छ। हतार छ मलामीहरूलाई, यत्रतत्र नजलेका मांशपिण्ड छालले हुत्याउँदै किनारा लगेका छन्। यताउता गुँड़ भत्किएको छ आत्माको। आत्मा निक्र्योल गर्दैछ मासु खाएर खुशाउने माछो या आत्मालाई दण्ड दिने यमराजका निर्णयहरू। यसैले उसको त्यागको परिभाषा लेख्न अँध्यारामा जूनकिरीको प्रकाशले पुगेन र तिम्रो जून पैंचो देऊ ऐनाको प्रतिविम्ब हेर्न सक्तिनँ म। सूर्यको उखरमाउलो तापले म आफै रापिएको छु। चश्माका भित्ताहरू टल्किएर त्यो दिवाकरले तिरमिराएका छन् नानीहरू। बरू पर्खेर समय सकिदिन्छु अनि भाष्कर अस्ताएपछि औंसी हेर्न पूर्णीमा नभई मलाई तिम्रो जून पैचो देऊ।
विश्वको शब्दकोशमा र उदार मनोभावनामा सेवाभन्दा अर्को शब्द नै छैन। भजन ईश्वर खोज्ने गोरेटो हो भने आर्तकहरूको सेवा साक्षात ईश्वर हो।
कलियुग अवतार सत्य श्री साईले यसो भन्नुभएको छ-
Love all serve all. The serving hands are holier than chanting lips. Service to man is service to god.
यसैले सेवा शब्द नै खुला मनस्थितिद्वारा प्रस्तुत गरिंदा ईश्वर स्वरूप हो। ईश्वर अदृश्य र निराकार छन्। हामीले पूजा गर्ने गरेका मूर्ति र तस्विरहरू ईश्वरका आराधना मात्र हुन्। कतै ईश्वर यस्तैत छैनन् ? भन्ने जिज्ञासा राखेर प्रार्थना गरिन्छ र नै ईश्वरसमक्ष पुगेको महसुस हुँदछ।
भारतीय सभ्यताअनुसार दीनदैन्यको कल्याण गर्नु नै भगवान्को सेवा गर्नु हो। मात्र धर्ममा आड़ लागेर म फलानो धर्मको हुँ भन्दैमा कसैमाथि सेवा पुग्दैन अनि धर्मको अनुसरण गरेर विपरीत कार्य गरे धर्मको रक्षा हुँदैन एवं कार्य सेवा हुँदैन। 'धर्मो रक्षति, रक्षित, (बेदव्यास) अर्थात् धर्मको रक्षा गर्नु नै आफ्नो सुरक्षा हुनु हो। धर्मले चरित्रको निर्माण गर्छ अनि चरित्रले व्यक्तिको सुरक्षा गर्छ। 'धर्म शब्द मान्छेको मात्रै पेवा होइन। संसारका तमाम जीवहरूको आ-आफ्नै धर्म छ, त्यो स्वसञ्चालित छ। वनस्पति जगतमा प्राकृतिक प्रभावद्वारा धर्म सञ्चालित रहेको कुरा भनिरहन पर्दैन।
मान्छे चेतनशील भए पनि परचालित प्राणी हो। किनभने मान्छेले भन्ने गरेका छन्-" हामी त फलानो युगका हौं र बाठा छौं। वैज्ञानिक युगेका हौं र युगलाई आधुनिक, उत्तर आधुनिक र अत्याधुनिकतर्फ लैजान्छौं।" तर मानवचरित्रमा हामी पछि पछौं। घरिघरि चेतनाशक्तिलाई विकासागर्नाथ गुरू चाहिन्छ। विश्वका जम्मै धर्महरू मानिसकै मार्गदर्शक हुन् र विभिन्न धर्ममा धर्मगुरूहरूद्वारा जारी नै छ प्रवचन। एक पछि अर्को गुरूको आवश्यकता पर्छ। यसैले युगहरूका आदि, मध्य र अन्तमा भगवानस्वरूप गुरूहरूको जन्म भएको पाइन्छ। शिव, विष्णु, राम, कृष्ण बुद्ध, येशु, नानक, महावीर, साई आदि विभूतिहरूद्वारा धर्म, शिक्षा र दीक्षा दिँदादिँदै त मान्छे हिसक प्रवृत्तिको प्रभाव देखाउँछ। यति धेरै निशुल्क शिक्षादीक्षा दान गरिदा पनि आफ्नै नैतिकतामा आफै दाग लगाएर मान्छे कुव्यवहारको शिकार बन्दछ। आदर्शलाई कुल्चिएर लुटपाट, चोरी, डकैती, हत्या, बलात्कार अपहरण आदिमा लिप्त रहन्छ। यस्तो निन्दनीय कार्य मान्छेले मान्छेलाई नै त गरेको हो। यहाँ एउटा गोरूले खसी चोरेको कुरा प्रकाशमा आएको छैन। न त मृगतले घुस दिएर बाघलाई खरायो मार्न पठाएको छ। या त चौरीले भैंसीको घाँस हिनामिना पारेको छ। पशुहरू त उनीहरूको समयतालीकाद्वारा चल्ने गर्छन्। प्राकृतिक जगतमा केवल एउटै युग चलिरहेछ त्यो हो सत्य युग तर मान्छेमा भनोसत्य, त्रेता, द्वापर र कलि गरी जम्मा चार युग किन चल्दैछन्। समयलाई विभाजन गरेर युगको निर्माण गरिएको हो र मान्छे त्यसैको दास भएको मात्र हो। जसले आफूलाई सेवा कर्मद्वारा माथि उठाउन चाहन्छ, उसैले परमेश्वर चिन्न सक्छ। तर मान्छेको दुनियाँ आज हतारमा छ। कसैले कसैको वास्ता गर्दैनन्। मान्छे संसारमा पगितै भएर पो यस्तो भएको हो भन्नुभन्दा अरू जीवको एकाइलाई पनि सोचौँ।
अपूर्ण चेतना भएका प्राणीहरू त सजिएर/मिलेर बस्छन्। लाखौँ कमिलाहरू भिन्नाभिन्नै थरिका आपस्तमा मिलेर एउटै दुलामा साझा घर बनाएर बस्छन्। करोडौं धमिराहरू एउटै ढिम्कीमा अट्टाएका हुन्छन् अनि बगुन्द्र माछाहरू पोखरीमा रमाउँछन् भने चेतनशील मान्छेमा किन यस्तो ?
आज एटमिकपावर विष्फोट गराएर मान्छेले मान्छेको नष्ट गराउनुभन्दा अझ ठूलो हतियार 'प्रेम' प्रयोग गरेर विश्वशान्त राख्नु उचित होइन र? अब यही प्रेममय परमेश्वरको उपासना गरेकी हुन् मदरले घाइतेहरूको सेवा गरेर। जसरी फ्लोरेन्स नाइटिड्गेलले गरेका थिइन्। सन् १९१० को २६ अगस्तमा युगोस्लाभियाको स्कोपजेमा जम्मिएकी मदर एक स्वर्गदूत नै हुन्। परमेश्वरले भने मुताबिक यस महासंसारमा सेवाद्वारा नै ऐतिहासिक छाप छोडेर ब्रह्माण्डको धार्मिक सभामा भाग लिन रवाना भएकी हुन्। प्रत्येक मानव हृदयको किताबको पन्नापन्नाभित्र र हरफहरफमा सेवाको अमिट छाप छापेर गइन्। हामीले उनको कर्तव्यको अनुसरण गर्नुपर्दछ। आर्तहरूको जलन, पीड़ा र दर्दहरूको महलम भएर बाँचिन् भारतमा। आफ्नै सन्तानलाई त कति मातापिताको स्नेह पुग्दैन भने अरूहरूद्वारा जन्माइएको आर्तहरूकी जननी भएर प्रेमको खानी, स्नेहकी प्रतिमूर्ति मदरको सम्झनामा आज कुन घाईते रोएको छैन होला र? उनी एक पवित्र नारी, उनमा प्रत्येक घाइतेलाई ईश्वर देख्ने दर्शन थियो। आदर्शकी जननी भएर भारतमा रमाइन उनी विश्वभरका सबै धर्म र सम्प्रदायहरूलाई सञ्चालन गर्ने पनि मान्छे नै हो। एउटा धर्मले अर्को धर्मलाई गाली गरेर हिंसात्मक प्रवृत्ति नै किन देखाउनु ? यदि कुनै न कुनै धर्मको अनुसरण गरिन्छ भने त्यो आफैमा कसी लगाउनु हो। जसरी सुनमा कसी लगाएर असली र नकली चिनिन्छ र मूल्यमा पनि कम बेसी हुन्छ। हामी कसैलाई शैतान देख्छौं तर आफैमा लुकेर बसेको शैतानलाई जबसम्म बाहिर निकालिँदैन तबसम्म अनन्तको ईश्वर भेट्न सकिंदैन भन्छन् महात्मांहरू। उछिन, पाछिन, लोभ, ईर्ष्या, गाली, धम्की, यी विविध मनका शैतानहरू हुन् र यसलाई परास्त गर्नु नै मानव धर्म हो। मान्छे जम्मै युग विहोर्न आएको होइन केवल समय विचार्न पर्यटक भएर धर्तीमा आएको हो। अभिमानले छोपिएर भन्छ 'म त युग हुँ अनि सबै मेरो हुनुपर्छ।' यसरी 'मरेपछि खा बाबै केरा' भनेर धोका विचारहरूको भएका महसुस हुनुभन्दा यो संसारलाई केही सत्कर्म चिनो स्वरूप छोड़िराख्नु राम्रो होला।
मदरले यसै गरेकी हुन्। आफूले प्राप्त गरेकी पुरस्कारसमेत रोगीको उपचारार्थ खर्च गरेर इतिहास रचेकी हुन्। मदरको अनुपस्थितिको महसुस भएको छ। जिन्दगीको जम्मै समय उपकारमा खर्च गरेर अद्वितीय पुरस्कार प्राप्त गरेकी छन् । त्यो संसारको सबै पुरस्कारमध्येमा श्रेष्ठ छ। 'कर्मण्ये वाधिकारस्ते माः फलेषु कदाचनः 'कर्म गर, फलको आश नराख' (गीता) किनकि असल कर्म नै उत्कृष्ट फल हो जो रसैरसले परिपूर्ण हुन्छ। स्वादिष्ट हुन्छ त्यसै पनि नारीहरू आमा हुन्। तर सर्वत्र नारीमा आमाको गुण पाइन्न अनि कतिले पाएर पनि गुमाउँछन्। यसरी आमाहरूकी पनि गुरूआमा थिइन् उनी, जो अब छैनन्। उनको आत्मालाई ईश्वरको काख मिलोस् ।
रचना काल २००९'सुन्नुभो काका....' कसैले पछिबाट बोलाउँछ। जिज्ञासुभावले मुण्टो फर्काएर हेरिदिएँ। ऊ भन्दै थियो-'आज इम्पोरटेन्ट मिटिङ छ, जानै पर्छ अरे।' धार्नीको टाउको हल्लाएर 'जान्छु' भन्ने सङ्केत दिएँ। हो मैले जानैपर्छ त्यहाँ किनकि जनसङ्ख्या नै जनशक्ति हो (कार्लमाक्स) सबैले एकमुष्ठ आवाज गुञ्जाउनु छ। न भन्दै एक हूल सर्वहारा वर्गका मान्छेहरूद्वारा गगनभेदी नारा- 'पाउँनै पर्छ-पाउनैपर्छ' भन्दै खलखली पसिना बगाउँदै यतैबाट गए। हो मा हो थप्न मैले पनि उपस्थिति दिएँ। बाँडिएका पामप्लेटहरू पढ़ें। त्यहाँ एकजना भन्द्र मान्छे पानी पिउँदै लाउडस्पिकरबाट माइकको तीक्ष्ण आवाज भएर चुनौतीपूर्ण कुराहरू बर्बराउँदै थिए। उनका भावनाभित्र आफू कति सहमत थिए कि थिइनँ तर भाषण समाप्तिको शब्दसँगै अरूले ताली ठोक्दा, मैले पनि ठोकिदिएँ। यस्ता धेरै सभाहरूमा म जस्ता पीड़ितहरूले अन्धाधुन्दा सामेल पनि भए ताली पनि ठोके। हो हामी ताली ठोक्छौं, किनकि निमुखा, अशिक्षित, सोझा र इमानदार छौं। यसैले हामी दाउमा थापिन्छौँ हारिन्छौं। शकुनीको छलपूर्ण पाशा क्यॉफाइले आज एउटी होइन सैकड़ों द्रौपदीहरूको चीरहरण भएका छन् र थुप्रै पाण्डवहरूलाई लाक्ष्यगृहमा आगो लगाइएको छ। त्यसैले म शब्दैपिच्छे ताली ठोकिरहन्छु।
चाणक्यले भनेका छन्- "मौनंच कलहो नास्ति', वा चुपचाप बसे झगड़ा हुँदैन, तर बोल्दा सही बोले पनि निक्र्यौल गरिंदैन। 'धेरै सहनु पनि अपराध हो’ भन्छन् कोही। भोक हड़ताल, नारा, जुलुस र अनिश्चितकालीन हड़तालहरूले पेटका कृमीहरू पनि बानी परेर होला अचेल धेरै बुझ्ने भएका छन्। बजारमा कति दिनदेखि मौनधारण गरेका फर्सी र इस्कूसका मुण्टाहरू र इनफयाक्शन भएका रमभेड़ाहरू पचाउने अदम्य शाहस बढ़ेको छ आन्द्राहरूमा भरे के जुटाउनुपर्ने हो ?? प्रश्नैप्रश्न हुँदाहुँदै पनि आफ्नै भाग्यलाई आफै मुर्दावाद, मुर्दावाद भन्दै गल्लीगल्ली हिंइने परेको छ अधिकार खोज्न। जब घर फर्कन्छु अनि सँगै जिउनसँगै मर्ने कसम खाएकी श्रीमतीसँग आँखा चार गरेर दुःख बाँड़ी दिन्छु। भाँड़ाको बिर्को उघारेर उम्रिएको बासीभात खोज्न थाल्छन् आँखाहरू। बजारमा साइज घटेर मूल्य बढ़ेका ममुहरू आन्द्राका नागबेली घुमाइहरूमा चुपचाप पचिसकेका छन्, एक कचौरो सुपसँगै। नियास्रो मनसायले मलिनमुहार लिएर चामल पैंचो माग्न गाउँ पस्छिन् एक्काईसौं शताब्दीको विकसित नारी।
