वर्तमान समयमा कथा के हो? भनेर सोध्ने र कथाको परिभाषा दिइरहनुपर्ने आवश्यक्ता पर्छ जस्तो मलाई लाग्दैन। पाठकहरू राम्रा कथालाई मनमा लिएर सदाका लागि हृदयमा बचाइराख्दछन् । जस्तो अलेक्सेइ तोल्सतोय, मेक्सिम गोर्की, मुन्सी प्रेमचन्द, शरदचन्द, ओ हेनरी, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, रूपनारायण सिंह, गोविन्दबहादुर मल्ल ‘गोठाले’, भवनी भिक्षु, इन्द्रबहादुर राई, शिवकुमार राई, भाइचन्द्र प्रधान, सानु लामा, गुप्त प्रधान, शरद् छेत्री, वीणा हाङ्खिम, साङ्मू लेप्चा, सूरज धड्कन, सञ्जीव छेत्री, प्रकाश हाङिङ्खम, सन्ध्या आचार्य आदि। यी बाहेक पनि अनगिन्ती राम्रा कथाकारहरूका कथा छन्, जसका कथाहरू हाम्रा मानसपटमा र स्मृतिमा सदा अल्झेर बसिरहन्छन् । कथा सर्जकहरू कथालाई जिवन्त दिन कथाका देश काल परिस्थिति, सामाजिक औ राजनैतिक स्थिति आदि अनुसार श्रेष्ठ कथा सृजनातर्फ लागे अवश्य कथाले कथाकारलाई चिरकालसम्म बचाएर राख्दछ। कथा लेखनको सत्य यही हो कि ! भन्ने मलाई लाग्छ।
कथाको विषयवस्तु टिप्न धेरै टाड़ा जान पर्दैन तर हाम्रै वरिपरि दिन प्रतिदिन घटिरहने घटनाहरूबाट नै कथा बनाउन सकिन्छ भन्ने धेरैको धारणा छ। हुन पनि यस्तै आफ्नो वरिपरि घटिरहेका घटनाहरूप्रति पाठकको जिज्ञासा रहिरहनाले यस्ता कथाहरू समयअनुकुल र पाठकको हृदयग्राही पनि बन्न सक्छन्। तर कथा उत्कृष्ट हुनु नहुनु कथाकारको शिल्पकारिता, इमानदारिता, शैली र भाव पक्ष औ कौतूहलतामा निर्भर पर्दछ। हुन त कथा हिजोआज पुरानै ढाँचामा मात्र नलेखिएर कति नयाँ-नयाँ ढङ्गमा र छोटोमा पनि लेख्न थालिएको छ। यसको कारण शायद कथाकारका आफ्ना आफ्नै प्रयोग र ढाँचा मान्न सकिएला तर यस्ता कथामा कथाकारका मनसायचाहिँ प्रष्ट नभई कथा लेखनको उद्देश्य तथा मर्मदेखि पाठक अनभिज्ञ पनि रहन सक्छन् । यसैले कथाकारले सबै दृष्टिले सचेत भएर कथा लेख्नु जरूरी हुन्छ।
कथा धेरै प्रकारका हुन्छन्। सामाजिक, राजनैतिक, ऐतिहासिक, मनोवैज्ञानिक आदि। कथाको क्षेत्र पनि दिन प्रतिदिन फराकिलो हुँदै जाँदैछ। फेरि विश्व पनि एक सूत्रमा बाँधिएर सञ्जालमार्फत् संसारका कुना कुना पनि घरको आँगनजस्तो भएर आउँदा संसारका विभिन्न कथाहरू जान्न र बुझ्न सकिन्छ। यसै सन्दर्भमा भनौँ नेपाली साहित्यमा पनि कथाहरू डायस्पोरिक समुदायबाट पनि नयाँ-नयाँ र विभिन्न अनुभूतिबाट निर्माण भएका कथाहरू पढ्न पाउँछौं। अन्य भाषाका पनि उत्तिकै श्रेष्ठ कथाहरू पढ्न पाउँछौं। यी भए कथाका कुरा।
यसरी कथा एउटा व्यापक विषय हो। हाम्रा लेखक-लेखिकाहरू सर्वप्रथम कविता, कथाबाट नै जन्मेर अघि बढ्छन् र पछि ठूला-ठूला साहित्यकार बन्न पुग्छन्। यो सत्य पनि हो। यसैले कथाकारहरू हामी हाम्रो समाजमा ठूलै हाँचमा पाउँछौं। कथाले हामीलाई जुन अन्तरङ्ग तृष्णा मेट्दछ र आनन्द भर्दछ त्यसको वर्णन गरेर साध्य छैन। नेपाली साहित्यमा यस्ता धेरै कथाकारहरू छन् जो कथा लेखेर प्रसिद्ध भएका छन्। उनीहरूलाई हामी सदैव श्रद्धाका दृष्टिले हेर्ने गर्दछौं।
अब हामी कथाकै हाँचको कुरा गर्दा यस ‘दोछाया’ कथा सङ्ग्रह र यसका कथाकार मुक्तिनाथ शर्मा ‘शोषित’ को कथाकारिताप्रति चर्चामा आऊँ। मुक्तिनाथ शर्मा ‘शोषित’ मूलतः कवि, गजलकार र निबन्धकार हुन्। यसैले उनी प्रबुद्ध साहित्यकार हुन् । उनका साहित्य यात्रा दीर्घकालदेखिको छ र उत्तिकै चासो र सेवाभाव पनि। साहित्यमा पनि उनको लगन, उनको मिहिनेत र योगदान कम आकलन गर्न सकिँदैन। समसामायिक निकै स्तरीय पत्र-पत्रिकाहरूमा उनका कथाहरू अघिदेखि नै प्रकाशित हुँदै आएका हुन्। यसपल्ट भने उनले साहित्यलाई भेरी नै चढ़ाउन कथाको सँगालो पुस्तकको रूपमा लिएर आएका हुन्। यस सङ्ग्रहमा जम्मा २० वटा कथाहरू समावेश गरिएको छ भने यो ११२ पृष्ठको छ। सङ्ग्रहका प्रायः सबै नै कथाहरू सामाजिक पृष्ठभूमिमा लेखिएको छ। एकाध कथा भने दार्जीलिङको आन्दोलनकालमा नेपाल पसेर बिताएका दिनहरूबारे लेखिएका छन्। उनका कथा सरल छन्, सरस छन्, विषयवस्तु पनि सामान्य ग्रामिण जीवनकै अधिकांश छ र समाजले भोग्न परिरहेका दुःख-कष्ट, पीर-कर्मा नै देखाउँदै आफ्ना कथा शिल्पलाई झल्काउने काम गरेका छन्। कथाहरू छोटा-छोटा छन्, कथाको विषयवस्तुमा कति ठाउँ लाक्षणिक शब्द र वाक्य प्रयोग गर्दै कथालाई उठान गरेर अन्त्य पनि गराएका छन् । यसलाई उनको नवीन शिल्प र कला मान्नुपर्छ।
कथाको विषयवस्तु कतिको गहन छ र त्यस कथाले समाजलाई के सन्देश दिन चाहन्छ भन्ने परिपाटीतिर नसोचेर कथाको बुनोटको मात्र कुरा गर्नु हो भने कथाहरू आफ्नै ढङ्गमा शुरू र अन्त भएको छ। जसमा पाठकलाई पढ्दा कहीँ पनि पट्टाइ लाग्दैन बरू मीठो लाग्दा लाग्दै कथा किन यति छोटो ? भनेर प्रश्न गर्न मन लाग्छ।
मुक्तिनाथ शर्मा ‘शोषित’ का यी कथाहरू सामाजिक यथार्थवादमा लेखिए तापनि कहीं रूमानी भावको प्रदर्शन पनि भएको पाइन्छ। जस्तो ‘व्यथा अल्झिएको कथा’, ‘रमा’ आदि। रमाले लामो यात्रामा कथाकारको काखमा निदाएको एक यौवन स्ॉर्शी कथाले तन्देरी मनको सम्झना गराउँछ साथै अर्की नारी सरिताको सौन्दर्यले ‘आँखा लोभी मन पापी बुझ्दैन मेरो दिल’ भनेझैँ कथाकार “अझ पनि तिमी मेरो मुटुमा बसिरहनु है भनी विगतलाई सम्झन्छन्। यस सङ्ग्रहभित्र कुनै कथाले सामाजिक मान्यता र विश्वास जस्तै मन्दिर, झाँक्री आदिको पनि कुरा गरेका छन् भने ‘दोछाया’ शीर्षक बनेको कथा सङ्ग्रहभित्रका ‘दोछाया’ कथाले उग्रवादीहरूले सिमानामा आतङ्क फैलाउँदा र उनीहरूसँग लडेर मरेका जवानहरूको कारणले घर परिवार र गाउँ कसरी दोछायामा पर्दछ? त्यसको उल्लेख गरेका छन्। “परिश्रम नै भविष्यको प्रतीक हो” भन्ने उनको कथाचाहिँ शीर्षक देख्दा निबन्ध नै लाग्दछ। तर फेरि यो एउटा कथा नै हो। कथामा शुरूमा कथाकारले विदेशमा नारीहरूप्रति उत्पीड़नको कुरा हरीमायालाई सोधे फरक पर्दैन भनेका छन्। तर उत्पीड्नको कुनै घटना भने लेखेका छैनन् । यसरी कुनै-कुनै कथा भने विषयवस्तुदेखि घरिघरि टाढ़ा राखेजस्तो पनि देखिन्छ।
उनको अर्को ‘थुक्क बुद्धि’ कथाले हाम्रो कस्तो बुद्धिका कारणले अधोगतिपटि लाग्छौं त्यो दर्शाएको छ भने एउटी आमा शीर्षक कथामा कमानका एउटा गरीब मजदुरको घर कसरी चल्छ ? दुःख त दुःख भइगयो सुखको खबर पनि कति असहनीय भएर मुटुको धड्कन अचानक बन्द भएर मृत्युको मुखमा पर्छन् भन्ने दृष्टान्त प्रस्तुत गर्न सक्षम बनेका छन्। यस सङ्ग्रहभित्रका मलाई खुबै मन परेको कथाहरूमध्ये ‘मिरिना’ र ‘तर उसको कालो मलाई सरेन’ कथा हुन्। ‘मिरिना’ कथा बाल हृदयको पवित्र कथा हो र मिरिनाको अचानक मृत्युले उसको बाल सखाको हृदयमा जस्तो असर पर्छ त्यो पाठकलाई पनि दुःखेको बोध हुँदछ। उसरी ‘तर उसको कालो मलाई सरेन’ कथाले अहिलेसम्म चलिआएको रङ्गभेदको भावना नबोकेर उत्तरआधुनिक विचारधारा बोकेर छुवाछुत तथा रङ्गभेदको भावनादेखि अलग्गै एउटा सुन्दर विचार सृजेको पाइन्छ। अब उप्रान्त लेखिने साहित्यमा पनि विशेष गरी रङ्गभेदको निवारण, पर्यावरण, नारी उत्थान, तेस्रो लिङ्गीको समस्या किनारीकृतवर्गको समस्या आदिमा केन्द्र गरेर लेख्नु नै संसारको जल्दो बल्दो विषय हो भन्ने ठहराइन्छ साथै उत्तरआधुनिक साहित्य लेखनको दिशा हुन् भनेर मान्न सकिन्छ।
अब छोटकारीमा भन्नपर्दा कथाकार मुक्तिनाथ शर्मा 'शोषित'-मा लामा-लामा कुरालाई एउटै दाम्लोमा बाटेर चट्ट मिलाउने शिप छ। यसले गर्दा कथा गनथन पटक्कै लाग्दैन। रोटीसँग चटनी चाटेजस्तो एकपछि अर्को कथा मिलिक-मिलिकमा पढ्न पाइन्छ र कुनै गाड़ीमा चढ्दा रमाइलो दृश्य मिलिक-मिलिक हेर्दै यात्रा गरेजस्तो लाग्छ। तर जसरी यात्रीलाई कुनै दृश्य हृदयको स्थायी भावमा रहँदैन उसरी यिनका एकाध कथाबाहेक अन्य कथाले दीर्घकालसम्म मनमा हलचल नगराउन पनि सक्छ। अब उसो जन्मने कथाहरू अझ प्रभावी हुन्, अझ तेजस्वी हुन् र अमर कथाहरू जन्मुन् भन्दै अनेक हार्दिक शुभेच्छा प्रकट गदर्छु। यी कथाहरूमा आउँदा दिनहरूमा पारखी नजर परून्, समीक्षाहरू लेखिउन् भन्ने शुभेच्छा प्रकट गर्दै म आफ्नो भूमिका लेख्ने दायित्व पूरा भएको सम्झंदै बिदा लिँदछु।
ॐ शान्ति !