न्वारनदेखि मृत्युसम्म नारा, लगाइरहनुपर्ने निमुखाहरूको भौतिक जिम्मेवारी। जो होचो, उसकै मुखमा घोचो, तरै पनि म नारा लगाउँदैछु पाउनै पर्छ-पाउनै पर्छ, होशियार, होशियार, मुर्दावाद, जिन्दावाद इत्यादि। एउटा बेसुरा गीत, एउटा दैनिकी या त एउटा समय कटनी। खुल्ला मञ्च, एउटी नर्तकी मञ्चमा छम्छम् नाच्दछे सरगमहरूमा र हेर्छन् दर्शकहरू त्यसको लावण्य। उसको नृत्यसँग होइन प्रशंसा। ता कि नर्तकीको यौवन चुम्छन् दर्शकका आँखाहरू। यस्तै छ मूल्यहीन आर्तनादहरू, निस्ता र उराठिला छन् आशाहरू। अझ पनि वीरगति प्राप्त गरिरहेछन् दूधकटुवा, टुहुरा सन्तानहरू दुइपात एक सुइरोसँग मूल्य तोकिएको छ साईली, मैते र पोक्चीको। चौकीदार, मन्सी, दवाइवाला, ड्राइभर भएका छन् अवसर नपाएका वैज्ञानिकहरू। टौवामा एक हूल केटाकेटीहरू जनसभा गर्दैछन्। एउटा लिडर बनेको छ र भाषण गर्दैछ। अरू थप्पड़ी मार्दैछन्। विषय के हो सभाको बोध छैन। क्रिजघरमा चिच्याइचिच्याइ रूँदैछन् निद्रा बिथोलिएर भोलिका कर्णधार नागरिकहरू।
आज पनि जुलूस जार्नैपर्ने छ अधिकार खोज्न। कतै क्रान्तिपछि शान्ति आउँछ कि भनेर। मैतेको छोरो कारगीलमा मारिन्छ। पोक्ची औषधि नपाएर प्रसुतीमै प्राणान्त हुन्छे। तर यसपाली बोनसको प्रतिशत बढ़ेन अरे। कलम काटिएजस्तै काहिँदैछ कुरलीको जिन्दगी। वर्षादी च्यातिएजस्तै च्यातिर्दछन् उमङ्गहरू। गम्युट फाटेडी फार्टदैछन् युगका नयाँ पिँढीहरू र जण्डिस भएको छ "टाका अनेक लाग्वे", भन्छन् डाक्टर बाबु। सानु छँदा रहरले गएँ, तन्देरीमा जोशले गएँ अनि बुढेसकालमा लौरो टेकेर करैले गएँ। हो आज पनि म जुलूसमा गएँ।
हिजोआज अप्रकाशित खबर भएको छु म। छापाखनाको रद्दी टोकरीमा फॉलिएको छु, शीर्षक छैन। त्यसै प्रतिबन्ध लागेको छ छापाखानामा। जिन्दगीका थुप्रै परिभाषाहरू सुनाउनु छ मुखाग्रे। हिसाबको सूत्र रटाइ छ जोड़, घटाउ, गुणा भाग। जिन्दगीसँग जिन्दगी साटेर सम्पादन नगरिएको अधुरो कथा हो जिन्दगी। हिउँको ठिहीमा थरथर काहमदिन्छु कहिले अनि मैदानको उष्णतामा उड़िदिन्छु। आफै नेता भएर जङ्गलका अबोध उभिएका रूखहरूलाई भाषण सुनाइदिन्छु झिपिक्क मातेर अनि केही शान्त भएको पाउँछु। भोक लागेको थाहा पाएर झिनो जिन्दगी बाँच्नलाई खाइदिन्छु निस्तो गाँस र पचाउनलाई पिइदिन्छु उष्ण शरीरको नूनिलो पसिना। सही औंठाको छाप मारेर स्वर्ग पठाइदिन हुलाकहरूमा लिफा खोज्दैछु पुनर्जीवनका आधिकारीक घोषणाहरूमा धर्मराजका सभावहीमा लेखिएका नाराहरूमा मेरो अगुवाको नाम समावेश नगरियोस् भनेर।
हे ईश्वर! मानसिकता खुम्चाएर दारिद्रता देखाउने बानी मान्छेमा तपाईंले नै भरिदिनुभएको हो। अब यस्ता मान्छेहरूको सृजना गर्न छोड़िदिनोस्। एक कुड़को रोटी खाएर रात भर मालिकको सेवा गर्ने कुकुरभन्दा पनि नियत सानो अहो कति छक्क पर्नु। यसोसले हे दयानिधान, यदि मेरो पुनर्जन्म हुन्छ भने ठगी खाने मान्छेहरूमा होइन बरू प्रकृतिको सुन्दर बधैंचामा निसङ्कोच स्वतन्त्र उड़िरहने चराहरूमा होस् या त सधैं बन्धुत्व र एकतामा रहिरहने कमिलाहरूमा होस्। यिनीहरूमा 'न भूतो, न भविष्यती', यहाँ त मान्छेको बस्ती बस्तीमा नारा छ, जुलूस छ一 अधिकार माग्न। पैसा लाग्छ भने कति? तर अहँ हामीसँग यत्रो धेरै सम्पत्ति छैन। दिए जस्तो गर न भइहाल्छ नि लाँदैनौँ कतै। बालकलाई तृष्णा मेटाउन दूधको नारा, भोकोलाई भोजनको नारा। गरीबलाई आर्जनको नारा। मृतकलाई चिहानको नारा। तपस्वीलाई तपोबनको नारा। गृहस्थिलाई झोपड़ीको नारा। कृषकलाई खेतीको नारा र रोगीलाई औषधिको नारा। खोइ त समाधानको नारा? यहाँ त प्रस्ताव मात्र छ…।
रचना काल १९८६ (झापा नेपाल)विचरा ! यो कालो शब्द निर्दोष छ तर त्योभन्दा अधिक दोषयुक्त छ रङ्गहरूको प्रकार मध्येको एक विशेषता। कसैलाई काख र कसैलाई पाखा गरिने हाम्रो बानी। सबैलाई बराबर देखिनुपर्ने हो हुनचाहिँ तर हाम्रो बेहोरा चाहिँ पुरानै छ। कुरा गर्नमा खप्पिस छौं अनि व्यवहारमा छैनौँ। शताब्दी गनेर एक्काइसौं र बाइसौं पुऱ्याउँछौं। यसरी वैज्ञानिक जमानाका हामी हौं भन्न मन लाग्छ भने कसैले कसैलाई दोष दिन नमिल्ने हो तर आफ्नै मानसिकताले आफैलाई धोका दिँदै त छैन ? दोष देखाउन खप्पिस छौं तर आफ्नै आङ्गको भैंसी देख्देनौं। वैज्ञानिकहरू मात्र युग परिवर्तन भएको ठान्छन् र ठान्न सक्छन् तर हामी प्रयोगात्मक हिसाबले निकै पछि छौं।
बहु प्रकारका रङ्गहरूमध्ये अरूलाई गाली नगरेर मात्र कालालाई किन हियाएर /खसालेर भन्छौ हैं? 'धान खाने मूसो, चोट पाउने भ्यागुतो', प्याच्चै भन्नुपर्दा 'आ कालो जान्छ गोरो आउँछ' भनिहाल्छौं। यदि त्यसो हो भने हाम्रो मानसिकता कति सानो रहेछन् त-न्यारो माइन्डेड। यही कुरा अङ्ग्रेजहरूले भन्नुपर्दा Black handsome भन्छन् भने हामी 'काले', मात्र भन्छौं। उनीहरू Black beauty भन्छन् तर हामी 'काली' भन्छौँ। के गर्नु हाम्रो त भाग्यै उस्तो। सबैभन्दा डरलाग्दी, शक्तिशाली देवीको नाम पनि काली छ तर आफै महा थपेर महाकाली भन्छौं। देवीदेवता भनेका हाम्रा सृजनाकार हुन् तर महाकालीलाई बली, भोग दिइन्छ किन ? कुनै यस्ती आमा होलिन कि जसले आफ्नै सन्तानको खून खाउन् । बङ्गालीहरू कालीको पूजा गरेर बुद्धिमानी भए तर हामी चाहिँ सेती देवीको (सरस्वती) मूर्ति राखेर खूब सजाउँछौं अनि गाँजा भाङ/मदपान खाएर रातभर टूइस्ट गर्छौं र बिहान भएपछि गोलभेंडा जस्तो आँखा पारेर मुर्ति लगेर पगला झोड़ाको दुवैपट्टि लाम लगाउँछौं । झट्ट हेर्दा सरस्वती सुन्दरी प्रतियोगिता भन्नु जस्तो। फलस्वरूप एट (आठौं कगाउँबस्दा पढ्दै कि त केटी लिएर भाग्छौं कि त फेल भएर माल थाल्छौं। कने हामी पहाड़ेहरूको मानसिकता असन्तुलित भएको त छैन ?
सेतो, नीलो, पहेंलो, रातो आदि रङ्गहरू र मिश्रित रङ्गहरू पनि छन्। कालो जति गुणिलो छ अरू त्यति गुणकारी नहुन पनि सक्छन्। नत्र यसो दूँजाएर हेरौं त रात कालो हुन्छ तर रातभरि बसिरहन सक्छौँ भने हिउँ सेतो हुन्छ त्यहाँ धेरैबेर बस्न सक्छौं? बारीमा कालै हुने गरी मल हाले खेती सप्रन्छ। कालो माटो उर्वरक हुन्छ। यदि रङ्ग छान्ने होड़ चले म त कालै छान्यें। कारण रात कालो छ र दिनभरको थकाइ सुतेर मेटाउँछौँ अनि शरीरलाई आराम र पोषण दिन मीठो निद्राको साम्राज्यमा सपनाको थानमा चड़ी भौतारी माछौँ। यसरी सपनाको संसारमा कहिले रून्छौँ त कहिले हाँस्छौं। कवि देवकोटाले त यसो भनेका छन्– 'संसार बिर्सन्छु म अङ्कमालमा, भाग्छे बिहानै लजिली मनोरमा', कुकुरहरूले पहरा दिएको महाकालो रात साँच्चै झिलिमिली देखिन्छ। त्यही कालो रात हो जहाँ रातभर कोइली बासेर आनन्द दिन्छे औ लाटोकोसेरो प्रहरप्रहरमा कुलुलुलु गरेर कराउँछ।
हात्ती कालो छ मात्र होइन, बुद्धिमानी पनि छ। वकीलहरू कालै पोशाक लाएर मुद्दा छिनोफानो गर्छन्। टिटिले ट्रेनमा कालै कपड़ा लाउँछन्। तर नझुक्किनु होस् है सबै कालो लुगा लाउनेहरू टिटि हुँदैनन नि। हिजोआज केश कालो बनाउन ब्ल्याक रोज लगाउँछौँ। किनकि केश कालो रहुञ्जेल शरीरमा शक्ति निकै रहन्छ अरे तर केश कालो बनाउँदैमा बुढ़ो नहुने चै होइन। कोइला कालो हुन्छ र त्यसको गुण कति हुन्छ। सेतो पन्नामा कालो अक्षर लेखिँदा प्रष्ट देखिन्छ। अँधेरी रातमा जुनकिरीको उज्यालो कति मजाको देखिन्छ। अक्षर नचिन्नेहरू चाहिँ किन हो 'कालो अक्षर भैंसी बराबर' भन्छन्। के हामीले उनीहरूलाई स्कूल नजानू भनेका हौं र? लक्ष्मीपूजा वा गाईतिहार आँसीको रात कालै हुन्छ र हामी घर, मन्दिर -साउँछौं झिलिमिली बत्ती बाल्छौं लक्ष्मीजी धनकी आराध्यदेवीको पूजा अर्चना माहौं अनि थैलेनी आइपुग्छन् र भैलेनी गाउँछन् 'सुनको साडली सिलिलि लक्ष्मीपूजा झिलिलि।' सायद त्यो पूर्णीमाको रात भएको भए त्यति महत्त्व हुने थिएन।
आँखाको रोशनी तेजिलो पार्न वा सुन्दरी देखिन आँखामा काजल लगाउने बल्न छ। नेपालका राजा महेन्द्र विक्रमले रचना गरेको शब्द 'गाजलु ती ठूलाठूला आँखा, मोती बनी बस्यो यो दिलैमा' लाई पाकिस्तानका गजलकार गुलाम अलीले गाएका छन्। त्यति मात्र कहाँ हो र स-साना नानीहरूलाई के के नलागोस् भनेर निधारको एकापटि कालो टीको टक्क लगाइदिन्छौँ। कालो साँप सानै भए पनि 'अभूइ कत्रो कालो सर्प हैं' भन्छौं। कालो घोड़ा सपनामा देख्यौँ भने मरिन्छ भन्छौं भने कालो बिरालाको साल, ताबीजमा हालेर दाहिने हातमा बाँधे जूवा, तासमा खूब पैसा मारिन्छ भन्छन्। कालो कल्चुँड़ो चरो बिहानको मिरमिरेमा घरको छानामा आएर मीठो गीत गाइदिँदा हामी भावविभोर भइदिन्छौं। तर कविहरू भने भावविभोर भएर कविता लेख्न थाल्छन्। काग कालो हुन्छ सबैलाई थाह छ। यसैले कागलाई सन्देशवाहक पक्षी मानिन्छ। यमराजकी बहिनी यमूनाले कागलाई आफ्नो दाज्यू यमराजलाई भाइटीकाको निमन्त्रण पठाएको दिन कागतिहार आज पनि मनाइन्छ। महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटा त्यही कालो औंसीको रातमा जन्मेर महान् बने।
तपाईलाई एउटा सल्लाह यदि अविवाहित हुनुहुन्छ भने श्रीमती छान्दा कालीकाली साँवलो वर्णकी छान्नुहोस्। किनकि यिनीहरू प्रायः निरोगी हुन्छन् र डाक्टरी खर्च बाँच्छ अनि ब्यूटी पार्लरको खर्च पनि सेभ हुन्छ औ कसैले लगिदेला भन्ने डर रहँदैन। साथै बत्तीस लक्षण सिन्दूरे धर्का र गलामा हरियो पोते, आहा उसैउसै राम्री देखिन्छे। उनीसँग रूपको घमण्ड पनि रहँदैन। कालो गेंवारे उखु चुस्दा जाण्डिस जाती हुन्छ। त्यसकै चिनी गुलियो हुन्छ र त्यही चिनीबाट तयार भएको कालो रस मिठाई सारै मीठो हुन्छ। आँखाका नानी कालै हुन्छ र धेरै टाढासम्म देख्न सकिन्छ।
भगवान् शिव, कृष्ण, राम कालै हुनुहुन्थ्यो भन्ने प्रमाण पाइन्छ। कृष्णले एकदिन यसोमती वा आमालाई सोधेछन् "राधा क्यों गोरी मै क्यों काला?' हब्सीहरू काला वर्णका र साहसिला हुन्छन्। अरू त के कुरा गरौं-गाड़ीको टायर कालै हुन्छ र कालै अलकत्रे बाटामा गुडिरहन्छन्। यात्रा सफर गर्न सकिन्छ। कालाको महिमा अपार छ। सर्वगुण सम्पन्न छ। तर हामी मान्छेहरू कालालाई मन पराउँदैनौँ।
लौ त एउटा लोकगीतसँगै लेखान्त गर्छु।
'कालो कालो रेलको धूवाँले
हामी कालो छाता हजूर ओड्दै न ओड्नाले...।’
आँखाको छुट्टै विशेषता छ। यसलाई जोगाउन मान्छे हर प्रयत्न गर्छ। हेर्दा झाट्टै देखिने या त आँखाले आँखैमा हेरेर बात गर्ने गरिन्छ। अनुहारमा आँखाबाहेक निधार, गाला, नाक, चिउँड़ो, मुख आदि परे तापनि हेरिरहे ऊ शर्माउँछे। आँखामा आँखा जुझाएर सोझो नजर गरिहेर्दा आक्रोशित जस्तो देखिन्छ। जसरी नङ मासुबिना रहन सक्दैन र नै नङ र मासु भनिन्छ भने आँखा पनि आँसुबिना रहन सक्दैन। प्रत्यक्षरूपमा यी दुवै घनिष्ट मित्र हुन्। आँखा अति सम्वेदनशील अङ्ग हो। यसैले होला मान्छेहरू धूलो, कसिङ्गर उड्दा र ज्योति टल्किँदा उछिटिएर केहीले लाग्ला जस्तो भए आँखा चिम्म गर्छन् औ अरूतिर ठूलै चोट लागे लागोस् तर आँखा जोगिए भइगयो र यसो भन्छन् - "धत् अलिकति ले नी, झण्डै आँखामा लागेको।" यसरी आँखा जोगाए भइहाल्छ भन्ने विश्वास राख्छन्। विचरा आँखा निर्दोष हुन्छ र पनि गालि खान्छ "हन... तेरो आँखा फुट्यो ? अलिक आँखा हेरेर हिँड़ है ... नत्र।"
मान्छेको मानसिकता फ्यातुलो भएर होला एकाअर्कामा आँखा लगालग गरेर कसैकी स्वास्नी जिम्मा दिने र कसैको लोग्ने मान्छे लिने गरेको देखिन्छ तर आँखा कसरी लाग्छ यो अधिक हुनुपर्ने र आफ्नो चाहिँ आँखा लगाउँदा लगाइ माग्नेको आँखा चारभाग अधिक हुनुपर्ने र आफ्नो चाहिँ आँखा सकिनुपर्ने। किनकि आँखा लगाउनेले सधैं अरूलाई आँखा लगाइ त रहन्छ नी होइन र? मलाई लाग्छ आँखा कसैले कसैलाई लगाइरहनु पर्दैन यो आफै लाग्छ औ आफै छुट्छ। हेरुञ्जेल लाग्ने त हो नी। हेर्न छोड़े पनि लाग्न पनि छोड्छ। स्वीहरू प्राय राम्री हुन्छिन् र पुरूषहरू मोहित हुन्छन्। यसरी देखेपछि मोहित हुनु आँखाकै कारण हो। 'क' ले श्रीमतीलाई रिस गध्यर्थ्यो तर एकदिन बाध्यतावश 'ख' सँग बाटामा हिँड्नुपयो। अचानक यसरी हाँस्दै, बोल्दै हिँडेको देखेर त्यो मूर्ख 'क' लाई रीस उठ्यो र स्वास्नी कुट्यो। यसरी कति वर्ष प्रेम गरेर ल्याएकी श्रीमतीलाई एकैक्षणको आवेगले गर्दा जबर्जस्ती 'ख' ले लानुपर्यो। यस्तो आँखा लगाइले 'क' की श्रीमतीको मन दुखेर तरतरी आँसु झरे।
आँखा लगाइको पनि आफ्नो विशेषता ठाउँअनुसार प्रयोग गरिन्छ। केही दिन घर छोडेर परिवारै कतै जानुपरे छिमेकीलाई भनिन्छ कि "भाइ मेरो घरतिर पनि यसो आँखा लाइदेऊ है।" एउटा नानीलाई अर्ती गरिन्छ 'नानी बाटोमा आँखा लगाएर हिंड ल, नत्र लड़िन्छ।' यहाँ 'हगे हग, मुते काइँला', भने जस्तो दिशा गर्दा पिसाब आउँछ नै। त्यस्तै हो आँखाबिना आँसु र आँसुरहित आँखा रहन सक्दैन। आँखाभित्रबाट निस्किने नूनिलो पानी आँसु मान्छेको आँखामा विभिन्न परिस्थितिवश् देखा पर्छ तर पशुहरूमा भने वास्तविक रूपमा देखा पर्छ। कारण पशुहरू छलछाम गर्न जान्दैनन् तर पनि आँसु झार्छन्। किन भन्ने प्रश्नको उत्तर दिन हामी सक्दैनौँ।
आँसु आँखामा कसिङ्गर पर्दा, धूवा हुँदा झर्छ नै तर रिस उठ्दा र अत्यन्त दुःखी हुँदा पनि झर्छ भने खुशी हुँदा पनि हषासु (हर्षको आँसु) झर्छ। आँसु एक प्रकारको छल हो भने अर्को शब्दमा वेदना पनि हो। छल हो र नै त यसलाई कसैले Crocodile Tears वा गोहीको आँसु भनेका छन्। कारण गोहीले शिकार पक्रने बेलामा तपतप आँसु झार्दै रून्छ अरे। यसरी भावविभोर भएको गोहीलाई देखेर जीवनहरूले छेवैबाट जाँदा धोका पूर्ण हत्या गरिदिन्छ। यसकारण गोहीको आँसु देखावटी, छलपूर्ण आँसु हो।
कोक्राको शिशु रोएको आँसु भोक, प्यास र सिकसिको आदि हुनसक्छ भने शुलीमा चढ़ाइएको जिन्दगीको आँसु ईश्वर स्वरूप हो अनि आत्महत्या गर्नेहरूको आँसु आवेग हो। रिसको आँसु अग्नि हो। जसले स्वयंलाई जलाउँछ। नारीहरू ज्यादै रूले गर्छन्। त्यो उनीहरूको आत्मले नभएको भान हो भने नारीशुलभ गुण पनि हो एवं वेदनाहरूलाई आँसुले पखालेर कर्तव्यपरायण हुने जमर्को र कर्तव्यसँग जुड़ने साहस पनि हो। घरिघरि रूने आदत् भएकाहरूलाई रूञ्चे रूञ्ची भनिन्छ र खानेबेलामा रूने वा रूँदै खानेलाई अभासी वा अभागी भन्ने गरिन्छ।
बिदाइका आँसुहरूमा पनि पार्थक्य हुनसक्छ। नोकरलाई गलहत्याएर निकाल्दा नोकर रोएको मनको आँसुले बद्लाको भावना लिनसक्छ तर बेहुलीको बिदाको आँसुको मिश्रित प्रतिक्रिया हुनसक्छ। एउटा हो पतिसँग जानपाउने खुशी र करको आँसु। अर्को माइती घर छोड्नुपर्ने बाध्यतामा आफू पराय भएको महसुसपूर्ण आँसु । कैदीको आँसुले छुटकारा पाउनुको अर्थ र पश्चत्ताप दुवै बोध गर्छ भने मृत्युवियोगको आँसु माया छुटेको वियोगान्तको परिभाषा बुझाउने यथार्थको आँसु हो। यस्ता यथार्थलाई देखेर रोइदिने परायको आँसु भने काल्पनिक हो।
बेस्सरी हाँसेर रसाएको आँसु जबर्जस्ती हो औं प्याज काट्दा निस्किएको आँसु डहेको आँसु हो। ठेस लागेर निस्किएको दुःखाइको आँसु हो औ लाउन खान नपुगेर रोएको आँसु गरिबीको प्रतीक हो। यसकारण अर्काप्रति रोइदिएको आँसु देखावटी र क्षणिक हो। जहाँ कुनै सार्थकता रहँदैन। कहिलेकहीं आँसुले अनुहारको - परिभाषा देखाउँछ तर बाहिरबाट शब्दमा पढ्न सकिँदैन। "आज रातभरि गाउँमा - कुकुर रोयो" भन्ने पनि सुनिन्छ तर कुकुरको त्यस्तो रूवाइमा आँसु हुँदैन। त्यो त - कुकुरले झिनो स्वरमा लामो गरी, अल्छीसरी कराएको हो। यहाँ अर्थ लाउनेहरूले - अनर्थ लगाएको मात्र हो। सरकारसमक्ष जनताले समस्याको समाधानार्थ आन्दोलित भई समूहमा विद्रोह गरे प्रशासनले अश्रुग्यास छोड़ी भीड़लाई परास्त/यत्रतत्र गरिदिन्छ औ विद्रोहीहरूको आँखाबाट निस्किएको आँसु जोश र उमङ्गको मिश्रित प्रतिक्रियावादी आँसु हो।
निद्रा लागेर हाइ काड्दाकाडूदा आएको आँसु आराम हो भने भावना उगेलेर कलम रोएको स्याहीको आँसु चाहिँ साहित्य हो। यसैले त होला घटना मिल्न गए पुस्तक पढ्दापढ्दै, चलचित्र हेदहिर्दै मान्छे रूने गर्छन्। आँसु चिन्तन हो। आँसु मनन हो। यसलाई पढ्नसके दर्शन हो। यो तरलकाव्य हो। आँखाका भाकाहरूमा आँसुको भाषा एक गहन अध्ययन गरिनुपर्ने विज्ञान हो। आँखा र आँसुको सम्बन्ध प्रगाड़ छ। मलाई त लाग्छ आँखा त्यो कोही नूर हिरा हो, जसद्वारा भावनात्मक चेतनाको ओश बाफिएर आँखाको डिलबाट झर्ने गर्छ त्यही आँसु हो।
म जिन्दगीलाई खोइ कसरी परिभाषित गरूँ? थुप्रैले जिन्दगी भोगेका छन् र पनि जिन्दगी जन्मिदै हुर्किन्छ। पिरिन्छ, पिरोलिन्छ, रितिन्छ र निशान लाग्छ। कति हो कति जिन्दगी जलिसकेका छन् अनि कति पुरिएका छन्। काम, क्रोध, लोभ, मोह, भय, निर्भय, लेनदेन, धनी, गरीब सबै जिन्दगी नै जिन्दगी।
तप तपस्या, भरोषा यी जम्मै जिन्दगी। तै पनि फेरि जिन्दगी। त्यही गोरेटो त्यही दोबाटाभरि विस्कुन पोखिएसरि पोखिएर कोही रमाउँदैछन् त कोही रून्छन् । आत्महत्या मात्र होइन परहत्या, निन्दा, चोरी त्यसपछि कार्वाही पुनः छुल्याइ। के त्यही जिन्दगी हो? मागेर खानेहरूको पनि त जिन्दगी हो। झन मज्जा कसैको पीर नभएको। जसले जे दिन्छ, त्यही खान्छ। जहाँ पायो त्यहीँ सुत्छ। न त्यहाँ किराया तिरिन्छ न त कानून लाग्छ। बरू एकाध मान्छेहरूबाट कठैबरी, चुकचुक एउटा देखावटी रूपमा दिइरहेको पाइन्छ। सानो क्षणिक माया एकैक्षणलाई। तर ऊ भने पराया हो। थाहा छैन उसलाई कसैले कति माया दिए, दिएनन्। समेट्ने बानी पनि छैन उसलाई निस्ता आडम्बरहरू। ऊ हारेको जिन्दगीसँग या त यो जीत हो उसको। थाह छ, मर्छ ऊ एकदिन। झुप्रो, मैलो कपड़ाको आवरण अलि सस्तो दामको त्यही कफन जो अरू ओड़छन् र ओड़ेका हुन्छन् उसले पनि। फरक यति छ रूँदैनन् कोही पनि ऊ मर्दा किन कि ऊ माग्ने। भन्छन्-ठीकै छ, दुःखै लुकायो। पिण्ड बाटिंदैन उसको नाममा पुनर्जन्म पाउन। पानी चड़ाइँदैन यमराजको अग्निकुण्डमा प्रवेश गर्दा शितल पाउन। प्रार्थना गरिँदैन ईश्वरसँग आत्मशान्तिको कामनामा। खोइ त श्रद्धाञ्जली मान्छेले मान्छेलाई दिएको? के त्यही जिन्दगी हो?