१८.०४.२०२३
पुलबजार
सामाजिक सम्बन्धबाट प्रारम्भ भएर साहित्यको यात्रामा पनि मुक्तिनाथ शर्मा शोषितज्यूसँग सम्बन्धित हुने अवसर प्राप्त भयो।
त्यसो हुँदा उहाँका लेखनका विविध पाटा मसँग परिचित नै छन्। निरन्तर लेखन कार्यमा लागिरहनु नै उहाँको प्रशंसनीय र सबैका लागि अनुकरणीय कार्य हो। साना-ठूला सबैसँग हातेमालो गर्ने उहाँ कवितादेखि निबन्ध र अहिले कथामा रूचि राख्नु हाम्रा निम्ति प्ररेणामयी छ। रूवाड्यात लेखनमासमेत उहाँले निरन्तरता दिइरहनुभएको छ।
कथा भन्न र सुन्न अनि व्यक्ति आफै कथाका एक पात्र भएर बाँच्न जति सहज छ त्यति सहज छैन कथा लेखनमा अभिव्यक्ति प्रस्तुत गर्न। आख्यानका परिपाटीमा वैचारिक र सामयिक सौन्दर्य उत्पादन गर्नु कथामा लेखकका लागि चुनौति नै हो। मुक्तिनाथ शर्माज्यूले लेख्नुभएका कथाहरू निक्कै लामो समयदेखि अप्रकाशित अवस्थामा रहेको प्रतीत हुँदछ। निबन्ध र कवितामा रमणीयबोध साहित्यतत्त्वका रूपमा गर्ने उहाँले कथामा पनि त्यस्ता तत्त्व समाविष्ट गर्नु सहज प्रवृत्ति नै मान्नुपर्छ । उत्तरआधुनिक लेखनमा पनि विधाभञ्जनले सहमति नै प्रदान गर्छ। संस्मरणात्मक रूपमा प्रस्तुत गरिएका र काव्यात्मक भावमा प्रस्तुत गरिएका कथाहरू ‘दोछाया’ कथा सङ्ग्रहभित्र पाइन्छन् नै। उनका कथाहरूमा समाज र संस्कृति अभिन्न अङ्ग बनेर आएका छन्। ती कुरा नै हुन् अभिव्यक्तिको श्रोत । आत्मानुभूतिको उजागार मुक्तिनाथ शर्माज्युका प्रायः कृतिमा प्राप्य नै छ।
अहिले विश्वास गरौं, उनका कथाकृतिलाई नेपाली साहित्यले स्वीकार गर्ने नै छ। यस समय समालोचनाभन्दा बढ़ी पाठक अनुक्रिया पाठ समन्वित भएको अवस्थामा बौद्धिक व्यक्तित्वहरूले पाठको मूल्याङ्कन पनि गर्ने नै छन्।
लछेप्रै शुभकामना।
समयले यसरी भाव अभिव्यक्त गरिरहेछ कि अब एउटै कुरो मात्रको वर्चस्व देखिँदैन लेखनमा। उत्तरआधुनिकताले त्यसैलाई बहुकेन्द्री भन्यो। त्यसो र कथाकार मुक्तिनाथ शर्मा ‘शोषित’ का कथाहरूमा निबन्धात्मकता, काव्यात्मकता एवम् कतै नाटकीय तत्त्व पनि छन्। अघावै निबन्ध र कविता विधामा कृति प्रकाशित गरेर साथै साहित्यमा तन, मन र धनद्वारा समर्पित भएर आफूलाई परिचित गराइसक्नु भएको उहाँको उर्जा सबैका निम्ति प्रेरणामयी छन्। प्रगतिशील छन् विचार। आध्यात्मिक छन् जीवनचर्या। सरल र सहज छन् लक्ष्य। त्यस्तै व्यक्तित्वको प्रकाशनमा कतै गाम्भीर्य, कतै हास्यात्मकता र कतै रोमाञ्चकता आदिले वैविध्यको आस्वाद्य अपेक्षित छ। उक्त कृतिलाई पठनले विविधता प्रदान गर्ने नै छ उनका कार्यलाई निसन्देह।
शुभकामना।
मेरो कथा सङ्ग्रहमाथि गहन भूमिका लेखिदिनुभएकोमा अग्रज साहित्यकार श्रीमान् एम पथिक सरप्रति म अत्यन्तै आभारी रहेको छु। उहाँको मार्गदर्शनमा सधैं साहित्य सृजना गर्ने प्रेरणा मिलिरहोस्।
यस कृतिका निम्ति आफ्नो व्यस्त समय खर्चेर शुभकामना लेखिदिनुहुने प्रतिभा प्रेरणा परिषद्का सचिव तथा कवि सुजनहाङप्रति अनि कथाहरूका भाषा सम्पादन गर्दै आफ्ना केही शुभकाभना शब्दसमेत लेखिदिनुभएकोमा कवि डा० महेश दाहालप्रति हार्दिक आभार व्यक्त गर्दछु।
तेस्रो कृतिका रूपमा यो कथा सङ्ग्रह तयार गर्न सधैं हौसला दिनुहुने कवि कर्ण विरह सरप्रति सधैं आभारी छु। उहाँले आफ्नो व्यस्ततालाई पन्साएर भए तापनि कर्याङकुरूङ लेखेका अक्षर समेटेर मजाको पाण्डुलिपि तथा डीटीपी तयार पारिदिनु मात्रै होइन पुस्तक प्रकाशन व्यवस्थासम्मको अभिभारा निर्वाह गरिदिनुभयो। यसैले म उहाँप्रति सदैव ऋणी छु।
कवि कैलाश पाण्डे सरको हुटहुट्याइ र कवि जयकुमार राई (जे०के० सर) को यस कृतिसम्बन्धी असल सल्लाह अनि युवाकवि राजकुमार तिमल्सिनाको घरिघरि “खै तपाईंले त बिसाउनु भयो त हौ”- भन्नु र आदर्णीय बी० घिमिरे दाइको “अब नलेख्ने?” जस्ता सम्बोधनले पनि पुस्तक प्रकाशमा आउन सकेको हो।
कवि सरन खालिङ सरको तर्फबाट- “हन लामो बिसाउनु भयो त हौ” र डा० महेश दाहालको “तेस्रो कृतिबारे के सोच्नु हुँदैछ?” यी सबै मेरा प्रेरणाका स्रोत हुँदाहुँदै छोराहरू शिशिर अनि वसन्तबाट प्रकाशनको अभिभारा, श्रीमतीबाट हौसला र बुहारीद्वय गोमती र अनिशाबाट पाएको प्रेरणाको उपज नै यस कृति हो।
भतिज भुवन दाहाल सधैं भन्छ- “बडाको तेस्रो कृतिका निम्ति अग्रिम बधाई छ है।” त्यसलाई पनि धन्यवाद दिनु छ।
पाठशाला सहकर्मी सम्झना प्रधान मिसलाई पनि सम्झनामा राख्न चाहन्छु।
सम्झन्छु सिक्किम नाम्चीबाट एक समालोचक, पत्रकार शिक्षक तथा एक सक्रिय साहित्यकार श्रीमान् चम्पा दिवसलाई, जसले मेरो साहित्यिक जीवन गोरेटोमा सदैव साथ दिनुहुन्छ।
झण्डै बिर्सेछु ‘खोइ मलाई पाप लागेन त! व्यङ्ग्य कविताको सर्जक कवि भक्तकुमार सुब्बा सर (जो पुलबजारका एकजना अत्यन्तै क्रियाशील समाजसेवी पनि हुनुहुन्छ) एवं एडभोकेट बहिनी जयन्ती देवानमा आभार।
नेपाल, बेलबारी, मोरङका सर्जकहरू श्रीमती तीला लेकाली (गुरुमा), श्रीमान् हर्कमान तामाङ, श्रीमती रेखा सुवेदी, श्रीमान् ईरानराई (सर), श्रीमती बादलदेवी चाम्लिङ, श्रीमती तारा सुवेदी (गुरुमा), बहिनी शारदा दाहाल भण्डारी, बहिनी कविता केशरी, साहित्यकार झमक घिमिरे तथा अति आदरणीय सर गंगाप्रसाद उप्रेती (पूर्व कूलपति, नेपाल प्रज्ञा प्रतिष्ठान) तथा श्रीमान् जेबी थुलुङ सरलाई पनि सम्झनामा राख्न चाहन्छु।
श्री देवनारायण प्रधान सर, हाल बेङ्गलुरू वाइट्फिल्ड, मलाई हौसला दिनुहुने एक अत्यन्त मिलनसार व्यक्ति तथा उहाँकी श्रीमती सुनिता प्रधान, दुवै उत्तिकै प्रेरणाका स्रोतहरू हुनुहुन्छ। भुल्न सक्दिनँ।
संघ-संस्थाहरू प्रतिभा प्रेरणा परिषद्, पुल-बिजनबारी खण्ड, कला सङ्गम, बिजनबारी, आकाशवाणी खरसाङ, खरसाङ, आदर्श युवा संघ, पुलबजार, साहित्य सम्मेलन, दार्जीलिङ, बिजनबारी डिग्री कलेज, बिजनबारी, खुला साहित्यिक गोष्ठी, दार्जीलिङ आदिलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूले मलाई विभिन्न कार्यक्रममा रचना वाचन गर्ने मौका दिएर साहित्य लेखनमा प्रेरणा दिनुभएको छ।
आँट भरोसामूलक शब्द पनि उपलब्धि हुन। त्यसैले यहाँहरू साहित्यिक सहकर्मी तथा पाठकहरू सबै-सबैलाई सम्झिन्छु।
यस जीवनको एउटा सत्य घटना। आज पच्चिस वर्षपछि सजीव भएर कागजको सेतो वक्षस्थलमा शब्दशब्दमा पोखिँदैछ।
दार्जीलिङमा गोर्खाल्याण्डको ज्वालामुखी पढ्कँदै थियो । बङ्गालमा त्यसको लाभा उछिटिन्थ्यो अनि दुर्गन्ध पहाडैपटि फर्कन्थ्यो। हामी थुप्रै परदेशी बनेका थियौँ। त्यसमध्येमा म पनि एउटा गलछेड़ीबाट छिरेर नेपाल, झापा जिल्ला, दमक नगरपालिकाको ओड़ा नम्बर १७ मा ढकाल दाइका घरमा शरणागत बन्न पुगें। उनी आदरणीय रहेछन्, आदर दिए। मलाई त्यसै बसिरहन मन परेन। यसर्थ जागिर खोज्न निस्किन्थ्यौं हामी। आफूलाई साइकल चलाउन नआएपछि दाइको चौबिस इञ्चको एभोन साइकिलमा पछिल्तिर क्यारियरमा सवार भएर रोजगारका निम्ति बाटो लाग्यौँ। बीचमा एउटा साधारण खोला रहेछ। पानी कम्ति नै भए पनि भास लाग्दो रहेछ। हामी बिस्तारै पारी पुग्यौँ। त्यो समय थियो बिक्रम सम्बत् २०४४, मङ्सिर १४ गते, मङ्गलबार।
फाँटिलो बगरको निक्कै पर डिलमाथि एउटा भर्खरै खोलिएको अङ्ग्रेजी पाठशाला रहेछ। पाठशालाको शिरमा पाठशालाको नाउँ लेखिएको एउटा फाँटिलो बोर्डमा आँखा पुग्यो मेरो, नजरले पढ़ें ‘श्री चामुण्डे बोर्डिङ स्कूल’।
भर्खरै सेसन शुरू हुनै लागेको रहेछ। करिब एक दर्जन जति शिशुहरू रहेछन् । नर्सरीदेखि चौथो कक्षासम्मको तह रहेछ। दुई शिक्षक र दुई शिक्षिकाहरू रहेछन्।
म नयाँ शिक्षक। अब नियुक्ति पउनेवाला। उमेर भर्खरको, लक्का जवान, अल्लारे केटो। दाइले परिचय गराउनु भयो। मेरो नाउँ, ठाउँ, ठेगाना सबै बताइसकेपछि मेरा पढ़ाइ र उमेर सबै हाकिमका अघि एउटा साधारण खतुकीले सफाइ पेश गरेजस्तै सबै भनिदिएँ। आफूले नेपाली माध्यम विद्यालयमा पढ़े तापनि अङ्ग्रेजीको एउटा किताब हिज्जे गरीगरी पढ़ेको थिएँ। तर अङ्ग्रेजी फरर फड्काल्न भने आउँदैन थियो। दार्जीलिङकै पढ़ाइ भए तापनि हामीजस्ता खेतीवालाका निमुखा छोरा-छोरीले नामीनामी अङ्ग्रेजी स्कूल देखेकै थिएनौं। तर दार्जीलिङबाहिर, दार्जीलिङ भन्दा शिक्षागत हिसाबले निक्कै अघि छ भन्ने बुझिंदो रहेछ क्यार ! यसर्थ दार्जीलिङ शहरदेखि टाड़ाटाड़ा अविकसित गाउँमा बस्ने सोझा र इमान्दार मातापिताका सन्तान हामी गाउँकै नेपाली माध्यम पाठशालाहरूमा नै पढ्ने गर्थ्यो। तर जे होस्, त्यस दिन म नेपालीले नेपालीसँग अङ्ग्रेजी बोलेको पहिलो दिन थियो। तर मभन्दा धेरै जान्नेचाहिँ थिएनन् उनीहरू पनि। नत्र मलाई नियुक्ति दिने थिएनन्। यस् यस् र नो नो भनेर मात्रै अङ्ग्रेजी सकिँदैन। तर मैले जानेको पनि यतिमात्रै थियो । प्रिन्सिपल साहबले एउटा मागजमा भोलिदेखि नै उक्त पाठशालामा उपस्थित रही आफ्नो ओहोदामा स्कूलको नियममुताबिक कक्षा सञ्चालन गरिदिनु पर्ने विषयमा नियुक्ति पत्र मेरो हातमा थमाइदिए। खोलेर यसो हेरेँ- महिनाको तीन सय (एनसी) रहेछ तनखा। मलाई बाध्यताभन्दा बड़ी रहर थियो । त्यसैले भोलि नै घाँटीमा एउटा सुर्काउने झुण्डाएर स्कूल जाने रहर जाग्यो।
हेर्नुहोस् न ! म पहाड़बाट मधेश झरेको ठिटो। चौरस्ताको बेञ्चीमा बसेर घाम ताप्दा त गर्मी लाग्ने मान्छे, मोरङको भतभत पोल्ने घाममा घाँटीमा टाई बाँधेर स्कूल जानुपर्ने बाध्यता। सँगैमा अन्य शिक्षकचाहिँ घुँड़ा फाटेका जिन्स र पाटी खुस्केको टोपी लगाएर कक्षामा पस्दा हुने। तर अङ्ग्रेजी शिक्षकचाहिँ रवाफिलो ठाँटमा। यस्तो किन ? आखिर उही मान्छे, उस्तै भाषा होइन र? शब्दभण्डार र व्याकरणलाई राम्ररी केलाएर हेरे हाम्रै भाषा गतिलो लाग्छ। यसर्थ त्यही नेपालीले अङ्ग्रेजी बोल्दा, पढ्दा, पढ़ाउँदाचाहिँ चिटिक्क पारेर कपाल काटेको, कपड़ामा आइरनको धार, भरसक थ्री पिस् सुट र टिलिक्क टल्किने जुत्ता, अझ भएदेखि सेन्ट पनि स्प्रे गर्नु पर्ने। शिक्षक कक्षामा पस्दाचाहिँ किन सुप्रभात नभन्ने ? हामीमा के कम छ र!