'नमस्ते!' एउटा नसोचेको मान्छेबाट मलाई नमस्ते। मुखले नमस्ते फर्काएँ तर उसका झै दुवै हातका दश औंला मैले फर्काइनँ। किनकि ऊ असारे झरीमा निश्रुक्क थियो, मैलो झुत्रो पहिरणमा। म भने गजवक थिएँ आधुनिक फेशनमा। यसैले घमण्ड मिश्रित नमस्तेको प्रत्युत्तर मेरो उसलाई आडम्बर मात्र थियो। जिन्दगी एउटा गुजारा उसको र मेरो आ-आफ्नै तरिकाले अभिनय गथ्यौँ।
तुलनामा म सभ्य, शिक्षित, तर अभिमानी। ऊ गरीब असहाय स्वाभिमानी। म प्रदर्शन गर्छु प्रत्येक मेरा कृयाकलापहरू अरूलाई र सुन्न चाहन्छु प्रशंसकहरू। मानको भोको छु र नै अपमान सहन्नँ। समाजलाई पस्किएर मैले केही दिएको छैन। पस्किन पनि सक्दिनँ, कारण आफै अपूर्ण छु। यसैले पूर्ण गर्न पराधीन जिन्दगीलाई कसैको अधिनमा निरन्तर दाउमा थापिदिन्छु जुवाको कौड़ीसरह, जिन्दगी बेचेका बेचैन समय।
शरीर बेचेर शरीर पाल्न मलाई धन चाहिएको छ भने माग्नेको पेट पाल्न पनि धन चाहिएको छ। आखिर हामी दुवै माग्ने। धन नै ठूलो। मैले उसलाई किन हो किन निकै बेर हेरें अनि विमुख भएर सोचें "त्यही दर्के पानीमा भिजेको कपड़ासँग बजारको कुनै गल्लीमा सिमेन्टको चिसो पिढ़ीमा भोको पेट अनगन्ती रात काटिसकेको छ। मागेर भिक्षा होइन अपितु गाली खाएर कोल्टे फेरेको कति रातहरू त्यही पिढीलाई थाहा होला। यस्ता थुप्रै माग्नेहरू किन शहर पस्छन् ? म जान्दिनँ त्यहाँ जीवन धान्न कठिन छ। प्रतियोगी हुनुपर्छ। उछिन्न सक्नुपर्छ। त्यसो भए के त्यही जिन्दगी हो? गाउँलाई सोधौं त त्यहाँ सरल मान्छेहरू बस्छन् स्वाभिमानी र इमानदार जिन्दगी जिउनेहरू। आफूले उब्जाएर ठेकेदारलाई भाव सोध्छन् "मूल्य के छ?" भनेर। पसिनासँग बग्दै खिइसकेको सोझो मान्छे उब्जनीको मूल्य आफू तोक्दैन।
उब्जाउने आफू मूल्य तोक्ने अर्को के त्यही जिन्दगी हो? एउटालाई मैले सोधें "के हो जिन्दगी ?" उसले भन्यो- "हैरानी हो जिन्दगी"। उसलाई पनि सायद थाहा छैन जम्मै परिभाषा जिन्दगीको तर अभिनय पो हो कि जिन्दगी। यो संसारको महामञ्चमा उद्घोषकले अघि नै घोषणा गरिसकेर पर्दा हटाएपछि दर्शकहरूलाई मन्त्रमुग्ध पार्न दोस्रो दृश्यको पर्दा खस्न अगि आफ्नो अभिनय प्रस्तुत गरिसक्नुपर्ने नाटक हो जिन्दगी।
कल्पनाका भ्रमित पृष्ठहरूमा मुद्रित जीवनकथा पाठकहरूको बहकाइमा कटिपतङ्गझैँ आफैलाई उड़ाउँदै लैजानुपर्ने यात्रा हो जिन्दगी। भावीको हस्ताक्षर नबुझ्नेहरू भावीले लेखेका भन्छन्। छालाले मोरेको ताबीजभित्र भाग्य पढ्नेहरू रातो मसीले दाग लगाइदिन्छन्, आफै मपाई भएर। काँशी जाने बिरालालाई थाहा छ जीवन यात्राको थकाइ अनि बाँचेर फर्किने मूसालाई थाहा छ भाग्यको बचाइँ।
लट्टाईबाट चुड़िएर चङ्गा नियन्त्रणदेखि बाहिर हुरीको प्रवाहसँग जुइदै कहीं कतै अल्झिन पनि पुग्छ कि या यात्री अल्मलिएको चौबाटो पो हो कि ? खोइ कसको कुरा सुन्नु र यहाँ? आफू एक, विचार अनेक। मदानीको पोहोराले छिलबिल्याएको दहीको ढिक्का फुटेर निस्किएको नवनी र मन्दाग्नीको तापमा खारेर विशुद्ध घिउ जो सधैं दानादार अनि वासनाले परिपुरित छ, के त्यही जिन्दगी हो?
पिउनेहरू पिउनै मजा हो, रित्याइ दिन्छु भन्छन् भने तपस्वीहरू तपस्या हो जिन्दगी भन्छन्। यो पुरस्कारको अभिलाषी भनौं या त सौंख्यको विलाशी। कि त तर्क हो जिन्दगी? कसले किन समस्या नै समस्याभित्र रचना गर्यो। जो आफै ईश्वर मान्छेमा परिणत भएर जन्मिन्छन् रे फेरि मान्छे नै भ्रमित किन ? को ठूलो ? मान्छे कि ईश्वर? आखिर मान्छे नै ठूलो। कारण ईश्वर बन्न सक्छ मान्छे। प्रत्येक मान्छे ईश्वर भए धर्ती स्वर्ग बन्नेछ अनि मान्छेजस्तै ईश्वर र ईश्वरजस्तै मान्छे। हो त्यही पो हो कि जिन्दगी। मान्छे प्रलोभनको छैन अब जिन्दगीलाई कता मोड त? न कसैले कसैको जिन्दगी बुझ्छ न त आफै आफूलाई बुझ्छ।
जिन्दगी नबुझी मर्नेहरू सायद स्वर्गको अन्तर्वार्तामा असफल भएर नरकगामी भएका होलान्। यो भोगाइ पनि सोचेजस्तो छैन। आफैले आफ्नै चरित्र निर्माण गर्न नसकेपछि पहिरो भनौँ या दोभान खोइ कसरी नियालु दर्पण जिन्दगीको। के त्यसो भए फरेब ?? के त्यही जिन्दगी हो?
सांसारिक बन्धन विवाहा, त्यसपछि विवाहले दिएको संज्ञा पति-पत्नी। दुइ लिङ्गबीचको आकर्षण, मन परापर अनि अन्तरको मिलन नै समझदारीपूर्ण स्वेच्छाको अर्थ नै विवाह। यसपछि सँगै जिउने सँगै मर्ने कसम देउराली भाकेर। एक मुटु दुइ धड़कन वा दुइ मुटु एक धड़कन। यी दुवै पति-पत्नीका परिचायक हुन्।
असल पति-पत्नीमा हुने गुण जाहेर गर्नुपर्दा एउटा गाड़ीको दुइवटा पहिया पनि भनिन्छ। पत्नीलाई पति र पतिलाई पत्नी दुवै जीवनका अतृप्त रमाइला क्षण हुन्। यहाँ आपस्तको खाँचाको आवश्यकता महसुस हुँदछ। चिरकालसम्म जीवनरूप यात्रा सजाउनु छ।
पति-पत्नीको मोह हो सन्तान। यिनीहरूको पालन पोषण गर्नु पति-पत्नीको नैतिक जिम्मेवारी हो। दुवै सहयात्री, सहपाटी भएर समस्यामूलक जीवननदीमा नाविक रूप कार्यप्रणालीलाई सरलतासँग लानु हो। पत्नीलाई अर्धाङ्गिनी (आधा अङ्ग) पनि भनिन्छ। पति-पत्नी आधाअङ्ग हुन् भने दुइ नदीको सङ्गम पनि हो।
पति-पत्नीको अर्थ हो घरको निर्माण हुनु, शुरू या थालनी। भनाइ छ विवाहपश्चात् फलाना/फलानीको घर भएछ। अर्थात् त्यहाँ एउटा अटंल विश्वास छ कि अब दुइजना मिलेर गरिखाने छन्। वास बस्ने घर एउटा थलो हो। टुङ्गो छ, म त्यो छानोमुनि बस्छु। एउटा आरामगृह। तर त्यो कच्ची होस् या पक्की। किरायामा बसेनि के भो ? प्रेमरहित महलमा सम्पन्नता पनि विपन्नता हो। बरू झुप्रैमा बसुँ तर प्रेम भए जीवन सफल हुन्छ। जीवन भोगाइको मिठास हुन्छ। अपितु पति-पत्नीको चरित्र असल नभए दाम्पत्यजीवनको त्यो घर तोड़िन कतिबेर लाग्छ र? भनाइ छ कसैको-
Wealth is lost nothing is lost
Health is lost, something is lost
but Character is lost, everything is lost.
यसोस्ले चरित्रको निर्माण जीवनको पर्खाल हो, जसले सामाजिक कुदृष्टिबाट बचाउँछ। एकार्काको विचार पारदर्शी र भावना पवित्र भए उमेर बितेको थाहा हुन सायद। तरूणी-तन्देरीदेखि मध्य यौवन एवं वृद्धअवस्था जीवनको अन्तिम मोड़सम्मसँगै जिउन पाउनु भाग्य हो। जीर्ण अवस्थाको छुटानाम र अस्तीको प्रणयसूत्रभित्रको दूरत्व एउटा क्षितिज हो जो देखेर भेट्न सकिन्न। यो अवस्था अति करूणामय र टीठलाग्दो हुन्छ। यो संसार हो यसलाई केही दशी / निशानी छोड़ी राख्नुपर्छ। खानु-लाउनु मात्र जिन्दगी होइन। स्वार्थदेखि केही हटेर निस्वार्थ भावना जीवनको अनमोल क्षणबाट उबारेको मूल्यवान समय पति-पत्नीद्वारा समाजप्रति खर्चित गरे मृत्युपछि पनि बाँच्न सकिन्छ। आफ्नु लागि मात्र सोच्नु भनेको आफूपछि अस्तित्व गुमाउनु हो। यसैले मलाई देवकोटाको कविताको त्यो कुरा याद आयो।
त्यो यस्तो छ-
'जिन्दगीको मौसम रहँदै खनखन दिलको खेत बाँझो नहोस् पानी पर्दै चेतनजल शुद्ध सफेद'
उमेरमा केही गर्न नसके, बुड़ेसकालमा एकाध मान्छेहरू यसरी कुरा काट्लान-
'उमेर हुञ्जेल हल्यो, बुढ़ो भएपछि डल्यो।।’
यसर्थ उमेरमानै दुवैजनाको तनमन मिलाएर केही गर्नु भनेको नै आगामी समयको सञ्चय कोष खड़ा गर्नु हो। आवश्यकताअनुसार त्यसलाई चलाउन सकिन्छ।
जीवनमा कसैले जित्न नसक्ने विषय हो मृत्यु। यो सत्य छ। जो जन्मन्छ, त्यो भर्छ। दुइजनामा जब एक चुड़ाउँछ। तब त्यो विछोड़ भोग्नेहरूले कसरी सहेका होलान्। मर्दका हजार गोठ भए पत्नीका पनि सय गोठ होलान् हिजोआज। यी भनाइहरू गोठाले प्रभृतिका हुन्। यदि यसै गर्नथाले सभ्य समाजको कल्पनासम्म हुँदैन। यो त बिनारसको आहान मात्र हो। कति यस्ता विषयहरू हुन्छन् जसलाई समाजले मान्यता दिन्छ तर आफ्नो गल्तीले आफैलाई पिरोल्छ। एउटा बल्ब जल्नलाई पनि दुइ छुट्टै फेसहरू चाहिन्छन्। सत्यवानको मृत्युबाट सावित्रीले बचाएकी थिइन्। कारण यहाँ प्रेम थियो।
पति-पत्नी जसले आफन्तको परिचय (साइनो) साटेका हुन्छन्। त्यो परायाले पूरा गर्न सक्दैन। यहाँ सुखभोग र आन्तरिक वेदनाहरू जो कालान्तरसम्म रहन्छन्, त्यो आपस्तमा आधाआधा बाँड़िएको हुन्छ।
प्रणयको प्रेमसूत्र अझ कसिलो हुन्छ। जीवन प्रेममय बनोस् अनि यो तरल प्रेमपन मदिरा बनोस्। जति तृष्णा उति प्रेमको मदिरा मीठो तर भट्टीको नाशवान रक्सी होइन ताकि प्रेमको उपहास गरोस्। त्यो मदिरा जीवनको आदर्शमय अलिङ्गनमा आत्मीयताको शितल छाँयामा बाँच्न सकोस् र शान्त रहोस्। एउटी केटी र एउटा केटाको प्रणय नै समाज प्रवेशको मान्यता हो। राष्ट्र र कानून दुवैले बैद्य ठहराएको 'प्रणय प्रकृतिको नविनीकरण हो। प्रत्येक वसन्तमा नयाँ फूल फुल्छ र प्रत्येक वैशाखमा मुना पलाउँछ। नाशवान संसारको नाशवान, तर सचेत प्राणी हो मान्छे। सृजनाकार ईश्वर पनि आफ्ना सृजनाको पवित्र प्रसिद्ध जीवन मान्छेलाई देखेर आफू पनि मान्छेकै अवतारमा जन्मिएका रे। यसोसले मान्छे कस्तो हुनुपर्छ त्यो मान्छेकै निर्णयमा हुनुपर्छ।
संस्कृतमा एउटा यस्तो भनाइ छ–'पूर्वजन्म सूयोनारी, पूर्वजन्म सूयोधन। अर्थात् पूर्वजन्मको कमाइकै आधारमा वा यसलाई यसरी बुझौँ, अघिल्लो जन्ममा जे जति दान धर्म आदि गरिएको थियो सो मुताबिक धन अनि अघिल्लो जन्ममा जो पत्नी थिइन् ऊ नै यस जन्मकी श्रीमती। स्त्रीहरूलाई घरकी लक्ष्मी भनिने चलन यथावत् छ। घर, सम्पत्ति आदिको देखरेख र संरक्षण गरिने मृदुभाषी, पत्नी अति शुशिल/शिलस्वभाव असल भएकी, नारीशुलभ गुण लक्षणयुक्त नै लक्ष्मी हुन भने पति समस्याहरूको समाधान या प्रोटेक्शन गर्ने वरिष्ठ सदस्य हुन्। नारी नै सर्वमान्य भएर होला हामी धर्तीमाता, गौमाता, दुर्गामाता, सरस्वतीमाता, लक्ष्मीमाता, प्रकृतिमाता नदीनाला, देवीथान अनि कामेर जोखाना भन्ने, आसेउसे गर्नेदेखि जन्म दिनेसम्म माता मान्छौँ। तरै पनि कतिले पुरूष प्रदान देश वा पितृसतात्मक भन्छन्। आफै पनि हामीमाझ समझदारीता कायम हुनसकेको छैन । घरमा बोलिने भाषामा पनि आमाबाउ भनिन्छ। यसैले आन्तरिक कलह ल्याउने खालका शब्द व्यवहारमा ल्याएर के फाइदा होला। यहाँ नारीसतात्मक र पितृसतात्मक भनिनुपर्ने केही छैन। पति-पत्नीको सम्बन्धनै असल छ। पति सती/जोइपोइ/लोग्नेस्वास्नी / बुड़ाबुड़ी जे भने पनि एउटा परिचय हो।
'आफू भलो जगत् भलो', 'जोइपोइ मिले सबै ठीक।' 'जोइपोइ एक मेरो नाक देख' वा 'लोग्ने स्वास्नीको झगड़ा, परालको आगो' भन्ने उक्तिहरू नभएका होइनन् ।