जे होस्, आजदेखि म त्यस चामुण्डेको दार्जीलिङ्गे अङ्ग्रेजी मास्टर भए पनि मलाई हर्षभन्दा विमर्ष धेरै छ। किनकि आफूलाई पटट अङ्ग्रेजी पड्काउन आउँदैन। बानी छैन। किताब हेरेर He is a boy and She is a girl भन्न सक्छु। तर यस जङ्गलमा बाघ छ भनेर कसैले हल्ला गरे गाउँलेहरू त्यहाँ दाउरा घाँसमा जान डराएझैँ म पनि दार्जीलिङ्गे मास्टरको छेउछाउ कोही त्यस्ता अङ्ग्रेजीवालाहरू आउन डराउँथे। म भने उनीहरूले अङ्ग्रेजीमा प्याट्ट केही सोधेभने कसरी उत्तर दिउँला भनेर बड़ो सतर्क हुन्थें। जोगीदेखि भैंसी डर, भैंसीदेखि जोगी डर भनेजस्तै थियो हाम्रो दुरत्त्व।
एक दिन म आफै अभरमा परें।
स्कूलमा अरू शिक्षक-शिक्षिका कोही पनि थिएनन् । कारण श्री पाँच वीरविक्रम शाहदेवको जन्मदिन मनाउने तरखरमा केही आवश्यक सामाग्री लिन उनीहरू दमकतिर लागेछन् । ममात्र त्यो दिन विद्यार्थीहरूसँग भलाकुसरी गर्दै थिएँ।
अचानक यसो बाहिरतिर हेरेको त स्कूलको बोर्डनेर एउटी गोरी अग्ली, स्वर्णझैँ केश भएकी, पुष्ट शरीर, उँचो छाती भएकी कैला आँखा, सेता मिलेका दाँत भएकी प्रायः सात फुट जति अग्ली, घाँटीमा क्यामेरा र बाइनाकुलर झुण्ड्याएकी, अङ्ग्रेजी रूपवती तरूणी उभिएको देखेर झसङ्ग भएँ।
तर जब हाम्रो आँखा चार भयो उसले मलाई अङ्ग्रेजी लवज नेपाली शब्दमा- “नमस्टे” भनिन्।
मैले पनि हतारहतार अङ्ग्रेजी बोल्नुपर्छ कि भन्ने डरले घुटुक्क थुक निल्दै- “नमस्ते” भनिदिएँ।
तर त्यतिले मात्र पुगेन रहेछ र उसले अङ्ग्रेजीमा मलाई बाहिर बोलाइन्- “हेल्लो सर! कम हियर प्लिज।”
अब म मुटु ढुकढुक पार्दै बाहिर गएँ। उसले मसित हात मिलाउन उसका ती मुलायम सेतासेता, लामालामा औंला भएका हत्केला अघि बड़ाइन्। अनि मैले सङ्कोच मान्दै चारैतिर पल्याकपुलुक हेरेर मेरो काठजस्तो दह्रो हात उसको हातमा राखिदिएँ।
जिन्दगीमा यसरी युवतीसँग हात मिलाएको त्यो मेरो स्मरणीय घटना थियो। त्यो कुरा सम्झंदा आज पनि हातमा काउकुती लाग्छ। त्यो दिन जसोतसो निधारमा चिटचिट पसिना आउँदै, मुख सुक्दै भए तापनि लटरपटर अङ्ग्रेजी बोलेर टार्न खोजें।
तर ऊ नटर्ने भई। उसले किन हो म पुड्के नेपालीको गालामा निहुरिएर च्वाक्क म्वाइ खाई र- “सि यू टुमोरो ओखे!” भनेर बाटो लागी। अब पस्यो फसाद । ऊ त भोलि पनि आउने परी। मलाई एक प्रकारको मोहनी पनि लागेछ अनि लाज पनि। हाम्रो पूर्वीय सभ्यतामा यसरी तरूणीसँग लठ्ठारिएर तन्देरीहरू हिँड्दैनन् पनि। तर मचाहिँ सात समुद्रपारिकी एड्लोसँग नलठ्ठारिई भएन।
ऊ हिजोजस्तै सुसज्जित भएर मलाई भेट्न आइपुगी। त्यो शनिबार परेकोले मेरो त्यस सुन्दरीसँग बरालिने मन अझ प्रखर भयो। अहिले ऊ र म नारिएर घरि दोबाटो, गल्छेड़ी अनि मूलबाटो हुँदै हिँड्न थाल्यौँ। खेतबारीमा काम गरिरहेका कति महिलाहरू हामीलाई देखेर लाजले राता हुन्थे। अनि कतिले औंला मुखमा हालेर अहम्... गरेर जिस्काउँथे। यी सब ऊ बुझ्दिन थिई।
म टुटेफुटेको अङ्ग्रेजीमा जानेजति ठाउँ र वस्तुका नाउँ भनिदिन्थें। त्यसरी त्यो स्वर्णीम शनिबार पनि सकियो।
ऊ दमकतिर लागी। मलाई “बाई... सि यू टुमोरो ओखे।” भन्दै फेरि भोलिको निम्तो दिँदै गई।
भोलिपल्ट आइतबार आफू अङ्ग्रेजी गुरुबाबु, स्कूल जानै पर्ने। के गरूँ! कसो गरुँ ! त्यो रात, रातभरि कोल्टे फेर्दै उज्यालो पाउँ अनि त्यही गाउँको एउटा विद्यार्थीको हातमा “म स्कूल आउनु सक्दिनँ, बिसञ्चो परेँ।”- भनेर प्रिन्सिपललाई एउटा चिट्ठी पठाएँ।
त्यो दिन ऊ कता गई मलाई थाहा भएन। तर सोमबारको दिन मैले स्कूल जानै पर्ने थियो र गएँ। हिजै उसले प्रिन्सिपललाई एउटा निवेदन लेखेर मलाई गाइड पठाइदिनु भनिछ। म पाठशाला पुगें। शिक्षक उपस्थिति वहीमा आफ्नो उपस्थितिको हस्ताक्षर गरेर म ऊसँग नाइटकोचमा काठमाण्डौतिर लागें।
अनि त्यस शून्यको यात्रामा म कसरी बाटो लागें पत्तै भएन!
कत्रो आँट! कसरी छिनायो होला एकै तालमा च्वाट्टै?
विस्मृतिको गर्भबाट यो कथा आरम्भ हुन्छ।
पूरै बीस वसन्त मेरो यात्रा अर्थात् खेत। सधैं उमारेका लहलह बालीले जीवन धान्न म पसिनासँग पौड़ी खेल्थें। राति नै उठ्थें। भात-तिहुन गर्थे। गोठधन्दा गर्थे। बाछो लाएर दूध तताईवरि मेरा दुई ऋतुहरू शिशिर र वसन्तलाई सन्तुष्ट पार्थे।
मेरी अर्धाङ्गिनी शारदा निकै रोगाई। भन्दिनँ थिएँ म कसैलाई मेरा पीर, व्यथा अनि सुनाउदिनँ थिएँ उमङ्ग पनि। म धनहीन मान्छे। नगन्य जागिरे- उतिबेलादेखि अहिलेसम्म। तर लक्ष्य भने निरन्तर।
कतिकति बिहानहरू मेरो पेटमा हावा बनेर भित्रिन्थे अनि पसिना भएर बाहिरिन्थे। उकालो यही हो। परबोङ, सुन्तले, भिर गाउँ, नयाँ बस्ती, किजोम, आनन्देन अनि त बिहिबारे। तर आत्माभिमान त्यतिमा किन सकिन्थ्यो र ! मान्छे भन्छन् जीवन अभिशाप हो। तर म भन्छु जीवन सङ्घर्ष हो। पसिना धन हो। कर्तव्य रत्न हो। पाठशाला कर्मक्षेत्र हो अनि विद्यार्थी शिशुहरू सौभाग्य हुन् । ममा निरन्तरता थियो र अझ पनि छ।
मसित पैसा नहुनु नै म हुनु हो। उसताक त्यो बिहिबारे मेरो कर्मक्षेत्र थियो। श्यामपटका काला भित्ताहरू मेरो भाग्य रेखा । म आफै मेरो भावी। आफै लेखें भाग्य। अहो! मेरा ईश्वर ! मलाई एउटा लामो र टट्कारो यात्रा दियौ। म धन्य छु।
न धनमा लम्पट थिएँ म त्यसबेला, न अहिले नै छु। प्रत्येक बिहानको घाम मेरो पिठ्यूँबाट स्वाट्ट छिर्थ्यो अनि अनमोल मोतीहरूको मूल फुट्थ्यो। शरीरमा पिटिभेस्ट कति भिज्थ्यो अनि कति निचोरिन्थ्यो। आहा! जीवन कति रमाइलो ! प्रत्येक झरी रिमझिम मलाई नुहाइदिन्थ्यो। अहँ कहिल्यै ज्वरो आएन। ओवोस् पनि किन र! त्यो चिराइतोघारी, निमा लेप्चाको मकैबारी मेरो औषधालय।
भन्थे – “सर यसले चट्टै निको पार्छ।“ गरिब तर आदर्श मान्छे। कत्रो मन! मैले तिनकै भुराहरूलाई पढ़ाएँ। पेमु पढ़ाएँ। अनि पनि थुप्रै। तर यादमा मलाई हिक्का राखिरहने- छोरी अनिला, आदरणीय चाङ, कतिपल्ट मेरो भोको पेट हाँसीहाँसी स्नेह दिएर दिउँसो खाजाको व्यवस्था गरिदिने अति प्यारी दिदी रेणुका, प्रसन्न, जोजो, सधैं हँसमुख आदर्श भाई, याद गरिरहने गीता दिदी, फूर्बा अनि बुहारी, वीरमान, उनका बाजे-बोजू र सपरिवार।
झल्यास्सै सम्झें वीरबहारदुर र दिदी सम्पूर्ण। मिठो मही आहा ! बाला घिउसरिको। कति पिएँपिएँ। दनदन धुप्पीको आगो। फरवरीदेखि झण्डै अप्रेलसम्म। त्यो मोदी कहाँ होला!
सम्झें यति, बिर्से कति समयको अन्तरालमा। कतिकति मेरो स्पन्दनमै छन्। ए साँची! प्रितम गुरूङ पल्टन लाग्यो अरे। सुखी बनोस्।
कति मिठो आरुचा। बाटैभरि खाँदै घर फर्किन्थें।
चार बर्ष सँगै पढ़ायौँ। बनभात खेल्यौँ। त्यो दिन, त्यो पल, उनी प्रधान अध्यापिका – गुरुमा टिका। म अस्थायी सह-शिक्षक अठार वर्ष सँगै हिउँद बर्खा काट्यौँ। प्रिय सर सरगम लोकसम। जे भने पनि मान्ने विनोद, माइलाको याद आयो। उसलाई श्रद्धाञ्जली। उसले ल्याएका पल्टनको सौगात कहिले नखाएको हो र?
कहिल्यै बिर्सन्न पेमुकी आमालाई। कहिल्यै खाली हात घर फर्किनँ। अझै याद आउँछ जार काटेको ढुङ्गो।
अहिलेजस्तो थिएन रहेछ उहिले। अर्काकी स्वास्नी भगाउनु भनेको ज्यानै गुमाउनु रहेछ।
लगभाग सयबर्ष जतिको होला यो घटना।
राणा जेठाले एक दिन घाँस काट्दै भने यो घटना। ऊ घाँस काटिरहेको थियो। म पसिना भएर त्यहीँ जार काटेको ढुङ्गा छेउमा पुगें अनि ढुङ्गामाथि उम्रिएका गुराँसको शितल ताप्दै पसिना पुछें।
उनले भने- “मर्निङ सर! भाइ आइपुग्नु भो?”
मैले पनि अभिवादन फर्काउँदै “हजुर आइपुगें, के गर्दै हुनुहुन्छ?”- भनें।
उनले भने- “घाँस काट्दै छु भाइ खसीलाई, यसो एक दुई मुठा।
मैले “हजुर ठिकै छ नि।”- भनें।
उनले त्यतिकैमा उँभो हेरेर ओड़ारपट्टि औंल्याउँदै “यहीँ अरे नि भाइ जार काटेको? हन मोराले कसरी हान्यो हौ फुत्तै खुकुरी थुतेर च्वाट्टै पारेको अरे नि!”- भने।
मैले हाते घड़ीतिर हेर्दै भने- “समय ९.३० बजेछ।”
अँ! मसित रहल समय आधा घण्टा अझै भएकोले कथा चाख मानेर सुनें।
उनले भन्दै गए- “होइन आजभन्दा तीस-चालिस बर्षअघि दरमदिनबाट एउटी अर्काकी स्वास्नी लिएर एकजना लोग्ने मान्छे भागेर यही ओड़ारमा आएर बसेको थिएछ।”
“हजुर”- मैले भनें।
“अनि लालटिन सानो धिपधिप बल्दै थिएछ। मोराको नहुने दिन। त्यसको लोग्नेले खेदेर आएको पत्तै भएन रहेछ। लालटिनको उज्यालोले थाहा पाएर त्यसलाई त्यहाँ सुतेको ठाउँबाट तानी झारेछ र सिरूपातेले च्वाट्टै परेछ नि भाइ।”
मैले- “ए हजुर हजुर” भन्दै घड़ी हेरेँ। दश मिनट समय रहेछ।
उसले बिँड़ी सल्काउँदै भने- “पछिसम्म खुन सुकेको थिएन अरे नि भाइ !”