आज पनि हाम्रा नारीहरू शिक्षित छैनन्। भए पनि नैतिक शिक्षा छैन आडम्बरी शिक्षाले पुरूष स्त्री दुवैलाई संस्कार र संस्कृतिदेखि विमुख गर्दैछ। जे होस् आमा शब्द धेरै महत्वपूर्ण शब्द हो। काखकोखदेखि सन्ततीको हेरचार अनि भविष्यमा कस्तो परिपाटीले जिउनुपर्छ त्यो सबै आमाद्वारा नै सम्भव हुन्छ। परिवारको सिङ्गै अभिभारा गृहिणीलाई पर्छ। त्यसैले स्त्रीहरूको निम्ति शिक्षा नितान्त आवश्यक छ। एउटी नारी शिक्षित हुँदा समस्त परिवारलाई फाइदा पुग्छ भने एउटा पुरूष शिक्षित हुँदा स्वयम्लाई मात्र फाइदा पुग्छ। नारी शिक्षा छन् - 'ऋणकर्ता पिता शत्रु माता शिक्षा पराडमुखी पत्नीकै कर्कशा शत्रु, पुत्र शत्रमु अपण्डित।' अर्थात् परिवारको लागि ऋणैऋण थुपारी दिने पिता शिक्षा नभएकी आमा, झगड़ालु स्वास्नी, मूर्ख छोरो यिनीहरूलाई आफ्नै दोषले परिवारमा शत्रुको जस्तो संज्ञा दिन्छ। प्रसङ्ग फेरूँ-पति-पत्नीको सम्बन्ध जन्मैदेखि हुँदैन। यौवनमा स्वेच्छाद्वारा जोड़ी बाँधिने बन्धनपछिको साइनो हो पति-पत्नी। यो सम्बन्धलाई मृत्यु शब्दले छुट्याइदिएपछि आफूले पाइने विविध परिचयमध्ये पत्नी मरे विधुर र पति मरे विधवा भनिन्छ। यसरी मृत्यु वियोगले सम्बन्ध विच्छेद गरे पनि सम्बन्ध पुनः कायम गर्न पत्नीले समयअनुकूल रहे औ इच्छा भए पुनर्विवाह गर्ने गर्छन्। एकपल्ट दाम्पत्यजीवन यसरी तोड़िएपछि त्यहाँ सुख-दुःखको भोगाइ र विछोड़को बेदनात्मक पीड़ा छातीमा अल्झेको हुन्छ। त्यो घाउ पुनर्विवाहको महलमले थकाउन सक्दैन तर व्यावहारिक रथ दौड़ाउनपर्ने बाध्यताको आवश्यकता मात्र पूरा हुन्छ।
अन्तरको पीड़ा जलन हो। घूँवारहित अग्नि जलेर मनको ओश वाफिएपछि कहिलेकाहीँ सम्झनामा आँखा रित्याएको हुन्छ। यहाँ वियोग + वियोग = योग भए तापनि जीवन भोगाइका दुखाइहरू यादमा परिणत भएर कल्पनामा आलो भइदिन्छ। सुख भनेको सम्पति धेरै हुनु र राम्रो घरमा मीठो मसिनु खाँदै बस्नु मात्र होइन। राम्रो घरमा नराम्रो व्यवहार भए त्यो केवल दिवासपनासरह हो। तर पति-पत्नीको वियोगभन्दा अघिको प्रेममय प्रणय नै सुख हो। सम्पति सकिए पनि प्रेमले साथ दिएको हुन्छ। यसैले दरवारको सुख छोड़ेर सीता पनि रामसँग बनवास गइन्।
पञ्चभौतिक शरीरलाई दाह गरिने काँचो दाउराको नदी किनारको अनौंठो स्वभावको तर भावुक अश्रुमिश्रित असजिलो दाउराको राश चिता। माया छुटेको दिन, जलाई सकेर बिर्सिदिएर फनक्क फर्कीआएको त्यो निष्ठुर क्षणको सृजना गरी सबैलाई दुःख दिने अनि अर्काको रोदन देखेर खित्का छोड़ेर हाँसिदिने तँ पाजी। उसको नरकङ्काल वा शरीरको बनावट र अन्य गुण अवगुणको अनुसन्धान गर्न पाइँदै नपाइने तँ व्याध नामको अग्नि जलेको चिता।
तँ थरीथरीका मान्छेहरूका मासु आगाको रापिलो दनदन दन्किरहेको रापमा सेकाउँदै खान्छस् र धाकसँग हुरहुरी जल्छस्। शाकाहारी, मांसहारी, लुलो, लङ्गडो, बुड़ो, धर्मी, पापी, कलिलो, आधाबैशे, राम्री नराम्री, वैद्य - धामी, परोहित, पण्डित, राजा, रङ्क, नोकर, ज्ञानी, मूर्ख आदिआदि तैले सबै खाइस्। तरै पनि तँलाई अघाएको ह्वासह्वास्ती नरमांस गनाउने डकार मान्छे आएको छैन। अझै लपलपाउँदैछस् पैसाले नअघाएको मान्छे जस्तो। मेरा सम्पूर्ण पूर्वजहरू पालैपालो खाइस्। बिरालाले मूसा ढुके जस्तो ऐले नै मलाई नढूक। किनकि यो संसारलाई मैले केही दशी छोड़िराख्नु छ। संसारले मलाई यतिका दिन साथ र शरण दियो। गुणको बद्ला मैले पनि दिनुपर्छ। अहिले जा बरू सुनिराख उमेर पुगेका काम नलाग्नेहरू जस्ता बेकामेहरू जेसुकै गर तर जताभावी, जोसुकैलाई नचला। अँ सून मेरो हितैषी मित्र, आफन्तहरू, साथीसँगी तैले खाइस्। सत् रज तम गुणीहरूमध्ये सतगुणीहरू खाइस् र रज र तम चाहिं उबारिस्। सत्य, त्रेता, द्वापर कलिको पालैपिच्छे (पछि) खाइस्, खाँदैछस्, अझै खान्छु भन्दैछस् तर मान्छे मात्र होइन कटुस, चिलाउने, गोगुन, चिउरी, सिरिस, सखुवा यस्ता असङ्ख्य वनसम्पदा खाइस्। भनौं भने एउटा ठूलो निकुञ्जनै सखाप पारिस्। कति घिउ, तोरी साल धूप, अगरबत्ती अनि कपुर खाइस्। त्यति मात्र कहाँ हो र हजारौं गाड़ीको टायर जलाइस्, मट्टितेल टीनका टीन कति उड़ाइस् र पर्यावरणलाई पनि दूषित तुल्याइस्। लाखौं शिशुका आमा खाइस्, करोड़ौं सन्तान दरसन्तानका बाबु खाँदै रमाइस्। कतिकतिका लोग्ने खाएर विधवी बनाइस् भने धेरैका संरक्षक खाइस् र टुहुरो बनाइस्।
ठेलीठेली लेखिए। प्रहरी चौकी धेरै खटाइए। सजायको निम्ति काराबास बनिए। हातकड़ी ठिङगुरा- अपराधीकै लागि बनिए तर तँलाई न कसैले कानून गयो न त हिरासतमानै राखी कार्वाही अगि बढ़ायो। स्तोत्रमन्त्र रोगीको मासु सकिएर चाउरिएको छाला पनि चम्म चपाइस्। न धर्मको डर न त कर्मको। घाउ पिपसरिको सड़ेको, गलेको, कुहिएको सबै आनन्द मानिकन खूब खाइस् औ न वाक्क मानिस् न घिनले थुकथुकी लागेर थुक्क थुकिस्। 'ॐ मणि पद्म ओमा हुँग्', मन्त्र सुन्दै त्यसको सारतत्व केही नबुझी लाश खरानी बनाइस् अनि ग्यालिङको सुरिलो कोकिलकण्डको राग सुन्दै डाँडैभरि लुडदरको पाप पखाल्ने समीरको शितलस्पर्शमा आफन्तहरू धरधरी रुवाइस्। ठूलाठूला झरी बादल निर्झर सावनको वर्षादमा कुन रात कुन दिन त्यो साँझको बेला या त ब्रह्म मुर्हत बिहानीको कसैको कुनै बिन्ती नसुनी निष्ठुरी भई ज्वालैज्वालामा खरानी बनाइस् । नदीको तटैभरि तराइमा तेरा आफन्तहरू बोलाएर कहिले अनि खोला-खहरेको दोभानैभरि मुस्लामुस्ला धूवाँ उठाई अनगन्ती शरीर जलाइस्।
आजसम्म जतीजले पनि तिनको अवशेष खरानीको पहाड़ बनिनुपर्ने। हड्डीका टुक्राटुक्रीहरूको चट्टान बनिनुपर्ने अचम्भ यो छ। तैंले कसरी भष्म गराइस्। कोही ओसार्थे दाउरा, थप्दथे तेल घिउ तर तँ... हाँस्दै ठट्टा गर्दै रुवावासीको अनुनय विनय नसुनी मतवाला भइएको हो। एकोहोरो शड्ङ्खको अश्रु मिश्रित करूणस्वरमा आफ् गतिलो भई खूब मजाले चपाइस्। कति मीठो तरूण-तरूणीको पोटिलो मासुको रस आँसुको नूनिलो घुट्कीसित खोलाको ढुङ्गामा बसीबसी खाइस्। सानातिना कुमार-कुमारीको नवनीसरी कलिलो शरीर त्यो एकैक्षणमा नै भष्म गरिस् । कठै! ती बुढीआमै सयवर्ष बाँच्छु भन्थिन् भने हजुरबाले यस्तै नब्बे पञ्चानब्बे बसन्तसम्म उमठमै चले। ठीकै छ लैजा। शरीर पनि कुप्रो थियो, बाँच्ने रहर सकिएर काल पर्खिरहन्थे। तर बालक साना, रहर कति बाँच्ने थियो तिनको, तेरो बानी यस्तै छ सोरसार पार्ने नानीको।
डाक्दैछस् गाउँघर घुमीधुमी तँ कसैको बिछोड़ गराउन लुब्धो भएर लुतुलुतु कुखुरा चोर्न स्यालजस्तो। कानसुत्ले लाग्दै हिँड्दैछस् करेसो र पिढ़ी हुँदै। तेरो नाङ्गो मञ्चको नाट्य अभिनय गर्न गराउन हमेशा खाली नहोस् भन्ठान्छस् बगरको एकान्त। खोलाको सुसाइमा तीव्र नाँदको क्रन्दन मिश्रित पलको क्षण पूरा गर्न।
जब मुखमा राल आउँछ विरक्ति नलिई कसैमाथिको खौराएर कपाल,.. एकसरो सेतो कपड़ामा आत्मा पूजारी भएर माघको चिसोचिसो स्पर्श गर्न नसकिने पानी धारामा कट्कट् दाँत किट्दै, कामेर मृतकको कृया गराउँदैछस्, टुहुरोको संज्ञा दिलाउँदैछस्। लोग्नेको मृत्युपछि सँगै जिउने सँगै मर्ने अर्धाङ्गीनि पत्नीका लोग्ने खाइस्। तुच्छ प्रहारले अशिक्षित समाजको संज्ञा हृदयभित्र विष्फोट गराउँदैछन् तँ लाज पचेको मकचरो चिता। तेरो नाम बगर हो बगर। निशाचरहरू खेल्ने ठाउँ, स्याल, कुकुर, गिद्ध रमाउने र बेतालहरूको अखाड़ा। चिहानघारी, शमशानघाट, मुर्दाहट्टी जस्तो अपवित्र उपनामहरूले चिनिन्छस् तँ। साँच्चै नै हो रहेछ तेरो नाम चिता। जस्तो चिताउँछस् त्यस्तै गर्छस् र तँ चिता...।
श्रद्धा श्रद्धाञ्जली भावपूर्ण आँसुको वर्षादपछिको बिदाई, एकथाक दाउराको असजिलो बिछ्यौना 'चिता'। शमशान घाटमा चिलाउने, कटुस, उत्तिस, फलेदो, खुमारी, भकिम्लो, चेकराशी आदि विविध काठहरूको पाँचदेखि साततले चिता, एउटा पञ्चभौतिक शरीर दाह गर्न। लाश जलन क्रियामा जुटाइनुपर्ने थप सामग्रीहरू, शालधूप, अगरबत्ती, घिउ, तोरी, मट्टितेल र टायर पनि। सबै मलामीहरू र हितैषीजनको भावुक क्षण त्यो दिन। शत्रु नै भए पनि आफूले सोच्नुपर्ने कि मेरो पनि यस्तै अवस्था हुनेछ, कमसेकम मलामी जानु नै पर्यो। दुःखको महसुस गरी आत्मीयता दर्शाउँदै विचरा... कठैबरी...चुकचुक... जस्ता विस्मय दर्शाउने खालका थुप्रै शब्द एवं मलामीको नैतिक समर्थन 'मट्टी'। हतार छ... टाढैबाट वेपर्वाह वेवास्ता अर्काको टाउकोमाथि खन्याएर बिदा। श्रद्धाञ्जलीस्वरूप काठका तीन टुक्रा समीधाको रूपमा र छत्तीस अञ्जुली पानी मृतकको आत्मशान्तिको लागि। चितामाथि आहुति दिई ईश्वरप्रति प्रार्थना मलामीको कर्तव्य ।
भनिन्छ-जलाइनेहरूलाई काठका तीन टुक्रा, मट्टीस्वरूप र खाड़लमा दफन गरिनेहरूलाई एकमुठी माटो दिइन्छ। आजभोलि कतै हामीले हाम्रो रीतिरिवाज, संस्कृ ति र हाम्रा पुख्र्यौली चिन्हारी बिर्सिएर आगन्तुक नकारात्मक, नमिल्दा फेशन, रसविहीन बोलचालका भाषा आदिमा फँसेर जबर्जस्ती अत्याधुनिकताभित्र घुसेर यथार्थ बिर्सिएका त छैनौं?
आजको एक्काइसौं शताब्दीको वैज्ञानिक विचार भएका हामी मान्छे संजीवहरूमा सबैभन्दा सुन्दर भएर होला कहिलेकाहीँ निराकार रूपबाट परिवर्तित भई मान्छेको रूपमा जन्म लिएका छन्। जसको उदाहरण प्रस्तुत गरिरहन नपर्ला। हामीचाहिँ यथार्थ छोड़ेर मानव विकासक्रममा अन्धाधुन्ध दौड़िरहेछौं।
हामीले हाम्रा रीतिथिति, धर्म संस्कारहरूको सम्बर्द्धन र सुरक्षा गर्दै बौद्धिकताको आधारमा अघि बढ्दा हुँदैन र? एकापट्टि आफैले आफूलाई सभ्य सम्झन्छौं भने अर्कोपट्टि प्रदूषित वातावरणमा बाँचिरहेका छौं त्यो पनि अल्पायु र रोगी भएर। ऐशश आराममा दिन बिताउने इच्छा भएका हामीहरूले यो विश्वनै उजाड़ बनाउन त थालेका छैनौं? हामी शिक्षित भयौँ कि अशिक्षित सोच्नुपर्ने समय आएको देखिन्छ।
चेलीबेटीहरूको बेचबिखन, बालकहरूको अपहरण र आतङ्कवादले जताततै विस्फोट। एकजना सन्तले आशिष दिन्छन्- "आयुष्मान भव, दीर्घजीवी भव", तर कुन दूर्घटनामा कतिबेला मृत्यु हुने हो त्यो आशिष हाम्रै कारणले हामीलाई सम्भव भएन। अरू प्राणीहरूमा कलियुग आएको छैन तर मान्छेलाई मात्र किन कलि लाग्दैछ। कतै हाम्रै भूलभ्रान्तिले गर्दा पछिकाहरूले हामीलाई पनि महेोदरो र हरप्पामा जस्तो कोट्याएर निकाल्नु त पर्दैन होला। वनसम्पदाको कुरा गरौं भने यसको विनाशको कारण मान्छे नै हो। वनको संरक्षण गर्न हामी मान्छेहरूको साझा जिम्मेवारी पर्दछ। सरकारको मात्र मुख नहेरेर विभागीय कर्मचारी, शहर तथा ग्रामीण हामी सबैथरिका नागरिकहरूका विचार र मन्थन गरी एकजना मान्छे बाँच्नलाई जम्मा एघारवटा वृक्षहरूको आवश्यकता पर्छ भने करोड़ौँ मान्छे बाँच्नलाई कति वृक्षहरू चाहिन्छ सोचिहेरौं। वनजङ्गल हाम्रो प्राण हो भन्ने जान्दाजान्दै पनि हामीले त्यसको अवहेलना गरी तिरस्कार गरिरहेछौं। यसरी हेल्चेक्र्याइँको फलस्वरूप विश्वको तापक्रममा वृद्धि Global warming लाई निम्त्याएका छौं। भारतवर्ष जस्तो पूण्यभूमिमा ऋषिमुनिले तपोवनमा तपस्या गरी भूत, वर्तमान र भविष्य जान्दथे र उनीहरूद्वारा लिखित चार वेद्, उपनिषद्, औषधिशास्त्र र विज्ञानको सृजना भएको सत्य साबित छ। बरू आज हामीले के नै गयो र?
पृथ्वीको गर्भमा ईश्वरीय शक्तिद्वारा रचिएका मूल्यवान खनिज पदार्थ र प्रकृ तिमा भएका मूल्यवान पौधा र वृक्षहरूको उपभोग गरी सभ्य मान्छेको संज्ञा दिइरहेका छौं। वैदिककालमा लेखिएको पुराण र वेद्हरूमा वृक्षहरूलाई यसरी मानिलिइन्थ्यो-
'इन्धनायं सदानीतं अग्नि होम तदुच्यये
छाया विश्राम पथिकै पक्षिणाम निलयेनचः ।।
पत्रमूल त्वगादिभिर्य औषधायांतु देहिनाम।
उपकुर्वन्ति वृक्षस्य पञ्च यज्ञ र उच्यते ।।'
(बराह पुराण- १६२-४१४)
अर्थात्-जलाउँदा ईन्धनको काम गर्ने, अग्नि बालेर होम गरिने, बटुवाहरूलाई शीतल छाया प्रदान गर्ने, पक्षीहरूलाई ओत लाग्न या वास बस्न अनि त्यसको पात, बोट, जरा बोक्राहरूद्वारा मानिसका लागि औषधि हुने। यी पाँच प्रमुख कार्य वृक्षद्वारा गरिने हुँदा पनि वनसम्पदाको रक्षार्थ मानव समाज मूकदर्शक रहनु विनाश निम्त्याउनु मात्र हो।
यो भारत नेपाल पूण्यभूमि, जहाँ सीता र सावित्रीजस्ता थुप्रै आदर्श आमाहरूको यो जन्मथलो। ऋषि, महर्षिहरूका तपोभूमि औ 'गङ्गा, जस्ती पवित्र नदीको सिञ्चन, श्री कृष्णको वाणीस्वरूप श्रीमद्भागवत गीता, गौतम बुद्धको बोधिवृक्ष पिपल। यी नै वृक्षलता, देवी देउराली वरपिपल र विविधि पौधाहरूको देवतुल्य ठानेर पूजा गरिने चलन पनि आज आडम्बर मात्र भयो। ईश्वर र प्रकृतिको पक्षबाट भावना हटेपछि मानिस हरेक नौलानौला रोगहरूको शिकार भयो। वैदिककालमा वृक्षलताहरूलाई सम्मान गरी पूजा गरिने मन्त्र यस प्रकार छ-
'मूलंब्रम्हात्वचाविष्णु
शखंशंकर एवं च।
पत्रं पत्रं देवतानाम ता
वृश्व राज नमस्तुते।।'
(हितोपदेश)
अर्थात् ! वृक्षको ब्रह्मरूप हो त्वचा वा बोक्रा विष्णु रूप, एवं हाँगाहरू शङ्कर या शिवरूप साथै प्रत्येक पातहरूमा ईश्वरको नाम छ। यसर्थ यस्ता वृक्षराजलाई नमस्कार छ। यसरी यदाकदा भनौँ देखावटीको रूपमा देवीथान, पानीको मुहान र नागहरूको पूजा गरिन्छ, तर आस्था र विश्वास राखेर पूजा एवं यिनीहरूको संरक्षण गरिदा हाम्रो निम्ति लाभदायक छ। पौधाहरूको जोगाड़ गरिनु औषधिको जोगाड़ गरिनु पनि हो। यसैले भारतीय मूलको वैदिक सभ्यता साँच्चै रोचक छ।
वन्यप्राणीहरूको रक्षाले हामीलाई नै मान्यता दिएको छ। सर्पको मणि, व्याघ्रचर्म, कस्तुरीबिन्दा, भालुको पित्त, गैंड़ाको नाभि र खाग आदि हाम्रा सम्पत्तिहरू हुन्। तर आज एकाको फाइदाको पछि यिनीहरूको सङ्ख्या नगन्यदेखि लोप हुन गइरहेछ। धनी कुबेरसम्म भयो तर गरीबले भरै के खाने भनेर पुर्पुरामा हात लगाएर सोच्नुपर्दैछ। मानिसको चेतना नै नैतिक पतन भए आडम्बरी शिक्षा के काम लाग्ला? आज विश्व तातिँदैछ भन्ने कुराको नैतिक जिम्मेवारी मान्छेले नै लिनुपर्छ।
आज प्रचुर मात्रामा कलकारखानाबाट निस्कने धूवाँ, जङ्गलको विनाश, बम-बारूदको विषाक्त धूवाँ एवं स्वच्छ परिवेश बिथोल्ने खालको विविध पदार्थहरूको जलन र जङ्गलको विनाशबाट उत्पन्न प्रकृतिको शुद्धता हनन् भएर पानीको मुहानहरू सुक्नु नै ब्ल्याक्होलमा जाने कारणहरू हुनसक्छ। पृथ्वी ब्ल्याक्होलमा जानुपर्दैन तर मान्छे स्वयं विनाश हुनु नै ब्ल्याक्होल हो भन्नुमा के दुइमत होला र?
हाम्रो अगि आइरहेको ठूलो वा महासङ्कट Global warming र यसले निम्त्याएको कारणहरू, हठात् जलवायु परिवर्तनको प्रभाव। दिन प्रतिदिन गर्मी (उष्णता) को वृद्धि। "लु ! ज्यादा मात्रामा लाग्नु।" शिखरहरूमा हिमपातको कमी। अचानक मौसम परिवर्तन। घना वृष्टिपात हुनु र खोलानालाले बाड़ीको रूप लिनु।
खड़ेरीको अधिक प्रकोप र वर्षा कम हुनुको कारणले फसलमा ह्रास आउनु। जलस्रोत पानी उम्रने क्रिया घट्नु। कतिपय झारजङ्गल र जीवहरूको लोप हुनु। भल पैह्रोद्वारा जनधनको ठूलो क्षति एवं वन जङ्गलमा आगलागी इत्यादि हुनुको साथै ज्वरो, खोकी, हैजा, घाउ खटेराहरूको बढ़ोत्तरी। उपर्युक्त विषयहरूबाट जोगिन केही हदसम्म हामी सबैलाई प्रकृतिप्रतिको माया हुनु आवश्यक लाग्दछ। सबै मिलेर जीव संहार हुनबाट बाँच्न बौद्धिकतालाई नै एकतामा ल्याए पुग्छ। यस विषयमा सबै सङ्घ-संस्थान र विद्यालयतिर शिक्षा दिइनु उपयुक्त होला एवं पर्यावरणको सुरक्षा नै हाम्रो सुरक्षा हो। नत्र विश्व नै हामी सबैको साझा 'चिता' बन्नेछ।
कुकुर एउटा गृहपालित पशु मात्रै होइन तथापि परिवारको एक सदस्यक रूपमा लिन सकिन्छ। उसले दिएको चौकीदारिता र स्वामीभक्ति अर्थात् मालिकप्रतिको सदव्यवहार, आज्ञाकारीतापन एवं ज्यादै सन्तुष्टि देखाउनु कुकुरको धर्म हो। पशु भएर पनि विश्वासिलो औ परिआए निडर। भनौँ भने कुनै ठाउँमा मान्छेभन्दा आदर्श भाव भएको अनि तीव्र घ्राणशक्तिवाला। यस्तो श्रेष्ठ पशुलाई किन कुकुर शब्द प्रयोग गरिएको हो त्यो म जान्दिनँ। तर रीस उठ्दा मान्छेले मान्छेलाई पनि कुकुर भनेर गाली गर्छन्। जे होस् यहाँ कुकुरसम्बन्धी परिचय लेख्न जरूरत लागेन। कुरा के भने मान्छेको चरित्रमा पनि घटनाक्रमको आधारमा आँच आउने र शाब्दिक दोष लाग्ने भएको हुँदा यसको बगाइ त्यता गएको एउटा काल्पनिक भावको हुँड़ीखेल नै हो।
प्रथम बसन्तदेखि यो बसन्तसम्म हाम्रो कुकुर उम्किएको कुरा मैले चालै पाइनँ। कसैले मलाई भनेनन्। किन भनेनन् त्यो उनीहरू नै जानून। यतिका दिन यसरी कुकुर उम्किएर जाँदा मैले पनि चाल नपाउनु मेरो हुस्सुपना हो भन्ने कुरा सहजै स्वीकार गर्छु। आफू सानै र विवेकहीन रहेछु, किनकि आफ्नो कुकुर र अर्काको कुकुरको स्वर छुट्याउन सक्दिन थिएँ। बानी कस्तो भनौं बासीभात पटक्कै नखाने तर साजी भनेपछि हुरुक्कै हुने। मासु छाकै पिच्छे चाहिने। निकै ठूलो खोराक थियो अरे त्यो भोटे कुकुरको। भेंड़ीगोठबाट ल्याएको बच्चा (छाउरो) कहिले घर नछोड़ेको। ठूलो स्वरले भुक्ने, स्याल पटक्कै नखेने बरू मान्छेलाई भने निकै गुर्रगुर्र गरेर आँगनमा पाइलै राख्न नदिने। जान्ने बुझ्नेहरू हातमा केही लिएरै आउँथे अरे। सौगात हातमा देखेपछि पुच्छर हल्लाउँथ्यो भन्थे, भने रित्तै अउनेलाई सालै चुड़ाएर टोक्लाजस्तो। कालोकालो निक्कै बलियो, कान लामो र पुच्छर झ्याम्म भएको तिखो आँखा। भद्दा देखिए पनि फूर्तिलो शरीर। खानमा हुरुक्कै हुने अनि खान पाएपछि लम्पसार परेर सुत्ने। गाउँले कुकुरहरूसँग चालचलन नै नमिल्ले, एकोहोरो खालको। भुकेपछि भुक्यो औ चूप लागेपछि त्यहीँ छेउबाट कुखुरा लाँदा पनि नभुक्ने। त्यसको नाम अँग्रेजीमा राखिएको थियो भन्थे। सबैले टाइगर भनेर बोलाउँदा र खानेकुरा देखाउँदा मात्र उठ्ने बानी भाको अरे।
गाउँको खैरी, पाडरी, सेती, काली कुकुरनीहरूसँग बस्न रूचाउने अनि पाडरे, सेते, काले कुकुरहरू देख्यो कि त टोक्ला जस्तो गर्ने तर तिनीहरूले ल्याएको हड्डी चाहिँ पालैपालो मिलेर चिथोर्ने। बड़ा अनौंठो मिजाज भएको कुकुर। कहिलेकाहीँ छेवैबाट जाँदा पनि केही नगर्ने। अनि यसरी ढुक्क परेर अर्कोचोटि जानलाग्दा उफ्रेर छेत्रबाट चौसरी कहिलेकहिले डाँडैडाँडा भुक्दै हिँड्दा गाउँका अरू बुलडगहरू पनि चुपचाप बस्थे अरे। फेरि भुस्याहा कुकुर र बुलडग भुक्दा ऊ चुपचाप बस्थ्यो भन्थे।
रातभर भुकेर निद्रा बिथोल्दा गाउँकाहरूले विलौना गरे पनि आखिर उसको बानी त्यही हो। कोक्राको नानीदेखि सेतै फुलेकाहरू कसैलाई पनि सञ्च थिएन भन्थे। यो त म सानैहुँदाको कुरा तर म जान्ने भइकन पनि यस्तै बेजोड़ कुकुरहरूको डरले एक्लै दोक्लै हिँड्दैन थिए मान्छेहरू। हिंस्रक स्वभावको भएपछि मान्छेहरू भन्थे - 'तिम्रो कुकुर बौलाएछ, मारी हाल नत्र टोकिदेला नी। एक दाँतको हजार जरिमाना तिर्नुपर्छ। हुन त होला तर कसरी पकड़िएर मार्नु?