म ऊबाट बिदा लिएर चिहानघारी उकालो पाठशालातिर लागें।
उनले कुरा थप्दै भन्दै थिए- “अहिले पनि कोहीकोही बेला मध्ये दिउँसो एउटा रातो साँप निस्किबस्छ नि।”
मलाई शङ्काले सतायो। एक दिन बेलैमा घर फर्किनु पस्यो। नभन्दै त्यहाँ एउटा रातो साँप बसिरहेको थियो।
माथि बादलटार भन्ने ठाउँ निक्कै रहरलाग्दो थियो। वरिपरि बाक्लो जङ्गल र बीचमा एउटा फराकिलो तलाउ थियो। बादलटार यस कारण कि प्रायः जसो नै भुइँ कुहिरोले ड्याम्म ढाकिरहन्थ्यो। उक्त टार समठ्यारिलो त थिएन तर ठूल्ठला गह्रा भएको बारी थियो। त्यस टारमा त्यस्तै आठ-दशवटा भैंसी गोठहरू थिए। भैंसी एक प्रकारका मझौला खाले थिए। त्यहाँको पखेरामा ती भैंसीहरूको हाँच नै कुदेको हेर्नमा खुब मजा आउँथ्यो। यो विक्रम सम्वत् २०४४ सालको कुरा हो। मङ्सीर महिना थियो। म त्यही मङसीर महिनाको १४ गते झापा दमकबाट एउटा अङ्ग्रेजी स्कूलको शिक्षक पदमा नियुक्ति भएँ। र दन्तकाली बोर्डिङ स्कूलमा १७ गते आफ्नो उपस्थिति दर्ता गराउन एउटा बुड़ा सुब्बा नाउँ लेखिएको नेअ ७८३६ नम्बर बसमा सवार भएर धरानतर्फ लागें।
लगभग एघार बजे धरान पुगें। र धरानबाट अर्को कोअ० ७७७९ नम्बर बसमा धरानदेखि भेडेटार हुँदै धनकुटा जाने बसमा पुनः सवार भएँ। त्यसबेला दार्जीलिङमा सुवास घिसिङको नेतृत्वमा गोर्खाल्याण्डको आन्दोलन धुमधामसित भइरहेको थियो। सो आन्दोलनलाई दबाउन कमरेड ज्योति बसू (बङ्गालका मुख्यमन्त्री) को नेतृत्वमा CRPF (सेन्ट्रल रिजर्ब पुलिस फोर्स) द्वारा दार्जीलिङका गोर्खाहरूलाई जताभावी धड़पकड़, आगजनी, बलात्कारजस्ता घटना स्थानीय CPM का क्याडरहरूको साथमा गरिँदा हामी सर्वसाधरण गाउँले जीवन धान्नेका निमुखा सन्तानहरू पनि शरणार्थी भई भारतको मैत्रीदेश नेपाल जान बाध्य थियौँ। कोही नेपाल त कोही सिक्किमतिर जान बाध्य थियौँ।
त्यसै अवसरमा पेट पाल्ने क्रममा काम खोज्दै जाँदा एक जना सिँदुवा उच्च विद्यालयका प्रधान अध्यापक भट्टराई सरसित दमकमा भेट भयो। छोटो भेटघाटको क्रममा उहाँकै निजी अङ्ग्रेजी पाठशालामा मलगायत सुश्री सरिता श्रेष्ठको पनि नियुक्ति रहेको कुरा थाहा भयो।
उक्त दिन विसं २०४४ मङ्सिर १४ गते थियो। धनकुटा पुग्दा नेपाल प्रहरीहरूद्वारा सम्पूर्ण सवारी साधनहरू करिब आधा घण्टा जति सड्क रोकियो। म बसको ढोकानेरको तल्लोपटि छेउको सिटमा थिएँ। मेरो छेउमा थिइन् एक अपरिचित नारी। बस चलेपछि बाटो कटनी खानेकुरा झिकेर मलाई ‘दाइ ! लिनु न’ भन्दै दिइन्। मैले सोही क्रममा उनीसित परिचय लिएँ। उसको नाम रमा रहेछ। सायद मेरो अल्लारे बैंसले उनलाई र उनको युवती उमेरले मलाई नजिक तान्दै थियो कि ! त्यतिकैमा गाड़ी रोकियो। एकै क्षणमा श्री ५ महाराज धिराज वीरेन्द्र वीरविक्रम शाहदेव, रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह, छोराहरू युवराज दिपेन्द्र शाह, मिराजन शाह एवं छोरी राजकुमारीको पूर्व सवारी भएको र एक अत्यन्त सुन्दर राजा वीरेन्द्र अनि राज परिवारको दर्शन भएको त्यो प्रत्यक्ष घटना अहिले पनि झझल्को आउँछ।
यसरी राजाको सवारी र सलामी हेरेपछि हाम्रो गाड़ी त्यो फाँटिलो नागबेली उकालो बाटोतर्फ लाग्यो। पुनः रमा र मेरो यात्रिक सम्बन्ध अझ प्रगाढ़ भयो। उनी बिस्तारै ढल्किँदै मेरो कुम, त्यसपछि काखमा ढुक्कले निदाइन्। जाड़ो निक्कै थियो। मेरो आङमा एकसरो कपड़ामात्र थियो। खिर्कीको चिसो सिरेटोले मेरा कानहरू बरफ जत्तिकै चिसिए। नाकबाट चिसो थोपा तपतप चुहुन्थ्यो भने एउटी तरूणीको निदाइले काख गलेर फत्रक भयो। खुट्टाहरू झमझम भए। उसको कालो घना केश मेरो काखभरि छरपस्टै भयो। भनौं कुनै भेड़ीगोठालाले लुकुनी ओड़ेजस्तो।
रात पस्यो। टाड़ा गाउँतिर कताकता बत्तीहरू देखिन्थे अनि कुकुरहरू भुकेको, कतै स्याल कराएको आवाज आउँथ्यो। हुनसक्छ कुनै बसस्टप आएको होला। अलिक पर धेरै बत्तिहरू बलिरहेका थिए। मान्छेहरू पनि सल्याङमल्याङ गर्दै थिए।
बस रोकियो। एउटा ठूलो बोर्ड रहेछ। त्यहाँ लेखिएको थियो- सिदुवा प्रहरी चौकी। प्रहरीले गाड़ीको जाँच गरिसकेपछि फेरि गाड़ी चल्यो। त्यो दिनको अन्तिम मेरो यात्रा सिदुवा बजारसम्म।
मैले रमालाई उठाउँदै भने- “रमा उठ न। यो कुन ठाउँ आइपुग्यो?”
उसले – “सिदुवा हो।“ भनी। “हजुर कहाँसम्म नि?”- सोधी।
मैले भनें- “खै मेरो खासै गन्तव्य छैन। तरै पनि म यही सिदुवासम्म हो।”
उसले भनी- “हेर्नु न! यहाँ भएका दुई-तीनवटा लजहरू पनि बन्द भएछन्। रातको दश बज्यो। अब हजुर कता जानुहुन्छ। जाड़ो पनि छ। फेरि भएन यहाँको सिरेटो पनि चिसो छ। बरू आज मसँगै हाम्रो निवासतिर लागौँ।”
म केही सङ्कोचित भएँ। उनले कुरा थपिन्- “अफ्ठ्यारो नमान्नु न। मेरा बुवाआमाले नराम्रो भन्नुहुन्न। जाम हाम्रैतिर।”
भोलि १५ गते मङ्सिर । मलाई रमाले दन्तकाली इङ्लिस बोर्डिङ स्कूलतिर लिएर गइन्। त्यस दिन सिदुवा बजार लागेको थियो। उनले एक करूवा भुटेको कटुस किनेर, हामी कटुस खाँदै उक्त स्कूल पुग्यौँ। रमा घर फर्की।
मसित स्कूल प्राङ्गनमा सरीता श्रेष्ठसित भेट भयो।
सरीता धरान निवासी। तर ऊ बिछिट्ट रूपवती भए तापनि सुशिल नारी थिई। निक्कै उच्च धरानाकी होली। राम्रो सुकिला कपड़ा र निक्कै सुसज्जित पहिरणमा पाठशला आउँदा मलाई सधैं अभिवादन जनाउँथी। उसको मिठो अभिवादन वसन्त ऋतुमा आरूको बोटमा बसेर धोबिनी चरीले सुसेलेजस्तो लाग्थ्यो। उनको रूप अचानक कुनै किरण टक्क आँखामा परेजस्तो भान हुन्थ्यो।
मैले आँखा टोलाएर – “गुडमर्निङ” भनिदिन्थें।
सरीतासित राम्रो मित्रता गाँसियो। एक दिन शनिवार म सरिता, रमा र रमाको बुवा असई भिमबहादुर थापा त्यो माथिको भैसी गोठ अनि त्यो रमाइलो फाँटमा चरिरहेको चौरी गाई हेर्न गयौँ। एकजना गोठालोले हामी सबैलाइ ठूलो ठेकीबाट झिकेर बाक्लो दही खान दिए।
आहा! त्यो विगत! त्यो यात्राको सहेली रमा, ती असई अनि रूपवती सरीता! सधैं मेरो मुटुको एउटा कोठामा बसिरहनु है।
आज पनि चप्पल हरायो।
धार्मिक परिसरमा जुत्ता चप्पल हराउनु कुनै नयाँ कुरा होइन तर।
त्यहाँ आउने श्रद्धालु कुनै एकजना सायदै खाली खुट्टै आएको हुनु पर्छ। नत्र प्रत्येक दर्शनार्थीले आआफ्नो जुत्ता चप्पल लगाएकै हुन्छन् । कसरी उसका खुट्टाको नाप यति सजिलै मिल्न सकेको?
यसैले जति हराउँछ छाता बर्खायाममा त्योभन्दा धेरै चप्पल हराउँछ। उदेकलाग्छ।
सन्तेलाई झाड़ा-पखालाले भेटेपछि रातभर सुताई भएन। हरेक खाले झारपात उखेलेर, चुँडेर, माडेर रस खुवाउँदा पनि झाड़ा-पखाला बीसेक भएन।
दिनभरि खेतमा काम गरेर थकित भएको शरीर वीरबहादुर झपक्क के निदाएको थियो उषाले झकझक्याएर वीरबहादुरलाई उठाई र भनी – “लौ न कति सुतिराको ? हन म पनि हजुरजस्तै दिनभरि पाथीको बीउ धान रोपेर यो कमर चलाउनु नहुने गरी दुखिराको छ। तर के गर्नु र ! नानीलाई के बित्यास पस्यो झाड़ा-पखाला परेर साहै छ । हेर्नु न ! लोलाइराखेको छ। अस्पताल लैजाऊँ भने डाक्टर नै छैन। फेरि यसो हेरेजस्तो गरेर रेफर गर्दिन्छ। प्राइबेटमा लैजाऊँ भने खेतालाको रोज दिएको छैन। अस्ति नै ग्यास सकिएर दाउरामा भात तिहुन गर्दैछु। बरु यसो उठेर माथि धनवीरे झाँक्रीलाई बोलाइदिनु नि हौ। हेर्नू नानी सारो भइसक्यो। फेर्ने लुगा पनि भनेजस्तो छैन। अँ, सुन्नु त! त्यै मिलिनियम भए पनि आधा बोतल पल्लो घरबाट लिएर आउनु पछि अदुवाको माऊ बेचेर दिउँला।”
नभन्दै वीरबहादुर पनि जुरुक्क उठेर आङ तान्दै गमबुट लगाएर एउटा पुरानो छाता ओडेर झाँक्री बाको घरतिर लाग्यो।
रातको लगभग एघार बजेको छ।
मोबाइल बालेर सावनको त्यो बाक्लो झरीमा छोराछोरीभन्दा खातिर रातको गहिरो अँध्यारोलाई वास्ता नगरी उकालो लाग्यो। कुकुर जोड़ले भुकेको सुनेर झाँक्री बा- “हैट ! क्या हो हैं? कतै चितुवा त हैन ?”
गाउँमा चितुवाले धेरैको बाखा खाएकोले गाउँलेहरू सतर्क छन् । तर होइन रहेछ। वीरबहादुर पो रहेछ।
“ए...! यो नाथे पो रहेछ। हैन कता हिँड़िस् हौ साइँला रातिहुँदो ? गलेथाकेको मान्छे! के बित्यास पर्यो?” झाँक्री बाले भने।
वीरेले मुख खोल्यो- “हन के हुनु मितबाउ ! छोरो झाड़ा-पखालाले सारै छ। तपाईंकी बुहारी रुँदै छे। म गले थाकेको भए पनि नाई भन्न पाइनँ मितबाउ! एक छिन जाऊँ न। बरु यो सगुण यसो जुठो मुख पारेर।”
झाँक्री बा- “ए नाथे! पर्ने थिएन नि। तै ले न त। ए मुखेनी! थोरै पानी मिसाऊ त।”
एक बटुको जति स्वाट्ट पारेर “लु हिँड्, म भएपछि त्यस्तो दोखदखाल कता जान्छजान्छ।”
घर पुगेर उनले छोराको नाडी यसो छामे। “ए जङ्गलकोले पो रहेछ ! लु अछेता ले। अँ घिउको धूप, एउटा अण्डा र सलो पानी पनि। सातो पनि गएछ। कसो बित्यास परेन छ।”
झाँक्री बाले निकैबेर हेनेमेने गरेपछि, जसभाग होला नानीको बान्ता, झाडा-पखाला पनि केही मत्थर भयो।
झाँक्री बाले पल्टनको कुरा निकाल्दै भने- “जतिबेला म 5/6 गोर्खा राइफलमा थिएँ हो त्यतिबेला नै एक दिन अचानक म बाहिर सेन्ट्री बसिरहेको बेलामा मेरो जिउ नै लल्याकलुलुक भयो र उस्तादलाई भने- ‘सर मलाई रिलिफ गरिदिनु पर्यो। म बिरामी परेँ।‘ त्यसपछि कम्पनी कमाण्डरले मलाई अस्पताल जाने आदेश दिनु भयो। तर अस्पतालको उपचारले मलाई बीसको उन्नाइस भएन र म एक महिनाको छुट्टी लिएर घर आएँ। अनि धामीझाँक्री लाउँदा घरको कुल उत्रेको भने। र फेरि पन्द्र दिनको छुट्टी बड़ाएर देवदेवता सँगाले।
त्यो १९७१ को कुरा हो। त्यसपछि लगत्तै भारत-पाक युद्ध भयो। जस्तो युद्ध सकियो त्यस्तै हाम्रो पल्टन फर्केर आयो। अनि म पनि अवकाश लिएर घर आएँ नानी। अहिले त यी गाउँघरको सेवा गर्छु। पेन्सन थापेर खान्छु। छोराछोरी सबै जागिरे भए। के खाऊँ के लाऊँ छैन। अँ बालक पनि निदाएछ। बिहानको भाले बास्न आँटेछ। म गएँ है। अँ सुन त ! मैले माहाकाल बाबाको भाकल गर्देको छु। भ्याउँछौ भने भोलि नानीलाई लगेर यसो दर्शन गराएर ल्याउनू। आफ्नो धर्मकर्म र संस्कार-संस्कृति बिर्सनु हुँदैन।”
त्यतिकैमा वीरबहादुरले भन्यो- “मितबाउ! त्यो अघिको रहल सगुण लिनु न।”
“ए... अँ ले न त। खाने मुखलाई जुंगाले छेक्दैन। बुहारी अलिकति मनतातो पानी हाल त।”
चार घुँड्कीमा गिलास रित्तो पारेर झाँक्री बा उकालो लागे। नभन्दै भाले पनि बास्यो। लोग्ने स्वास्नीले आनन्दको सास फेरे।
बिहान सात बजीतिर पतिपत्नी दुवै तयार भएर धूप अक्षता र फूलपाती आफ्नै घरबाट लिएर महाकाल बाबाको दर्शनार्थ गाड़ी चढ़ें।
आज महाकाल धाम परिसरमा छ्याङ्ग उम्रेको थियो। बाँदरहरूको रगरगी निक्कै थियो। हनुमानको मूर्तिअघि केही सूचनापट टाँसिएको थियो। त्यहाँ लेखिएको थियो कि बाँदरसँग सतर्क रहनु होला। प्लास्टिक ब्यागहरू छेउमा राखिएको मैला ढ्वाँङमा हालिदिनु होला, इत्यादि।
पतिपत्नी दुवै आफ्नो एकमात्र सन्तानको रक्षा होस् भन्ने अभिप्रायले श्री महाकालको मन्दिरमा परिक्रमा गरी पण्डित तथा लामाबाट आशिर्वाद र वाङ थापेर अति हर्षसाथ फर्किए।
तर अघि जहाँ जुता-चप्पल छोडिएको थियो त्यहाँ चप्पल थिएन। अब कसलाई दोष लाउने र ! त्यस दिन उषा खाली खुट्टै घर फर्किई। न त चप्पल बाँदरले लग्यो। न बाँदरजस्तै कसैले लग्यो।
बिहे साँच्चै रमाइलो थियो। प्रायः जसो मधुशालामा जीवनलाई रङ्गाइरहेका थिए। त्यसको आयतन जति बढ्यो उति नै मजा आउने। उसकै नाउ बार । तर छेकथुन नगर्ने बार। आफैले अड्याए अड़िने नत्र आफै पनि लड़िने बार।
म पाजी भने नेपाली आमाको लास्टो चुसेका गाउँले परिवेशमा गाउँकै भाकामा हुर्केको। गाउँका भाका र लय मन पराउने पुर्खेउली संस्कार, संस्कृति, भाषा र परम्परागत रीतिरिवाज अनि ठेटपन। आहा उसै माया लाग्ने।
केहीबेर उभिएर मेरो उपस्थितिको बेहोरा र रकम – उपस्थिति वहीमा लेख्न लगाएँ। त्यहाँ लेखिएका ससाना टुक्राहरूबाट एउटा आनन्द लिएँ। अब अङ्ग्रेजी विद्यालयको प्रभाव गाउँमा आइपुगेछ।
साइनो, सम्बन्ध, रीतिरिवाज, खानपिनमात्रै र जीवन जिउने शैलीहरूबाट साँच्चै नै मजस्तो एकोहोरो भाषा र साहित्यको कुरा गर्ने मूर्खको उठिबास भएछ। भाषाको मृत्यु भएछ।
झसङ्ग भएर आफूलाई राम्ररी नियालें। कतै म झुक्किएर अङ्ग्रेजी गाउँतिर त पसिनँ? कतै मबाहेक अरुको केश खैरो, आँखा कैलो, अनुहार गहुगोरो त थिएन?