बन्दुक हान्ने हुकुम छैन। त्यो पनि बिनालाइसेन्स राख्नु भएन। हाने पनि पूरा विवरण बुझाउनुपर्ने। सोझो सिधाले नियम उलङ्घन गर्नु भएन। हुकुम मागुञ्जेलमा कुकुर भाग्ला। मारिहाल्न पनि सकिन्न रहेछ। किनकि त्यो साहै स्वामीभक्त थियो। छाउरादेखि हुर्काएको भएर होला आजसम्म एक लौरो हानेको छैन। ढुङ्गाले नलाग्ला, लागे पनि कति पो काबु होला र? लौराले हानु भने आइलाग्ला। औ जेसुकै होस् यदि बहुलाएकै रहेछ भने पनि एउटा होशियारी अप्नाउनु पर्ला भनेर "कुकुरदेखि सावधान" लेखेर आँगनको प्रवेशद्वारानेर राख्न लाए। यसो गर्दा पनि बाहिरबाट घरमा आएका पाहुनाहरू काका, मामा, मीतबाउ, सम्धीहरू थुप्रै डराउन थाले छन्। अस्ति नानीको भातखुवाइमा निम्तारूहरू कोही आएनन् तर अपसोस कुकुर भने घरमा थिएन। मैले चाहिँ 'कुकुरले टोकेर रेबीज नलागोस्, उनीहरू सतर्क बुसून्' भनेर लेखिदिएको मात्र। आफू जरीमानामा नपरियोस् भनेर। के गर्नु र कुरा अर्कै भएछ। काग तिहारकै दिन एउटा दैनिकमा खबर छापिएछ "फलनाकामा कुकुर बहुलाएको हुनाले महानुभावलाई त्यहाँ जान निषेध गरिन्छ" भनेर। आफू विशेष काम लिएर कलकत्ता जानपरेकाले अखबार पढ्न पाइएन।
पर्सिपल्ट लक्ष्मीपूजाको दिन आइपुगेर घर सजाएँ, ममबत्ती बालें, पटेका पड़काएँ। साँझ पर्यो। अब यसो भैलेनीहरू आउँछन्, गफसफ गरिन्छ, टाइमपास पनि हुने भनेको त... एकहूल भैलेनीहरू त्यतैबाट फर्किएछन्। देउसे कोही पनि आएनन्। तिवार महा खल्लो भयो। भाइटीकाको भोलिपल्टदेखि कुकुर खोज्ने अभियान शुरू भयो। डाँडापाखा, पखेरो, भीर, खोल्सा-खाल्सी, नदी, बगर, अर्काको घर, करेसो र शहरका गल्लीगल्ली। प्रहरी चौकीतिर खबर गरियो अनि स्थानीय दूरभाष केन्द्र र आकाशवाणीबाट समाचार प्रसारित गरियो। पाउनु हुने महानुभावलाई नगद रूपियाँ एक हजार एकसहित आफ्नो मोबाइलको नम्बर सम्पर्क टुङ्गो छोड़ियो।
आज यतिका दिन बितेर जाँदा पनि कतैबाट जानकारी हात लागेन। समयले पर्खिने काम गरेन। बाउको पालोदेखि आफ्नो पालोसम्म त्यसले सतारह्यो। न अरू छाउराछाउरीहरू ल्याएर पाल्नै सकियो। न त हराएको कुकुर नै भेटियो। हुन त भेटेकै भए पनि के पो गर्नु र? एउट माखो नमार्ने कुकुर। यता गाउँमा पाडरी, सेती, काली कुकुरहरूले थुप्रै छाउरा ब्याएछन् तर सबै छाउराहरू दूध नपुगेर लुते, बोकामे भूस्याहा भए। त्यही पनि मान्छे देख्यो कि त सुटुक्क भाग्ने। मान्छे गएपछि दैलोभित्रबाट बेस्सरी भुकेर के नै गर्ला जस्तो गर्ने। “धोबीको कुकुर न घरको न घाटको भने जस्तो।" न पाल्नु कुकुर पालेपछि हाँसुले र पाँडुले जस्तो भा पो।
अँ त्यो दिन अचानक घरको वरिपरि चाल गर्यो। गाई, बाख्राहरू तर्सिए। राती कुखुराहरू अतालिए। आफू पनि ढुकढुक भएछु र हातमा टर्चलाइट लिएर बाहिर आएँ। चालचोल थिएन। के होला भनेर सिरक ओडेर सुत्यौ। नभन्दै भोलिपल्ट दिउँसो दश बजेतिर अखबार पढ्ने सौभाग्य मिल्यो। हेरेको त बड़ो रङ्गीन चित्रसहित लेखिएको रहेछ 'हराएको कुकुरको शव उद्धार गरियो' त्यसपछि 'कुकुरदेखि सावधान' लेखिएको बोर्ड पनि हटाएँ। यसरी दिक्क भए पनि कुकुर पाल्ने बानी हट्न सकेन। मोबाइलमा पैसा कम थियो। फ्री कल सकिएछ। तैपनि एउटालाई मिशकल गरें, तर तत्कालै कल ब्याक गरेर "हेल्लो भन्यो।” मैले भनें- "हेल्लो, कतै तपाईंहरूका गाउँमा राम्रोखाले कुकुरको छाउरा पाइन्छ?" उत्तरमा भन्यो- "हल्लो डाँगो कि छाउरी?" यताबाट भने "भरसक डाँगो।"
जम्मा दुइसय दशमा एउटा छाउरो पाइयो। उसले भन्दै थियो- "घण्टा सोम यति दाम त फोक्टा हो नी", तर उसले चाहिँ चोरेर ल्याएको रहेछ। भन्दै थियो - "ओ लगिहाल ल, देख्यो भने मार्छ।"
जे होस् मलाई चाहिएको कुरा होइन कुकुर हो।
बड्दै गयो ठूलो भयो। खाएर चुपचाप सुलु उसको कुकुरको धर्म हो। तर सुत्दा उसको आँखा चिम्म छ कि छैन थाहा नहुने। अनुहारमा अघिल्तिरका भुत्लाहरूले आँखा छोपेपछि हेर्दैछ कि निदाएको छ पत्तै नहुने। निदाएको छ भनेर छेवैबाट जाँदा झम्टिने अनि झम्टिन्छ होला भनेर सुटुक्क जाँदा मस्त निदाएको हुने।
हठात् .... पिउनले एउटा खैरो लिफा थमायो। च्वात्त च्यातेर सरर्र पढ़ें। अघिलो कुकुरको पोस्टर रिपोर्ट आएछ। "कुकुर रेबिज लागेर मरेछ।”
वास्तवमा सपनाहरू सुतेर निद्रित अवस्थामा भोग्य विषय वस्तुमाथि अनि आत्माद्वारा देखिएका चित्रहरूको प्रदर्शनी नै हो भन्न सकिन्छ। राती सुतेर देखेको पनि प्रहरप्रहरका छुट्टै फल पाइन्छ रे तर दिवासपना या दिउँसो देखेको सपनाको कुनै अर्थ हुँदैन भनिन्छ। जे होस् आफू सपनाविद् भएर त्यसको अन्वेशन गरिरहेको छुइनँ।
यो सपना त्यो हो, जो घटित घटनाको काल्पनिक पात्रपात्रा माथिको यथार्थ चित्रण हो। मान्छेको समाज पितुर्के हुन्छ। यो पितुर्केपन हटाउनलाई मन विस्तृत / फराकिलो हुनुपर्छ। फराकिलो मनमा समाज, राष्ट्र दुवै अटाउन सक्छ तर सङ्कुचित मनको साँगुरो मानसिकतामा एकले अर्कोलाई शोषण गर्छ र जीवन धान्नै नसक्ने सोझा तर इमानदार मान्छेको श्रेणी बनिन्छ। पार्थक्य गरेर श्रेणी विभाजन भएकाहरू गरीब हुन्छन् एवं तिनको मौकिलकता स्वत हनन हुन्छ।
यहाँ सपना एउटी गर्भे टुहुरी छोरी हो। त्यसको जन्म यसरी हुन्छ 'छोरीको जन्म हारेको कर्म' मानव समाजले गरेको अघिल्लो पृष्ठको वर्गीकरणमा जन्मदै शोषण गरेको पाइन्छ।
धेरै वर्षपछि सन्तान हुन्छ कि भनी जेठीलाई माइत पुऱ्याइराखेर कान्छी ल्याएको थियो। न भन्दै कान्छीले लोग्नेलाई एकदिन सुटुक्कै भनिछ- 'कोनी है आज सपनामा त भात छरिएको अनि काक्राको बियाँ पो देखेकी थिए नी।’
छोराको बाबु हुने रहर बोकेको एउटा पुरानो ट्याक्टरको चालक ओहोरदोहोर दैनिक तीनचार घण्टा सोलिङमाथि ट्याक्टर थेचारिएर एकातिर, अर्कातिर धूवाँ निस्किने चिम्नीको झर्को लाग्यो भेटेटे आवाज।
वर्षेनी चाड़बाड़मा केही प्रतिशत बोनस, आइतबार हकछुट्टी अनि रिटायर बसेपछि प्रयाजुएटी। बस यतिनै जिन्दगीका जम्मै अभिलाशाहरू/आवश्यकताहरू/टायर खिए जस्तै खिइसके स्ट्रिङ चलाउने हातहरू। चिम्नीको धूवाँ जस्तै उड़दैछ समय, तेल निखिएसरी निखिंदैछ शरीरको कार्यक्षमता। अब ईन्धनरूपी शरीरको ट्यूब पम्चर नभइदिए अझ केही वर्ष थापिने थियो बोनस। मनको लड्डु घीउसँग खाँदै थियो त्यो चालक। साहेब नयाँ आएछ कड़ा छ अरे, पोहोर परारको बड़ासाहेबभन्दा पनि कड़ा। कामदारी, मन्शी बाबुहरूले कुरा गर्दै थिए। अब त ओभरटाइम पनि गर्नु अरे। कम्पनीलाई नोक्सान लागेको छ अरे। विघाको भिन्नै, डेलीको भिन्नै तौलाउँछ। छिः चामल पनि कति खस्रो हौ। त्यही माथि आँटा रातो न रातो। रोटी पटपट फुट्छ। कसरी यस्तो खाएर काम गर्नु हैं। यसपाली त बरसादी र गमबुटको पनि पैसा काट्छ अरे। चार/पाँचवटी महिलाहरू कुरा गर्दै छेवैबाट गए। हुन पनि तिनीहरूको आपस्तमा गर्ने अन्य सम्वाद नभएकैले मनमा लागेका कुरा गर्ने गर्छन् एउटा बाटो कटनि तर सत्य तीतै पनि त हुनसक्छ। ट्याक्टरको पूर्जालाई त्रीपालले राम्ररी छोपिराखेर मन्शीबाबुलाई आज्ञा माग्दै घर आएर डोको र हँसिया लिएर जंगल पस्छ। खैनीको धूलो राम्ररी टक्टक्याएर फाँको मारेपछि गोगुनको रूखलाई छोएर ढोग गर्दै चड़छ।
स्वास्नीले यी जम्मै अभिभारा लिन सक्दिन बरा दोजिया छे। पौष्टिक आहारको कमी छ, ऊ ज्यादै कमजोर देखिन्छे। फाकफुक पनि लगाको। हेर्नेले नराम्राले बिगारेको भन्थे। डाक्टर पनि देखाएको, दवाई खाँदेछे। कतै छोराको बाउ हुन पाउँछु कि यसपाली भन्ने चाहन्छ लोग्ने। यदि छोरो भएछ भने नम्बर किनेर काममा लगाउँछु र म चाहिँ छुट्टी बस्नुपर्यो। बरू एक माउ गाई र दुइचारवरा खसी पाले भने नानीको महीनावारी स्कूल फी पुगिहाल्छ। यसपाली चपराशीको छोराले गाउँमा नै अंग्रेजी स्कूल खोल्ने कुरा हुँदैछ नेपाली स्कूलमा हालौं भने... मनमा लच्छेप्रै कुरा खेल्दै थियो। खुट्टामा दुइ/तीनवटा जुका ढाड़िएछन्। खैनीको रस थुकिदियो। घाँसको भारी बिसाएर टोपीले पसिना पुछ्यो। स्वास्नीले मायालु भावको प्रदर्शनीस्वरूप तातो दूध पस्किएर मलिन अनुहार चिहाउँदै थोरै मुस्काइन्। दूधको घुड्की लिंदै कल्पना आकाशमा मनको चङ्गा उड़ाउँदै सुकुलमाथि एकक्षण ढल्की दिन्छ दोसाँधको जिन्दगी।
घर पास भएछ। यो सँग जम्मा हाम्रो धुरामा तीनवटा बनिने अरे। अब मात्र अलिक पक्का घरमा बस्न पाइने भो। उसले मनमा दिउँसो कामदारीले भनेका कुरा कुनै एउटा सानो बालकले परीक्षाको बेला पाठ रटेजस्तो रदै थियो- 'बत्ती पनि पास भएछ, अब झिलिमिलि हुने भो' थकाइहरू सम्झनामा समेटेर अनन्तमा विचरण गर्दै थियो ट्याक्टरको दिकदारी। कसले हो भन्दै गयो कसाबाट 'भोलिदेखि कमान बन्द अरे साहबलाई कुटिदियो अरे।' ऊ क्रमशः भन्दै गयो "सालाहरू कस्तो बदमास, अब बर्बाद भएन र" शब्द गुञ्जिरह्यो। भर्खरै भविष्यको कल्पना र योजना मनको पन्नाभरि लेखिसक्दै थियो तर ठूलै बाड़ आइदियो। लथालिङ्ग बनाइदियो मनले सजाएको खेतबारी।
खाना तयार भएको निधो चुल्हाबाट प्रसारित हुन्छ। आर्जनअनुसारको भोजन, जो दानादानासँग पसिनाको मूल्य तोकिएको हुन्छ तर त्यहाँ एउटा आनन्द छ त्यो हो खाएपछि विश्राम गर्न पाइन्छ। अनि अर्को एउटा हर्ष छ, किनकि पेटमा एउटा सन्तान हुर्किदैछ। पति / तत्नी थपाथक गर्दै रूचे जति खाएर जुठो भाँड़ो धोएपछि गाउँकाहरूसँग केही समय व्यतितका फिका गफ र वर्तमानका निस्ता विषयको तर्क वितर्क। रात निकै लामो छ। पानसमा तेल सकिएछ, रातको दश बज्यो लौ अब सुतौं। बस्नुहोस्को आदान प्रदानपछि निद्राको बाहुपासमा दुवै। रातको सन्नाटा छाउँछ। कुकुर भुकेको बाहेक चुपचाप छन् प्रत्येक घरका रातहरू अनि झिनो आशामा घुरघुराउँदैछ सपना।
विश्वकै सुप्रसिद्ध चिया फल्ने उर्वरभूमिको उर्वर मनसायले फॉड़फुड़ गरिवरि करिबन १८५६ देखि दार्जीलिङको आलुबारी, ब्लुमफिल्ड आदि ठाउँतिर चियाखेती सपार्ने पूर्वजहरूको सन्तान दरसन्तान चियाबारीले खियाउँदै लगे पनि आफ्नो घरघड़ेरी नभए पनि कमसेकम कम्पनीले काम गर्न र बस्न दिएको छ। यदि छोरो जन्मिएछ भने अलिक पढ़ाएर मन्शीसम्म चाहिँ बनाउँछु तर छोरी पाइछ भने हुर्काएपछि अर्कैले लगे पनि साक्षर पारिदिन्छु। मैले जोगाएको/बचाएको केही सम्पति खाएर मरेपछि किरिया गर्ने एउटा अधिकार चाहिन्छ नै। कोल्टे फेर्दै, सिरानी घरि अग्लो त घरि होचो पार्दै निद्राले साथ नदिएको रातका प्रहरहरू सुस्त बढ्दै थिए। सुत्नै पर्छ आजको रात भावीसन्तानको काल्पनिक जिम्मेवारी अनि सुत्नै पर्छ एक निद्रा ट्याक्टर चलाउनु भोलि।
लुटी ल्यायो भुटी खायोः कमान बन्दको बिरमाइलोपन र काम खोज्न कतै जानैपर्ने पेटको बाध्यता। विकलाङ्गको बैशाखी जस्तो भाग्यलाई समेटेर शहर पस्छन् दम्पति। हिजो स्वचालित ट्याक्टरको चालक आज मानवचालित ठेलागाड़ीको चालक। ठेलागाड़ीको वजन थाप्लाले बल्ल थामेर साहुको किरायादार कटेरामा सुस्केरा भरिदिन्छ मौनता। पुरपुरामा हातको टेवा लगाएर मनमा उठेका भावहरू आफ्नी एकमात्र परममित्र या हितैषी उसकै पत्नीसित शब्दमा व्याख्या गर्दैछ यस्तरी- "परिश्रम गर्नेहरू भने झनझन गरीब तर ठगेर खानेहरू चाहिँ अमीर। हे दैव !! अब सोझा र इमानदाहरूको जमाना सकिएछ। कमान बन्द हुनाले आज 'धेरै खान जोगी भयो, जोगी भएको भोलिपल्ट भोकै भयो, भने झै भयो', 'जुन जोगी आए पनि कानै चिरेको', शहरमा पनि काम मात्र लाउँदा रहेछन्, ज्यालामा धेरै ठगेर हैरानै पारे। हामी इमानदर भएर नढाटी सत्य बताउँछौं र उनीहरू हेप्छन्। हाम्रो नमस्ते पनि थाप्दैनन् तर मै हुँ भन्नेहरूको दुइ औंलीको हेल्लो थाप्छन् र खाफिला गफ गर्छन् "चोरलाई चौकी सिधालाई बेत" भने झैं। भोट आयो कि साम्यवाद र समाजवादका दर्शन छाँटछन् मात्र तर उपयोग हुँदैन।
यिनीहरूकै शोषणको शिकार भएर यतिका वर्ष खटाएर पुऱ्याएर खाने आदत बसी गो। अब कमान खुलियो भने पनि हामी जस्तालाई काम देला र?