अङ्ग्रेजी नपढेर मेरा बाले गाईको टोइलेटलाई गोबर भन्थे। त्यै टोइलेटले मेरी आमा घर लिप्थिइन्। बाले गाईको युरिनलाई गहुँत भन्थे, राइसलाई भात। यसैगरी ममीलाई आमा र ड्याडलाई बाउ भन्थे।
गाईको युरिनमा मिल्क, कर्ड, बटर, र काउडङ मिलाएर पञ्चगव्य बनाएर पूजापाठतिर खान्थे अनि शुद्ध हुन्थे। कत्ति मूर्ख थिए होलान् नि हाम्रा अग्रज।
अब बिस्तारै हामीमा सुधार आउँदै छ। नाथे नेपाली र बित्थाको संस्कार बिर्सिएर। धन्य वर्तमान!
अनि म लुरुलुरू घर फर्किएँ। आफै अपाङ्गजस्तो भएर, लजाएर, कुरीकुरी लागेर।
कल्ले पढ़िदेला र नेपाली?
Don’t talk nepali I will punish you भनेपछि। किन पो लेख्नु र नेपाली साहित्य? कतै मेरो भाषालाई क्यान्सर लागेको त छैन ? कतै मेरो संस्कृतिको बोनम्यारोमा घाउ त भाको छैन ? कहीँ मेरा साजहरू बेसुरा भएका त छैनन्?
यति छिट्टै कसरी मेटियो काला स्याम्पटबाट सेता खलिमट्टीका व्यञ्जन र स्वरवर्णका अक्षरहरू?
कति छिटो टाँसिन जानेका हामी अर्काले दलिदिएको विकृतिको गममा आफ्ना अस्तित्वका हरफहरू?
ऊसित परिचय भएको यस्तै छ-सात महिना जति भाएको थियो। तर ऊ बड़ो फर्साइली। प्रसन्न चित्तकी गृहिणी। नाउँ शोभा। नाउँजस्तै व्यवहार। गाउँले परिवेशमा हुर्किएकी। सुसंस्कारित, शिक्षित। उसका दुई सन्तान। ठूली छोरी चार कक्षामा, गाउँकै प्राथमिक पाठशालामा पढ्थी। सानो छोरो दुई वर्षजतिको।
आफ्नै निजी घर र एक हलको बारी।
शोभा आफ्नो परिश्रमलाई नै सर्वस्व ठान्थी। बारीमा विभिन्न प्रकारका तरकारी खेती गरेर अनि त्यसैलाई बिक्री गरेर नानीहरूको शिक्षामा आइपरेका खर्च बेहोर्थी। गाईको दूधबाट तयार भएका परिकारहरू घिउ, छुर्पी, दही इत्यादिबाट पनि आर्थिक विपन्न हुनबाट घरलाई जोगाउँथी। बिहान सबेरै उठेर स्नान गरी तुलसीमा पानी चढ़ाएर सूर्यार्घ गरेर चिया पिएपछि घरधन्दा गर्थी। पति भारतीय फौजमा थिए। उनको प्लाटुन (पल्टन) देहरादुनमा थियो।
शोभा आफ्नै गाउँ सुन्तलेमा हुर्किएकी र त्यही गाउँको प्राथमिक पाठशालामा चौथो कक्षासम्म पढ़ी अरू शिक्षा विद्यासागर उच्च माध्यमिक विद्यालयबाट माध्यमिक उतीर्ण गरेकी थिई।
त्यतिबेला स्वर्गीय छिरिङ दोर्जे लामा एक निपुण नर्तक, कुशल नाट्य कलाकार र अशल शिक्षक थिए। सुन्दर हस्तलिपि भएका शिक्षक अङ्ग्रेजी पनि राम्रो बोल्न र लेख्न सक्थे।
आज उनको अभाव कथाकारको हृदयमा महसुस भइरहेछ।
शोभा आजभोलि दार्जिलिङको चोक बजारमा एउटा सानो सब्जीपसल किरायामा लिएर गाउँकै फर्सी, काँक्रा, गोलभेडा, इस्कुस, करेला र बस्तीको चामल बास्मती, कटका, नुनियाँ बिरिमफूल, दूधराज, मन्सरो, चम्पासरी, अनदी धानको चिउरा लगेर पसल थाप्छे।
घुइँचो लाग्छ उसको पसलमा।
शनिबार, आइतबार कमान पनि छुट्टी हुने र बजार निवासीहरूको पनि फुर्सद हुनेहुँदा उसको पसलमा ताजा, शुद्ध अर्गानिक उत्पादनहरू प्रसस्त पाइने हुँदा भनेजस्तो बिक्री हुने गरेको छ।
कुनै दिन घिउ, छुर्पी, पनिर पनि फटाफट बिक्री हुन्छ।
उता श्रीमान्को पल्टनमा मान बढ़ेर लान्सनायक बनेका छन्। भर्खरै उसको पल्टन देहरादुनबाट जम्मूमा सरेको छ। पाकिस्तानी उग्रवादीहरूको आतङ्क बढ़ेपछि त्यहाँ धेरै गोर्खा फौज लगिएको हो।
हिजो राति लगभग दश बजेतिर कुपवाडामा भीषण बमबारी भयो। दुवै पक्षको तमाम हानाहानपछि आतङ्ककारीको कमान्डरसहित पचासौँ अरु उग्रवादी मारिए।
तर विधिको विधान कसले देखेको छ र! भारतीय सेनामा एउटा अपसोस् देखा पस्यो। लड्नुको अर्थ नै कि मार्नु कि त मर्नु हो।
शोभा विधवा भई।
उदाएको तातो घाम हठात् अस्तायो। सुन्तलेमा दोछाया पर्यो।
हरिमाया भर्खरै कुवेतबाट घर आइपुगी। विदेशी नारीहरूप्रति त्यहाँका बासिन्दाहरूले गरेको उत्पीड़नबारे हरिमायालाई सोधे फरक पर्दैन।
कति रहरले विदेशिन्छन् भने कति वाध्यताले वाहिरिन्छन्।
हरिमाया सानै हुँदा उसका ससाना दुई भाइ र एउटी सानी बहिनी रञ्जनालाई छोड़िराखेर बाआमाले त्रिशूलीमा अरू यात्रीसँगै प्राण विसर्जन गरेका थिए।
एउटा खेत र एक ऐकर जति बारी थियो।
दुई भाइ बिरेन र रुपेसलाई मावलीघरमा छोड़िराखेर बहिनी रञ्जनालाई बड़ीआमाले पालनपोषण गरिदिने भरोसामा छोडिराखेर खेत चार लाखमा बन्धक राखेर भर्खर सत्र लाग्दै गरेकी हरिमाया कामको खोजीमा हरेक पसल पसल र होटल लजतिर चाहरी तर उसले चाहे जति उचित ज्याला नपाउने हुँदा अन्त्यमा कुवेततिर लागि।
गरिबीले सानैदेखि सताएकी हरिमाया चरित्रवान्, निर्भीक पनि थिई। मरूभूमिसरह अति गर्मी मुलुकमा उसले एउटी बृद्धा फतिमा सेखको घरमा काम पाई।
उसले मालिक्नीको सेवा र घरका कामकाज मजाले गरी।
उसको काम देखेर फतिमा सेखले आफ्नै छोरीसरह माया गरी। तर देशबाहिर जति नै सुख शान्ति भए तापनि हरिमायालाई आफ्ना ती ससाना भाइ र बहिनी रञ्जनाको मायाले नसताएको कहिले पो हो र!
समय बितेर तीन वर्ष पनि पूरा भएछ।
हरिमायाले घर आउने निश्चय गरी। मई ५ तारिक ऊ आकाश मार्गबाट स्वदेश गमन गर्ने तय पक्का छ। उसलाई बन्दकी जमिन उकासेर नाबालक भाइ र बहिनी अनि आफ्नो भविष्यसमेत बनाउनु छ। केही सामानहरू यथासम्भव ब्यागमा राखेकी छ।
उसकी मालिक्नी फतिमा सेखले थप रकमसहित राम्राराम्रा कपड़ा अनि धाप मार्दै फेरि पनि आउनु ल भनी वायुयानसम्म पुस्यउन आइन्।
आज साहसी हरिमाया घर आइपुगी अनि दुई साना भाइ बिरेन र रूपेसलाई घरमा ल्याई अनि बहिनी रञ्जनालाई पनि ल्याएर आफूसँगै राखी।
बन्दगी राखेको खेत साउँसूदसहित उकासेर आफ्ना स्वर्गीय बाआमाको यादमा गाउँसम्म आउने एउटा बाटोका निम्ति अनुदानस्वरुप केही रकम दिएर गाउँको उद्धार गरी।
आज उनै जाँगरिली हरिमाया मुठी खाएर मुरी उप्जाउन एकलै भए पनि हातमा बीउ लिएर धमाधम रोप्दै छे- भविष्य परिकल्पनाका ससाना धानका बिउहरू।
एक दिन हरिमायाले घरमा निम्त्याई। नगई भएन। फुर्सद त्यति थिएन तर किन बोलाई होली भनेर कौतुहलपूर्ण मनोभावना लिएर गएँ।
घरै रहिछ। म पुग्नेबित्तिकै उसले उसको लोग्नेलाई म आएको कुरा भनी अनि नमस्कार दाजु भन्दै हर्कमान पनि बैठक कोठाको एउटा चौकीमा बस्यो र स्वास्नीलाई बोलायो।
"हरी! ए हरी। हैन दाजुलाई घरमा बोलाएर कता हिँडेकी नि?"
हरी- "ए ल ल ! आइहालें है। नि त्यो ताक खोलेर तपाईं र दाजुलाई सार्दै गर्नु नि! औ! सुनेऊ, त्यो राम्रो खालेचाहिँ है। अस्ति जुवाइँले ल्याइदिएको। म भुटुवा लिएर आउँछु। दाइलाई त कुखुरा चल्दैन। त्यो ठूलो फुरु झिकिदिनु नि!”
नभन्दै विदेशी लेबल लागेको मद स्वदेशी खसीको भुटुवासँग किन नखाने र!
बकुल्लाको जस्तो सानो र अग्लो खुट्टा भएको काँचको गिलासमा घटघट घट घटटटट परेर हर्कमानले आफू र मलाई टेबलको नजिकमा बस्ने आग्रह गरे।
म पनि के कम। फोकटे भेट्टाउँदा, त्यहीँ पनि मटनसँग। त्यस दिनलाई समर्पण गरेर बसें। उनले घड़ीचरो र मैले छागल। आहा!