तीतो सत्यता बेहोरेको अनि खुनमा भए जति पानी पसिनामा बगाएर परिश्रम गरी साधारण खानेकुरा जुटाएर खान पनि महलमा बस्नेहरूको रूखोगाली सहनुपर्ने, ..। एउटा कम्बल र एउटा धुसा चारप्रहर रातको सपना संसार ओड़ेर भोलिको बिहानले भेट्ने सुतिदिन्छन् दुइ मुटु। कुखुरी काँ भालेको प्रहरप्रहरले सूर्योदयको सङ्केत त दिए तापनि निद्रा पर्न सकेन। सोच्दासोच्दै उज्यालो हुन्छ अनि बासी तोषरोटीसँग नून हालेको कालो विश्वप्रसिद्ध चियाको टर्रो घुड़की घुट्घुट् पारेर सन्तुलित आहारको तृष्णा मेटाउँछन्। ऊ श्रीमतीतिर पुलुक्क हेरेर ठेलागाड़ीलाई ईश्वरस्वरूप ढोग गर्दै बजार पस्छ।
निकट भविष्यको जीवन धान्ने रूपरेखा कल्पनामा तयार भइसकेको छ उसको। यसैले सधैं भन्दा अझ गह्रौं भारी खोजेर निकै धनार्जन गर्नुपर्ने बाध्यताले आज ठेलागाड़ीको वजन बढ़ेको छ।
निधारमा वजनले थिचेको चपेटमा चिट्चिट् पसिना टाउकामा नाम्लाको निष्ठुर वेदना, खुट्टामा लाहुरेहरूले माया गरिदिएको कानपुरे बुट अनि आङ न्यानो राख्न लुकुनी। यस शहरको हत्पत् समाधान नआउने समस्या पानी। झोड़ाको पानी बोकाइले आज कमाइ निकै भएछ जम्मा चारसय अस्सी। 'लोग्ने स्वास्नीप्रतिको चोखो प्रीति त गरिबी घरानामा नै हुन्छ' भने झैँ यी दुवैको चरित्रले व्यक्त गर्छ। एक केजी खसीको मासु र दुइ केजी वासमति चामल लिएर घर भित्रिन्छ। अहो ! आज उनीहरूको प्रथमचोटि र प्रणयशुत्रको इतिहास आलो भएको छ अनि आजकै रात एउटी फूल फुलेकी छ काखभरि। म पनि झसङ्ग ब्यूँझिएछु। आहा! कस्तो मीठो सपना।
Everything in nature contains all the power of nature. Every-thing is made of one hidden stuff. (अज्ञात)
प्रकृति ? हो त त्यही प्रकृति। जो सुन्दर थियो तर कुरूप बनिदैछ हो त्यही प्रकृति। कति र कस्तो प्रकृति अनि किन प्रकृति ? सकारात्मक कि नकारात्मक प्रकृति? कृत्रिम कि यथार्थ? प्रत्येक प्रकृतिका छातीभित्र रोमान्टिक र भौतिकवादी मान्छे फेरि मान्छेका वशमा प्रकृति? हेरिरहेका आँखाका नानीभित्र प्रकारप्रकारका जीवित नक्साहरू एवं अविस्मरणीय कला, जो थियो र छँदैछ। आँखाद्वारा खिंचेर मनको बाकसभित्र अटेसमटेस सजाउन सकिने। कवि झुमेको कविता फुलेको वन तपोवन। सङ्गीतका जम्मै सरगम, सुर, ताल, लय अटाएको विशाल साम्राज्य। बोकेर गह्रौं भएको कल्पना हुँदै नहुने। विशाल चैतन्यको साम्राज्यमा उर्वरक निमेष निमेषका हेराइहरू हेरेर तृष्णा कहिल्यै पूर्ण नहुने स्वादिष्ट भोजन प्रकृति। धेरै खाइरहँदा पनि अपच र बिसञ्च नहुने। बसिरहँदा/घच्घच्याउँदा/पिरोल्दा पनि न्यानो दिने आमाको मायारूप काख। हो त्यही काखको न्यानो डसनामा मेरो झुप्रे घर। भूइ कुइरो हटेपछि मेरा नेत्रद्वय दगुरेको टुंड़ीखेलहरू कति विस्तृत छन्। तृष्णा छ तर चिसो पानी पनि छ, आत्मिक भावविभोर आत्माहरू अध्यात्मका अन्वेषक पनि भइसकेका छन्। प्रत्येक आँखाका नानीभित्र तस्वीर खिचिएर नाङ्लो जत्रै सूर्य जलेको उष्णता प्रतिबिम्बमा मक्ख परेर जीवन जिउने पलपल यो परिवेश्को शीर्षक प्रकृति।
मलाई बोलाएर रोएका आँसु पुछिदिँदै अल्मल्याउँछिन् यी आमा। चरि फुलिदिन्छन् फूल भएर घरि बोलिदिन्छिन् गीत भएर अनि उड़िदिन्छिन्। चैत-वैशाखमा सिमलको भूवा भएर। अथक नृत्य छ चरी भएर डालीमा। तर ताल चुकेको छैन। छैन विश्राम रातहरूमा देखिँदैन निद परेलीमा। न खुशीमा हाँस्छिन् तरूणीडौं खित्का छोड़ेर न त रूँदछिन् अफसोसमा हिक्का उनेर। प्रत्येक कोकीलकण्ठहरूमा उदयमान छन् तिनका झ्याउरेलयका मीठा गीतहरू। बाँसको शिर झुकेको लाजले हावाको नुपुर र पाउजुको झन्कार पोथ्राहरूमा। उसै राम्रो बिहानको शीत टल्किएको नाकको फुलि। कति विध्न राम्री अनि सारै शान्त छौ आमा तिमी।
खोइ के ले सजाउ म ? के छ र दिउँ म? मेरो हातको चिनो यदि तिमीबाट छुट्टिएर गए भने। मैले यतिका दिन पिरोले मात्र भाव/मर्म बुझिनँ। नसेलाएको चुल्हो जस्तै छ आमा तिम्रो काख। मगमगाएर सुगन्धले आनन्दित छु। यति धेरै मलाई खुशी राखेर मैले गुणको बद्ला के पो चुकाउन सकूँला र। लेखेर शब्दहरूमा कति पो अटाउन सकूँला म। तिमी झरनासँगै खस्दछे र खहरेसँगै छालहरूमा तरङ्ग भएर बहिदिन्छे। आत्तिदैछ मेरो कलमको शाब्दिक बाछिटाहरू। वर्णन गर्न शब्दले नपुगेर हुत्तिदैछन्। मतवाला भएर भावनाहरू मलाई कुरी कुरी लाग्छ। शरम पचाएर कुपुकुपु खाँदैछन् मेरा इच्छाहरू, तिमी जे पस्किन्छेउ त्यही।
तिमी जादु हौ कि जननी? मोहनी मन्त्रहरूले मलाई परास्त पारेर डोऱ्याई लाँदैछौ कतै। म विवेक नचिन्ने बलियो हाती। माहुते भएर मोहनी डोरीले मेरोगला घिस्याएर मेरा तह नमिलेका कृयाकलापहरूलाई कुनै एकान्तको शान्त घरभित्र लगी सम्झाउँछौ। नाँच्न सिकाएकी छौ छम्छम् घुँडगुरू बाँधेर पाउहरूमा तर ताल चुक्दैछ नचाइमा। दर्शकका सयौँ आँखाहरू म उभिएको मञ्च अघि यो महान् रङ्गशालामा हेरिदिन्छन् बेस्सरी। पुरस्कारको होड़ जित्न एउटा बेहोसी हँसाई। कानेखुशी हुँदैछ मेरो निम्ति ती पुरस्कार। हिँड्दैछु बेठेगान पाइलाहरू भड्खारातिर ओरालिँदैछन् - कहिले अनि माझी भएर ढुंगा खियाउँदै किनारा खोज्न जाँदैछु मात्र तिम्रै इसारामा-गाड़ारातको नावीकसरह आकाशको ध्रुव हेरेर।
यदि समुद्रमा ज्वारभाटा आएन भने अनि तुफानले हुत्याएन भने मङ्गल बचन बोलेर साइत जुराएरै हिँड्रेको हुँ म। ग्राहले धक्का नदियोस् साथै दाबिलो भाँचिएन भने गन्तव्य पार गर्ने छ। चिरायुको आशीर्वाद दिनोस्। पानीमाथि हिँड्ने मेरो ओभानो आशा र लक्ष्यभरि पुगेको हेर्न जलकमल भएर वरिपरि फुल्न पठाइदेऊ स्वर्गका परीहरूलाई जो दृष्टिगत तिम्रा बेजोड़ सृजनाका नाट्यशालामा सोह श्रृङ्गारले नाच्ने गर्छन्। मनभित्र देखे जति सबै अटाउन प्रायः तिम्रो र मेरो विचर मिल्दोजुल्दो छ, तर म क्षणिक तिमी पूरक, म विस्मय तिमी प्रस्तुति, म ढाँचा तिमी यथार्थ। खाली आत्माले खोजी ल्याएको शान्त्वनामा मेरो अन्त्य। यो दृष्टिगत सपनाको करोड़ौँ तारा नक्षत्रको त्यो आकाश जहाँ मुर्दा हुनअघि नै मरमाइरहेको छु। तिम्रो काखको साझा चिता प्रत्येक मेरा साइनोवालाहरूको शयनकक्ष हो। मैले मलाई नै खरानी बनाएर फेरि फुल्न माग्दैछु कोपिलाबाट। देशको सपुत भएर फेरि युद्ध लड्ने छु, परास्त पार्नेछु शत्रुहरूलाई। यसपल्ट हारे पनि पुनर्जन्ममा जित्ने छु, परास्त पार्नेछु। काख रित्तिएपछि आमाहरू शोक गर्छन् तर तिमी किन सुर्ताउदिनौ किन निस्ताउँदिनौ ? लछारपछार भइसक्यौ प्रकृति तिमी। यसरी सहँदासहँदै प्रलय हुँदिनौ कतै ? मण्डपमा फन्को मारिरहेकी दुलहीसरह फन्को मारेरै आखिर सुन्दर छौ। आफ्नै श्रृङ्गार ओखाइपोखाइ छ तैपनि शाब्दिक माला एउटा भेट मात्र। "Perfect beauty is its own sole end" (अज्ञात)।
शब्दहरूले पुगेनन् मलाई बरू म कलमको जम्मै स्याही पन्नाभरि छरिदिन्छु अनि भनिदिन्छु आधुनिक चित्र। छक्क परून् आलोचक समालोचकहरू। स्याहीका थोपाथोपाबाट झिकेर लेखून तिम्रो अतुलनीय महिमा अनि पश्चत्ताप गरेर स्याहरून् अब जन्मिनेहरू ताकि गणित नमिलेका सूत्रौँ अल्मलिएकाहरू। नभए झिल्काहरू समेटिएर जलिरहेको आगो हौ तिमी। वाष्पित कणकणबाट थोपा भई फेरि वर्षाद एवं आयु अलङ्कार र औषधि हौ। आँखालाई चालिसे नलागेसम्म टिठ्याउने छन् मेरा फुर्सद। जहाँसम्म तिमीलाई हेर्न सक्छु अनि तपाईलाई मभित्र छ्याप्प राखेर अनन्तको निद्रा सुतिदिन्छु।
सपना हेरेको हुन्छ बादलको सतहबाट अनि भनि दिन्छु यस्तरी सरोबर र तलावका किनाराबाट जलेवा भई उड्दै थियौ। कुनै सूर्यास्तको रातो घाममा पसिनै पसिना थियौ, रिसाएकी थियौ। खड़ग लिएर दुर्गा जस्तै, क्रोधको हुडकार र शङ्खनाद गर्दै थियौ। गर्जिएर हाम्रो सातो उड़ाएकी थियौ। त्राही त्राही थिए मान्छेका बस्तीहरू। पहराहरूमा क्षेप्यास्त्र, ब्रह्मास्त्र फ्याँकेर बिद्युत झिल्काहरूको प्रकाशमा चट्याङको कर्णविद्रोही शब्द सुनेर जम्मै इन्द्रियहरू स्तब्ध थिए। मैले सोचे तिमी बौलाही छौ क्यार तिम्रा शिथिल शरीरभरि पैह्रोहरू थिए। पैरोभित्र चित्कारित मान्छेहरू छट्पटाउँदै थिए। स्वयम्सेवीहरू वृद्ध-बाल-बनिताहरूको उद्धार गर्दै थिए। सानै खहरे झोड़ा पनि टिस्टाौँ थिए। आइला आइला शोक र खुशीको मिश्रित आइला। रानीको चिरफार गरिएको विभत्स कहानी। अहो हे आमा फेरि प्रत्येक बिहान त्यही हाँसो लिएर क्षितिजबाट पुलुक्क चिहाएपछि टुप्लुक्क बल्याँसीमा आइपुग्छौ। बारूद गनाएका फोहोर, मैलो मिश्रित वायु धोएर स्वच्छ कोशेली बिहानको स्पूर्ति मलाई समीर हम्किन्छौ। तिमी कहिल्यै कुरूप नभइदिए पुग्थ्यो अनि अन्त्यमा एक वाक्य लेख्दैछु। आमा प्रकृति नै जीवनको अनमोल प्रसाद हो र जसले पनि उपभोग गर्न सक्छ।