अघिको जम्मै पिएर सिद्धिएपछि फेरि हरिमायाले लोग्नेलाई इशारा गरिन्।
म स्तब्ध बसें।
पुनः घट घट घटटटट परेर हर्कमानले श्रीमतीलाई इशारा गरे। नभन्दै खसीको भुटुवा एक कटौरो जति सिध्याएर म गोजीमा अस्ति श्रीमतीले माइत जान राखेकी गोडा पाँचेक हजार चुपचाप उसको सिरानीबाट झिकेर बोकेको थिएँ। छपछपे खेल्न गाउँ पसें।
पहिलो, दोस्रो दाउ हारेर नि तेस्रो दाउमा मेरो पालो परेछ। रहलपहल रकम सोरसार पारेर गोजीमा के हाल्दै थिएँ श्रीमती फतफताउँदै आइन् र हातको पत्ती र दाउको पैसा सोरसार पारेर सुइँकुच्चा ठोकिन्।
अघिको नशाले केही छोड्दै थियो। भोकले भुँडी कुइँकुइँ गर्दै रहेछ। म मदहोस् आफ्नै ओछ्यान सम्झेर सिरानी तानेको त घरबाहिर कण्ठे सुत्ने बोरा पो रहेछ।
अहिले म एकलै छु।
रनमाया फेरि फर्किएर आइनन्। एकछिनको रमाइलोले सारा जीवन एकलै पारिस् होइन? बेला बितेर होस आयो।
☐
हिजो यस कथाको पात्र रनेलाई भेटेको थिएँ। विचरा थरथर काम्ने भएछ। नयाँ बजारको साँघुनेर बसेर हात पसार्दै थियो।
मैले- “ओइ कान्छा!” भनें। ऊ ङिच्च हाँस्यो।
म भने उसैको कहानी लेखेर अभिनन्दित भएँ। उसको पो हरि बिजोक भयो।
“आमा दश पैसा देऊ न।”
आज याद आयो आमाको जमाना। जब म विद्यासागरमा कक्षा पाँचमा पढ्थें। छेवैमा हलिम भैयाको बनरोटी उद्योग केन्द्र थियो। सबै साथीहरू चाराना, दशपैसा, आठाना, रुप्पे लिएर स्कूल आउँदारहेछन्।
पैसा हुनेहरू बनरोटी, केक, पाउरोटी, किरिमरोल किनेर खान्थे नै। तर म भने त्यहीँ पारिको मणीधाराको मीठो शितल पानी तनतनी पिएर बिहान आमाले ओड़ालेको अहिलेको भाषामा शुद्ध अर्गानिक कोदाको हिँड़ो भैसीको महीसँग सप्रयाङ, सप्रयाङ पारेर गएको हुन्थें। तर लामो दिन बड्दो उमेर, भोक त लाग्थ्यो नै। मेरी आमाको घर-धन्दाबाहेक अरु आम्दानी थिएन। बाबा साधारण किसान र यसो पण्डित गर्नु हुन्थ्यो।
मेरा हजुर बा धनी थिए अरे।
अभाग्यवस् ऊ सानो हुँदा नै कसैले अवोधलाई झुक्याएर पहाड़े कागजमा अँगेरीको स्याही निकालेर बूढ़ी औंलो थिचाएछन् । त्यसैले बाबाले येनकेन प्रकारेण आफ्नो जिविका चलाएछन् । यसर्थ मेरी आमाले भरपेट घरी जाउलो, ढिँडो त कहिले खीर,. ढकने खुवाउँदै हुर्काइन्।
एक दिन मेरी एउटी केटी साथीले भनी- “औ! तिमी कहिल्यै खाजा खाँदैनौ त! पैसा छैन?”
उसले त्यसो भनिदिँदा मेरो बालहृदय भरिएछ र आँखाबाट स्नेही नुनिला दुईचार थोपा आँसु झरेछन्।
उसैले बिचरा भनेर जामाको गोजीबाट भुटेको मकै र भटमास मेरो खाकीको हाफप्यान्टको गोजीमा हालिदिई।
भोलिदेखि मैले पनि बिहानै उठेर मकै भुट्ने गरेँ र त्यस साथीलाई पनि दिँदै आफू पनि खान्थें।
फेरि कुनै एक दिन मलाई आमाले चाराना दिनुभयो र भन्नुभयो- “हेर सधैँ यो पैसाले पुरयाएर खानु ल!”
मैले प्रत्युत्तरमा टाउको हल्लाएँ।
फुरुक्क परेर खाकीको प्यान्टमा मगमा झरिलो आगोका कोइला हालेर थिचीथिची दलें र धार बिग्रिन्छ कि भनेर कच्चालाइनसम्म झोलामा जतनले प्यान्ट बोकेर गएँ र हलिम भैयाको भट्टिनेर पुगेर प्यान्ट लगाएँ।
बिहानको प्रार्थना सकेर कक्षाभित्र प्रवेश गरेपछि हामी केटाकेटी एउटै कक्षामा आधाआधा बस्थिऊँ।
मेरा आँखा सल्बलाए। चारैतिर हेरेँ। मैले उसलाई देखिनँ। मेरो स्फूर्ति विनाश भयो।
गुरुमा आउनु भयो। रोलकोल भयो।
सबै उपस्थित भन्थे। तर ऊ अनुपस्थित।
गुरुमाले आँखा रसिलो पार्दै भन्नुभयो- “तिमीहरूकी साथी मिरिना स्वर्गवास भइछिन्।”
नितान्त आवश्यक्ता छ। दैनिक जीवनको पर्खाल उक्लन भालेसँगै उठ्छे ऊ। र आज चार घुम्ति पुग्नुपर्ने त्यही पनि हिजोकै आदेश स्वीकार्नु छ। गन्तीमा कति बेला पुग्नु? मनमा थुप्रै भावना र कर्तव्य एकैसाथ ओकलिन खोजिरहन्छन्। त्यही नून हालेको कालो चिया एक बोतल र गोड़ा चारेक आँटाका रोटी तात्तातै रूमालमा पोको पारेर एउटा हरियो खोर्सानी अनि दुई चिम्टी नून।
बस खाजा तयार भयो। अब रासनको चामल छ्वास्स नाङ्लोमा खन्याएर दुईचार पट्यासँ हानी छेकेनेने पारेर भुस, बियाँ र कालै मुसाको लिँड़ एकातिर पन्साएर नाङ्लोबाट चार माना चामल ढेक्चीमा हाली अनि मनतातो पानीले पखालेर झिक्राको दाउरा घचेट्दै चुल्हाको अर्को मुखमा मुसुरी दाल बसाई अनि सोतेले फू... फू... गर्दै पिरो धुवाँको बेदनात्मक आँसु साड़ीको किनारले पुछी। मास्तिर भित्तामा एउटा देवल घड़ी झुण्डिएको छ। ऊ हेर्दै छे- टकलक... टकलक... एक प्रकारको उदासिलो आवाजमा घड़ी केरेरेरे टकलक ढ्याँङ ढ्याँङ ढ्याँङ बिहानको पाँच बज्यो।
दुई तीनवटा सिद्रा आगोमा खराएर सिलौटोमा राखी अनि केही खोर्सानी र नूनसँग एउटा रमभेड़ा उसको पारिवारिक अचार चोर औंलीले उठाएर च्वास्स चाखी अनि वीरमान उसको जीवन साथीलाई एक गिलास रातो चिया पस्किँदै भनी- “मेरो गन्तीमा जाने बेला भयो। आज काम पनि चार घुम्ती पुग्नुपर्छ। खाना सप्पै तयार छ। रनेलाई उठाएर होमवर्क गर्न लगाउनू। त्यसलाई धेरै पढ़ाएर बड़ासाहेब बनाउनु पर्छ...।“
त्यतिकैमा दिपाले बोलाई- “औ रनेको आमा! छिटो गरन। हेर साँढ़े छमा गन्तीमा पुग्नु पर्छ। औ! खैनी पनि बोक ल। मेरोमा त तुरेछ।
नभन्दै घड़ीले कट्लक सरर ढ्याँङ गरेर साँढ़े छ बजायो। घुम, टोक्री र थली गोड्ने काँटा र एउटा हँसियाँ टोक्रीमा हालेर खैनी ओठमा चेप्दै दिपासँग करूणा पछि लागी।
वीरमान रातो चिया दुई तीन घुट्की पिएर बिंड़ी सल्कायो अनि एउटा खुकुरी, क्याटिस, नाम्लो र डोरी लिएर गाईलाई घाँस लिन जङ्गल पस्यो।
रने उठेर हातमुख धोइवरी पढ्न बस्यो। ऊ दुई कक्षामा पढ्छ। आज उसले सरलाई दुईदेखि चारसम्मको गुणा सुनाउनु छ।
ऊ पढ्न थाल्छ- टु वान जा टु, टुटु जा फोर...
वीरमान छसल्याङ घाँसको भारी बिसाउँछ र निधारको पसिना औलीले सोहोर्छ अनि खुड्या... गरेर भित्र पस्छ। बाल्टी लिएर गाई दुहुन्छ। बाल्टीभरि फिँजसँगको दुध बजार ठिकामा लाने क्यानमा भर्छ। एक दुई तीन... जम्मा पाँच लिटर।
एक लिटर जति तताएर एक गिलास रनेलाई दिन्छ। खाना खाइसकेर वीरमान रनेलाई तयार पारेर ट्यूसन पठाउँछ। ऊ क्यान बोकेर दूध ठिका लगाउन शहरतिर जान्छ।
समय बगेको कसलाई थाहा हुन्छ र। आज, भोलि, पर्सि भन्दै रनेले माध्यमिक बोर्ड परीक्षामा प्रथम दर्जामा उतीर्ण गर्छ। क्रमशः एघारा र बाह्र सेन्ट रोबर्टबाट राम्ररी उतीर्ण गरी ऊ सरकारी महाविद्यालयबाट अङ्ग्रेजीमा स्नातक गरी बगानकै एउटा विद्यालयमा स्वयम् सेवक शिक्षक बन्छ।
एक दिनको कुरा हो। अङ्ग्रेजी दैनिक ‘द टाइमस् अफ इन्डिया’ मा एउटा विज्ञापन देखेर उसको मन पनि एकोहोरिन्छ। हतार हतार अङ्ग्रेजीमा एउटा आवेदन तयार गरे आफ्नो बायोडाटासहित पेश गर्छ।
आज अन्तरवार्ता दिन दार्जीलिङ मेलबाट कलकता प्रस्थान गर्छ।
अचेल चुल्हाको भात तिहुन रने आफै गर्छ। बिहान चाँडै उठेर घर कुचो लगाउँछ। आमा-बाबालाई चिया ओछ्यानमा लान्छ।
गाईको दाना घाँस र दूध दुहुनु आफै गर्छ।
वीरमान लगभग सत्तरको हिउँदो काटिसकेको छ अनि ऊ बिस्तारै घामसँगै उठ्छ।
आमाले श्रमिकबाट अवकाश लिएकी छन्।
एक दिनको कुरो हो। माथि नर्थ पोइन्ट डाकघरबाट एउटा पत्र लिएर डाक्वाला सुदिप- “नमस्कार दाजु! जाती हुनुहुन्छ?” भन्दै एघार बजीतिर घरमा टुपलुक्क आइपुग्छ।
रातो लिफा हातमा समाउँदै रनेले “धन्यवाद भाइ”- भन्दै अभिवादन जनाउँछ अनि “बस्नोस् न, चिया पिऊँ, आखिर यही छ यहाँको दस्तुर – भन्दै एक कप चिया र केही बिस्कुट टक्र्याउँछ।
चिया पिउँदै रनेले लिफा खोल्छ। ऊ खुशीले गद्गद् हुँदै सुदीपलाई हात मिलाउँछ अनि बाबा र आमालाई पनि त्यस खुशीको खबर सुनाउँछ।
अहा! ऊ त साँच्चै त्यहीँ बगानको बड़ा साहेब भएछ।
उसले अत्यन्त हर्षसहित मिठाई ल्यायो अनि आमा-बाबालाई खुशीको उपहार दिन बाबाको कोठामा गयो। तर बाबा भने ज्यादै खुशीको पराकाष्ट नाधेर सुटुक्क आँखा चिम्लेछन्।
हर्ष र विमर्शको दोसाँधमा रनेले नियुक्ति पाउँछ। अब त त्यस घरमा ऊ अनि उसकी एउटी आमामात्र रहन्छन्।
त्यस दिन बागमती धरधरी रुँदै थियो। आकाश चुहुँदै थियो। घाटबाट श्मशानहरूमा ठूलै खलबली थियो। धरणी हिक्का हिक्का समेटेर सुकसुक सुक्सुकाउँदै थियो। आँखाआँखामा विरहका पानी भरिएका नेपालीहरू दरवार रक्ताम्मे भएको कथा सबै आफूमा उनेर बेदनाको सीमा नाघ्ने टाकुरो उक्लिँदै थिए। अहो कत्रो भयानक दरवार हत्याकाण्ड।
रिक्साको बुई चढ़ेका हामी र मेरो दायाँतिर ऊ। एक अपरिचिता एक अबला बिछिट्ट काली। अहो तर कति राम्री ! प्रकृतिले बनाएकी श्यामसुन्दरी परी। एक मोहनी हो, अझ पनि म बिर्सन्न उनीलाई।
निधारमा रातो बिन्दुली टीका र गलामा साधारण एउटा लकेट। सेतो टिकटिके चोली अनि हल्का रातोमा सेतो बुट्टाझैँ देखिने साड़ी, गोड़ामा त्यही हात्तीछाप चप्पल। सिउँदो रितै थियो न त पोतेको कुनै सोच थियो। घाम निक्कै तातो भए तापनि मेरो ऊसँगको यात्रा सहभागिता लगभग चार किलोमिटरभन्दा बढ़ी भए तापनि उसलाई बुझ्नु नै मेरो आवश्यकता थियो आज।
तर उसका नयनद्वयबाट ताता, नुनिलो बिन्दुहरू घरीघरी उसकै तरूणी छातीमथि तपतप टप्किन्थे।
जिज्ञासाको पराकाष्ठमा पुगेर मैले एउटा प्रश्न सोधें- “के तपाईंको आँखा दुख्छ? कि अपरेसन गर्नु भयो?”
प्रत्युत्तरमा उसले भनी- “अब हामी टुहुरा भएनौ र दाइ ? यसैले आँसु थाम्न नसकेर रोएकी।”
मैले पूर्व पश्चिम राजमार्गको त्यो असहज यात्रा उसको साझेदारी बन्नु नै पर्ने भयो त्यतिबेला। आफू गहुँगोरो र अल्लारे, तर उसको कालो लावण्य रूपसँगै भिन्न हुनभन्दा बेथा समेट्न मन लाग्यो। आपस्तको भावनामा दुवै बाँधिएछौँ।
ऊ मनकी धनी रहिछ। विस्तारै उसले पुष्ट शरीर मतिर ढल्काउँदै काखको सिरानी लगाई। बेठेगाना आँधी रोमाञ्चका तिर्सनामा भँगालिएलाझैँ उष्ण परिवेशको बाक्लो प्रतिबिम्बमा स्थिर मनको ढोका खोल्दै उसका घना केशराशी मेरो युवा प्रलोभनमा उच्छृङ्खल काखभरि पोखिए।
गन्तव्य अझै निकै छ। विषय परिवर्तन गर्दै भनें- “तपाईंको शिक्षाचाहिँ?”
छोटो मुस्कानसँगै उसले भनी- “मात्र प्लस टू।”
“त्यसपछि?”
मेरो छोटो प्रश्नको लामो सुस्केरासित उसले भनी – “त्यसपछि अरब अनि तीन वर्षपछि पुनः घरै छु।”
“अनि विवाह नि?”- फेरि सोधें।
“हजुरको ट्याग कोइसन निक्कै तिक्खर लाग्यो।” - उसले मतिर फर्केर मन्द मुस्कानसहित भनी- “अहँ सोचेकी छैन अहिलेसम्म र अझै भन्नुपर्दा नेपाली चरित्रमै छु दाइ। तर विदेशमा नारीहरू चरित्रहीन हुन्छन् भन्ने कुरामा आफू विश्वस्त छुइनँ। आफू समेटिए कलङ्क लाग्ने छैन। जागिर छैन, उद्योग सीमित छ। यसैले मुलुक विकलाङ्गौँ छ। तर चरित्रमा साँचै धनी छ। यसैले रोजगारका निम्ति मात्र हो विदेश। तर आज नै यो निर्णय लिनुपर्ने हुन्छजस्तो लाग्दैछ।”
यसरी बेचैन अवस्थामा चैनको यात्रा गुड़िरहेथ्यौं हामी। हठात् निन्दा खोलामाथिको साँघुमा रिक्सा घस्याक्क गर्दा पो धुलाबारी आइपुगेको थाहा लाग्यो। केही पर रिक्सा रोकेर चालक दाइ पानी पिउन ओर्लिए। हामी पनि केही फल किनेर खान थाल्यौँ।
पुनः रिक्सा गुड्यो।
मैले बातचितको सिलसिला जारी राख्दै प्रसङ्ग बद्लिएँ।
“अन्त चालक दाइको नाउँचाहिँ के नि?”
उनले पनि सुस्केरासित भने- “भन्न त सबैले भूमिकिशोर श्रेष्ठ भन्छन् हजुर।”
“अहो! बड़ो गजबको नाउँ रहेछ, हो कि दाइ?”- दिपालीले भनिन्। सबै खिसिक्क हास्यौं।
श्रेष्ठ दाइले कुरा थपे- “नाउँ गजब हुँदैमा खै के हुँदोरहेछ र! हिजैमात्र मेरी श्रीमतीले अफसोस लागिरहेछ। उसको त किन नै सुर्ता लाग्थ्यो र ! तर त्यस छोरीको सुन्दर भविष्य कसले निर्माण गरिदेला भनेर।”
उनका वेदनात्मक ध्वनि सुनेर हाम्रा फर्साइला अनुहार पनि ओसिए अनि परेलीहरू भिजेर सुके।
हामीमा सन्नाटा छायो। तर मुलुक द्रवीभूत र निर्देशहीन अवस्थामा वाफिरहेथ्यो एउटा इतिहासको इतिश्री भएर पुनः इतिहासको स्थापना क्षितिजले बोकिल्याउँदै थियो।
रिक्सा टक्क रोकियो। चार आली मोड़मा। प्रहरीले झोला छामछुम परे। हामी ओर्लियौँ। चालक दाइको पारिश्रमिक ज्याला उनैले दिइन्। मेरो पैसा खल्तीमै रह्यो।
“किन मेरो पैसा नलिएकी नि!”- सोधें।
“अतिथि देव भवः।”- उनले भनिन्।
रात पर्लाझैँ देखिन्थ्यो। गाड़ी गुड़ेको थिएन। चारआली जङ्गललाई दाहिने पारेर हामी हिँडिरह्यौँ। दुवागड़ी मोड़देखि भित्रभित्र जङ्गल हुँदै भूटानी शरणार्थी शिविर छिचोलेर केही परतिर धिपधिप बत्तीहरू बल्दै थिए। एउटा कसाइले डोहोस्याएको खसीजस्तै म कुनै एक पूर्ण अपरिचित सुशीला महिलाको पछि तानिरहेको थिएँ।
एउटा झोपड़ीको प्राङ्गनमा उनलाई अरू महिलाहरूले स्वागत् गर्दै भित्र्याए। भलाकुसारी गरेँ। तर म भने मूर्तीवत ठिङ्ग उभिरहें। आमखोरामा पानी दिँदै भान्साको निम्तो गरिन्। मैले खाइरहें। उनीहरू मलाई हेरिरहे। हो, त्यस रात म त्यहीँ बसें। मैले उनलाई मन दिएँ। उनले मलाई सम्मान दिइन्।
रात र सूर्यको समागममा बिहान भयो। तर तिनको कालो मलाई सरेन।
सरोस् पनि किन र? कालाहरूको हृदय पनि उस्तै हुन्छ जस्तो सेताहरूको छाला हुन्छ। गोराहरूसित त्यति अहम् किन हैं? कालो मसी नै सेतो कागजमा खुशी हुन्छ जसरी कालै रातमा ताराहरू आकाशमा चम्कन्छन्। कालाका पनि मोह माया सुनाखरीजस्तै फुल्छ। त्यहाँ पनि प्रकृति छ। कालै अक्षर पढ्नेहरू नै विद्वान् भए। तर अहिलेसम्म सेतो अक्षर कुहिरो बराबर, हिउँ बराबर, रूवा बराबर भनिएको छ र? हो, म त्यस दिन ती काली केटीको मोहनीमा बाँधिएँ।
त्यस दिन मुलुकले कालो कात्रो ओड़ेको थियो। प्रत्येक बस्तीबस्ती र झुप्रोहरू स्तब्ध थिए। सन्नाटा थियो। एउटा ठूलै हिम शिखरको ऐतिहासिक पैह्रो चलेको थियो। फेरि नयाँ बिहान आउनलाई रात प्रसूतिगृहमा चिच्याइरहेको थियो। मेरी मनकी काली, दिलकी काली, चाहनाले रोजेकी काली!
रङ्गहरूकी एउटा रङ्ग। छुट्टै प्रतिभा बोकेही रातकी रानी। दिनको अनमोल निशानी। आँखाकै सानी नानी!
सेताहरूले नै भारतभूमिको नसा नसा चुसेका थिए। सेताहरूले नै नालापानीमा नेपालीहरूको मासी चुसेका थिए। बरू कालै रातमा जूनकिरी चम्किरहोस्। यहाँ मोह प्रणयमा समेटिनुपर्छ भन्ने छैन। तिमी मेचीपारिको मौसम सुहाउँदी छौ। म भावना गुनगुनाउँदै उड़िदिन्छु तिम्रा फूलबारीहरूमा।
आखिर के भयो र! नरेश नभए पनि देश त छँदैछ। होइन र?
डोकाको चोया खुस्केपछि नै डोको पुरानो हुन्छ र फ्याँकिन्छ। तर मान्छे जति क्यालेण्डर पुरानो हुन्छ उति बूढ़ो हुन्छ वा पुरानो हुन्छ।
वर्ष यसरी नै बाह्र महिनाको फन्कोमा हिउँदो र वर्खा घरि चिसिएर त घरि भिजेर निखिन्छ।
तर मधुमासको आहटले पनि फलेदो, सिमल र लालीगुराँसहरू फक्रिन्छन्। चराहरू रमाउँछन्।
पन्नापन्ना पल्टिएर साठी पुग्नु पनि जीवन उत्तरार्धको रमाइलो क्षण भनौँ भने खै के रमाइलो भन्नु र! त्यो जागिर छँदाको साथीभाइ गुमाउनु हो। तर एकापट्टि सोचे कसैको अङ्कुसमा तानिएर हिँड्न बाध्य बलियो हात्तीसरह हो जिन्दगी।
स्वतन्त्रमा जन्मिएर परतन्त्रमा सधैं आफूलाई खटनमा राखेर हुन्छ हजुर भनिरहनु पर्ने शोषण हो जिन्दगी।
प्रायः यस्तै थियो मोहनको जीवन पनि। थोरै तनखामा आफूलाई जाँगिरे हुँ भनेर दाबी गर्नुपर्ने र गाउँले कहाँ बेलाबेला दुईचार पैसा कहिलेकाहीँ सरसापट मागे पाइनेसम्मको झिनो विस्वासमात्र। तर खासै गल्जो टार्नेचाहिँ होइन।
जे होस् त्यसलाई पनि भाग्यको खेल नै मानौँ।
अब त कत्ति पो रह्यो र अवकाश लिन?
उनलाई सरस्वतीले खटाएको बरदान सम्झिन्थे मोहन उनको शिक्षणकाल पूर्वार्धको उन्मादमा रातको प्रथम प्रहरमा देखेको सपनाजस्तो आशावादी हुन्थ्यो। त्यत्तिको उत्तरार्धमा नहुँदोरहेछ। अर्थात् आशाअनुरूप जीवन।
दुई सन्तान र एउटी सहपाटी।
उनीहरूको जीवन रथ चलाउने पैयाहरू।
सन्तानको पखेटा लागेपछि अबउसो बोझहरू पनि हलुङ्गो हुने कल्पना तर अहँ पूर्वाधारका लक्ष्यहरूले माइलखुट्टी नपुग्ने एउटा हिँडाइ।
जहाँ आफू पुग्न खोजे पनि स्वतः पाइलाहरू खुस्किदिन्थे चाहनाका।
यसैले मोहन केही ससाना शिशुलाई साथी सम्झेर स्नेही हातहरूले मुसार्थे।
पाठशालाका भित्ताहरू रूखको बोक्रासरह प्रतिवर्खा एकदुई झरिरहन्थे। झ्याल र ढोका चुक्कुल नलाग्ने भएका थिए। स्याम्पट प्वाक्क उप्किएको थियो। टेक्ने भुइँका तख्तीहरू फुटेका। भित्तामा झुण्डिएका चार्टपेपरमा परिवेश नसुहाउँदो भाषामा लेखिएका केही तरकारी र फलफूलका परिचयात्मक नाउँहरू थिए।
तैपनि मोहन आफूलाई एक सफल शिक्षक सम्झिन्थे।
एउटा पुरानो घुम्ने चौकी अनि लङ्गड़ो मेच। सकिँदो जाँगिर अनि त्यसपछिको आशावादी परिकल्पना।
खल्तीमा आफैले कमाएको रकम नभएपछि जतिसुकै मनमा रहरहरू उम्रिए पनि मौन रहनुबाहेक विकल्प नरहने सोचले पश्चिम ढल्किएको घामजस्तो जीवनचक्र कसरी टुङ्ग्याउनुपर्ने चिन्ता।
यसरी अर्थ खोज्दै हिँड्थ्यो उसको पाइला।
अहँ बचतमा कुनै राशी थिएन र रहेन पनि। आ... जे होस्!
मजस्तै त होला नि अरु जाँगिरे पनि। मनलाई एकाएक थन्काएर मोहन बालबालिकाहरूको खातामा क ख ग साउँ अक्षरले खिँचिदिँदै उच्चारण गर्न सिकाउँथे।
जति च्यातिन्थ्यो भित्तेपात्रो उत्तिनै मेटिन्थे त्यहाँका तिथि, बार, गते, तारिख र अङ्कहरू।
अचेल धुरीमा परेवा छैनन्। नत्र प्रहरमा घुघुराउँथे।
भित्तामा शून्यतामा छक् छक् गर्ने एउटा मोडल छ। अनि छ आफूसँग मुटुको आलिन्द। त्यो पनि ‘धक धक गर्छ उसरी नै। रूखका पात झर्छन, नयाँ पलाउँछन्।
बोक्रा उप्किएर नवीन बन्छन् तर जीवन उप्किन्छमात्र पलाउँदैन। कति मान्छेको बाँच्ने अधिकार छिन्छ। त्यो क्यालेण्डर तर जस्तोको त्यस्तै।
जीवन पनि सपना रहेछ।
बेलुकाको विदाइ घण्टी बज्छ। जुरुक्क उठ्छ मोहन। चार प्रहर घरको धुरीमन्तिर छ्याप्प निदाउँछ।
फेरि फर्केन मधुमास। फलेदो, सिमल र लालीगुराँस फुलाएर।
आएन बसन्त ऋतुहरूको गीत गाउँदै। फुटेन मुहान अर्को सावन रसाउँदै।
हिंसा एक ठूलो अपराध हो। त्यही पनि नारी। एक वृद्धा हजुरआमा अनि उनकी नातिनी निरा। न हजुरआमाका अभिभावक थिए न त रहल सन्तान कोही मरेका थिए भने अरू मारिएका थिए।
वृद्ध भएर पारिवारिक सहारामा बाँच्नु पर्नेमा अझै आफू उपेक्षित हुनु पनि असहनीय पीड़ा हो या दुर्भाग्य। जे होस् आफ्नी नातिनीप्रतिको जिम्मेवारी बहन गर्न उनी तटस्थ छिन्। एउटा लाहुरेसरह अनि सहारा पौने घरका भित्तामा मृतकहरूको तस्बिर लहरै छन्। जब बृद्धाको नजर पुग्छ तब बलेसीको तप्कनासरी आँखा रसाउँछन्। हुर्किदै गरेकी एघार वर्षे नातिनी पनि अब हजुरआमाको रुवाईको कारण बुझ्न थालेकी छे। तर तस्बिरसम्बन्धि कथा व्यथाहरूमा भने अनभिज्ञ छे।
निराले एक दिन जम्मै तस्बिरहरू लुकाइदिई। ऊ चाहन्थी कि अबउसो हजुरआमा नरूऊन्।
सानो कोठेबारीमा जे उब्जन्थ्यो त्यही तरकारी बेचेर ती दुई प्राणीहरू पालिन्थे। केही सागपात लिएर बुझ्दा प्रत्येक शनिबार हाट जान्थिन्।
निराको पिता प्रहरीमा थिए। एक दिन अचानक आफूले पहरा दिइरहेको ठाउँमा एक हुल चोरहरूले अन्धाधुन्दा प्रहरीमाथि गोली चलाए। घटनास्थलमा नै प्रहरी लक्षमणको प्राणान्त भयो।
यसरी प्रहरी लक्षमणको मृत्युहुँदा निरा गर्भमा थिई। देशमा जनयुद्ध चलिरहेको थियो। गाउँ एकान्तमा थियो। गाउँमा न त औषधालय न त पानी, बाटो र बत्तीको व्यवस्था थियो। तेजुको एउटा किराना पसल थियो। त्यहाँ जे किन्न पाइन्छ त्यो नै गाउँलेहरूले सौभाग्य थियो। बदनालाई व्यथा लाग्यो। उनी छट्पटिन लागिन्।
वृद्धा सासुआमा फसादमा परिन्। अब के गर्ने?
आफैले जानेभरका ओखती गरिन् तर भएन। भरोसा खोज्दै वैद्य गुहार्न गइन्। त्यतिकैमा नजिकैमा गोली पड्किएको आवाज आयो।
वृद्धा वैधलाई लिएर संघारभित्र पसिन् तर बन्दना भने निरालाई जन्माई राखेर प्राणान्त भइन्। गाउँलेहरू आएर हेरे। सबैको आँखामा रोदन थियो भने वृद्धा सासुआमाको आँखामा कुनै विशेषता थिएन। उनले हरेकपल्ट रोएर उनको आँखा मरूभूमिसरह थियो। स्तब्ध भएर मुक दर्शकसरह हेरिरहिन्।
मुखेनीले नाल बेड्याइन् र निरूताले स्तनपान गराइन्।
समय, देश, काल र परिस्थितिसँग हुर्कन्छ। आज सत्ताशिन छन् जनयुद्धका भलाद्मीहरू तर पीड़ादायक छन् युद्ध भोग्ने ग्रामिणहरू।
वर्ष थुप्रै बित्यो। तर व्यथा बितेन। घाउ अझ सशक्त बन्यो। मानिसमा तिब चरित्र बन्यो। देश, गाउँ समाजले अभिभावकहीनता बोध गस्यो। उपेक्षित भए बासिन्दा। साम्य तर अदृश्य मानहानी अनि पिरोलोहरू। भनौँ त्यही पुरानो कालखण्ड जो पन्ध्रौँ शताब्दिमा जारहरूले गरेका थिए।
जे होस्, निरा एघारा वर्षकी भई।
हजुरआमाले शिक्षाको दायित्व लिइन्। आफूले उसबेला प्रौढ़ अवस्थामा आफ्नै पतिद्वारा शिक्षित बनेकी थिइन्। गाउँमा ससाना मुजुल्का (निवेदन)-हरू पनि लेखिदिन्थिइन्। रामायण, महाभारत र अन्य ज्ञान हाँसिल गरेकी रूपा गाउँमा भद्र महिला थिइन्।
आज नातिनीको पालनपोषण र शिक्षासमेत जिम्मा लिएर एक योग्य नागरिक निर्माण गर्न उनी तल्लिन थिइन्। यदाकदा सुन्नमा आएका घटना त दुःखदायी थिए नै तर त्यस दिन आफू गाउँको किराना पसलमा आवश्यक सामाग्री लिन गएकै बेला घरमा एकलै निराको बलत्कारपछि मारिएको विभत्स दृश्यले रूपाले पनि प्राण त्याग गरिन्।
प्रभाकर टाउको दुखेकोले निक्कै व्यथित थिए। तर सामाजिक विचार भएका व्यक्तिलाई आफ्नो दुखाइमा पनि केही शाब्दिक, शारीरिक, आर्थिक सहयोग नगरे मन मान्दैन। त्यहाँबाट व्यक्तिगत लाभ छैन बरू प्रतिप्रश्न भने प्रसस्तै छन्।
मैले ढोका ढकढकाएँ र सम्बोधन गरेँ- "हजुर! कोही हुनुहुन्छ?"
प्रत्युत्तरमा - "हजुर! को हो?"
मैले- "म पो काका!"
उनले मेरो स्वर सुनेर भन्दै आए- "ए... एकक्षण पर्ख ल। म आएँ।"
उनले ढोका खोलेर हेरे- "ए तिमी पो! म त हेर न हिजो बिहाबाट ढिलो घर फर्केछु। त्यै हो साथीभाइसित बिहेमा जुटाइ भएछ। आ... रमाइलो पनि गर्नु पर्छ है भनेर घरमा फोन गरेँ अनि ढुक्कले बसें। आठ-दश भाइ भइएछ। त्यहीँ त हो टेबलमा बसेपछि। अलिअलि चाराकचुरूक खाइएछ। दिनभरि सरौ लेखेको अनि त्यसको हिसाब बुझाउँदा। एताउता लगभग साँढे बाह्र बजेछ। दुई रातको अलिअलि निद्रा र यसो हल्का रमाइलो गर्दा प्रेसर हाइ भएर होला टाउको दुखेछ।"
उनले आफ्नो व्यथा भनी नसिध्याउँदै अर्को प्रश्न गरे- "अनि कति कामले?"
अब बल्ल मैले आफ्नो कुरा राखें- "होइन काका! यसपालि मलाई पनि कविता सङ्ग्रह निकाल्ने विचार आयो।"
उनले प्याच्चै सोधिहाले- "अनि खोइ त पाण्डुलीपि?"
मैले झोलाबाट पाण्डुहलीपि झिकेर दिँदै भने- "यी यही हो। हेर्नु न। उनले सरर पल्टाएर एउटा कवितामा टक्क नजर अड़ाएर भने- "अँ यो कविता निक्कै राम्रो लाग्यो-
जून खसेपछि नै
जूनकिरी निदाए
दिन भएपछि
आँखा निदाए
तर पटक्क निदाएन मन...
ल ल म विस्तारै हेर्छु र केही लेखिदिन्छु।"
फेरि उनले मतिर हेरेर भने- "सबै तिमीजस्ता अर्धबैंसे उरन्ठेउले तन्देरीहरू जिउमा ट्याटु खोपेर, कपाल रात्तै-पहँलै पारेर, दङदङ गाँजा गनाउँदै हिँडेको बेला तिमीलाई चाहिँ यो केको भूत चढ्यो? कुरा राम्रो हो। साहित्यमा रूचि राख्नु, राम्रो सङ्गत पाउनु हो। आदर्शलाई बनाइराख्नु हो। पुस्तकसँगको हेलमेल हुनु हो। अनि भन तिमीलाई यो प्रेरणा कसले दियो?”
उनको सुझाव र सल्लाह शिरोधार्य गर्दै मैले उनको प्रश्नको जवाफ दिएँ- "आमाबाट।"
उनले पुलुक्क मतिर हेरे र भने- "के तिम्री आमा साहित्यिक हुन्?"
मैले टाउको हल्लाउँदै- "होइन" भनें।
"अनि कसरी त?"
उनको प्रश्नको जिज्ञासा परिपूर्ण गर्न मैले भने- "मेरी आमा पनि शिक्षित गृहणी हुन् र साहित्यमा रूचि राख्छिन्, पुस्तकायलबाट साहित्यिकहरूका विविध साहित्यका पुस्तकहरू ल्याएर पढ्ने गर्छिन्..."
मेरो उत्तरको अन्त्य नभई उनले अझ थपे "अहो! कति उत्तम र आदर्श विचार रहेछ। तिम्री आमाको साधरण शिक्षा लिए पनि उच्च विचार। सबै नारीहरू प्रायः नै शिक्षित लाग्छ मलाई। अक्षर ज्ञान हुनुमात्र शिक्षा होइन। आमाहरू नै आफ्ना शिशुहरूप्रति जिम्मेवार रहन्छन्। कुन आमा यस्ती होलान् कि मेरो सन्तान बेकामे होस् भन्ने।"
उनले अझै भन्दै गए- "हेर आलोक मैले पनि आमाबाट नै प्रेरणा पाएको हुँ। मेरो बाबा म सानै हुँदा केही धन कमाउने अभिप्रायले विदेश गएका अरे तर अहँ!" उनले आँखाका दुवै कोशबाट तरक्क आँसुका बिन्दुहरू टप्काउँदै भने।
"उ हेर न आलोक! मेरो बाबाको तस्बिार त्यही हो। त्यपछि म आमासँग नै रहें। अझ पनि मेरी वृद्ध आमा ऊ... पर भित्र कोठामा सुस्ताइरहेकी छिन्। मेरी विधाता! मेरी ईश्वर! दिव्य मूर्ती उनै हुन्।"
बडो जिज्ञासा लिएर म वृद्ध आमालाई भेट्न गएँ अनि उहाँको चरण स्पर्श गरें। टाउकोमा हात राखैर भाग्यमानी भनी आशिष दिइन्। त्यपछि काकाले भने- "आज कसरी तिम्रो र मेरो नाउ मिल्यो? म छक्क परेँ। मेरो नाउ पनि कुनै पण्डितले राखेको होइन, आलोक भनेर। तर पछि म ठूलो भएर जब पल्टन जाने तरखरमा थिएँ अनि त मेरी आमाले साइत हेराउन पण्डितजीलाई घरमा बोलाउनु भएछ। अनि म जन्मेको दिन तारिख एकाएक भनिदिनु हुँदा आबाट आलोक नै जुरेछ। अब भन त आलोक! आमाले कसरी जुराउनु भएछ त मेरो नाउँ। यो प्रकाश बुझाउने तिम्रो मेरो नाउ मलाई त अझ रमाइलो लाग्यो। हुन्छ आलोक ! अब तिमी ढुक्कले बस। म तिम्रो सङ्ग्रह हेरेर मैले जाने बुझेको केही शब्द लेखिदिऊला अवश्य। अँ... सुन त आलोक! साहित्य सागरको पानीसहर हो। उगाएर कहिल्यै सकिँदैन। तर पाठकको अभाव छ। हाम्राहरू साहित्य पढ़िदिँदैनन्। भाषा, साहित्य र संस्कारलाई लत्याउनु भनेको हाम्रो जातिको पतन हुनु अथवा मासिनु हो। तर पनि हामी केही लेखिरहुँ है। त्यतिमात्र होइन आलोक प्रकाशकको अभिभारा पनि म नै लिइदिऊँला।”
त्यसपछि म गदगद हुँदै घर आएँ अनि आमालाई च्याप्प समातेर भने- "आमा! प्रकाशकको अभिभारा पनि काकाले नै लिनुभयो।"
आमाको आँखाबाट उसै गरी हर्षका आँसुहरू तपतप चुहिए।
आलोक पाण्डुलिपि हेर्न बेलुका शोफामा बसे। उनकी श्रीमती प्रतिमा पनि भान्सा कोठा सफा गरेर छेउमा आएर बसिन्। प्रतिमा एलएलबी गरेर पनि त्यसै घरै थिइन्। तिनी बूढी सासुको हेरचार र श्रीमान्को टहल गर्थिन्।
यता दार्जीलिङमा गोर्खाल्याण्डको आन्दोलन जोरसँग भइरहेको थियो। बङ्गालमा कम्युनिष्टको सरकार र त्यसका पक्षधरहरू आन्दोलन दबाउन भगीरथ प्रयन्त गरिरहेका थिए। प्रतिमाले आन्दोलन समाप्तिपछि नै आफ्नो जीवनोपार्जन सोचेकी थिइन्। तर साहित्यमा निक्कै रूचि राखेकी प्रतिमा उपन्यास प्रकार कोविद्को नोयो उपन्यास लिएर बसिन्। अनयासै आलोक र प्रतिमाको पाण्डुलिपिभित्रको एउटा कवितामा आँखा पर्यो।
कविता यस्तो थियो-
शिर्षक - त्यो आकाश।
आकाश खस्छ भनेर पोथी कङ्कला शब्द बोली
तर दिन भने छ्याङ थियो
भालेको खुट्टाको बाँधेको पीर एकातिर
अर्कोतिर आकाश खस्ने पीर।
हुन पनि एकाएक मकैको थाङ्ग्राबाट
घोगा र दानाहरू बरबर्ती झरे
पोथी अत्तालिरही
भाले भोक्कै थियो
मुसो झुत्ता काँटिरहन्थ्यो
सर्प मुसो दुकिरहन्थ्यो
आकाश चुपचाप थियो।
आलोक र प्रतिमाले हेराहेर गरे। दुवै अपूर्ण जीवन कथा, कथा नटुङ्गिदै यसै रह्यो जिज्ञासाको कथा।
ऊ विछिट्ट राम्री थिई। दुईवटै गालामा अलिअलि खोपिल्टा थिए अथवा डिम्पल। पातली, साँवली वर्णकी, हँसिलो अनुहार। घुड्गुरिएको कपाल। केही उँचा कठिन पयोधर, पुष्ट शरीर।
यी हेर्ने आँखा पनि ऊसँग नठोकिई छुट्टिन नमान्ने। स्वरको प्रतिध्वनि उसकै कण्ठबाट उछिट्टिएर ओठको कम्पनमार्फत् कानसम्म आइपुग्दा निक्कै वेगवान गुडिरहेको कुनै वस्तु पनि शायद टक्क अड़िन्थ्यो।
दृष्टि हटाउनै नमिल्ने कति राम्री! मुस्कान नै जूनजस्ती। भरखर फक्रिएको गुलाबको पत्रदल। बेमौसममा पनि बसन्तमा जस्तै खड़ेरीमा पनि वर्षामा जस्तै। सधैं चैतको मधुमासमा फुलेका सुनाखरी या लाली गुराँस, खै के भनौँ! त्यो तरूणी जोबनसँग सो झण्डै उजाड़जस्तो देखिने कञ्चटतिर सेता देखिन थालेका राँहरू र आँखाका कुना कुनामा चाउरिन लागेको आफ्नो रूप।
मनको बाकसबाट यति धेरै प्रेमका सौगातहरू घोप्टाएर छ्याप्पै छोपिदिऊँ कि लाग्छ आफूलाई।
मुस्किलले आँखा माडेर उकालो लाग्यो मन। भरेसम्म मुटु धकधकाइरह्यो। आँखा सलबलाए, खुट्टाहरू सकसकाए। को होली ऊ? जिज्ञासा रह्यो।
बल्लतल्ल मनलाई साम्य बनाएर जिज्ञासाको उत्तर खोज्न आतुर हुँदै गर्दा ललिता चियाको बुट्टासँगै ठोकिन आई। सोधौँ लागेका शब्दहरू किलकिलेभित्रै अड्किए। खै कसलाई सोधौँ? त्यो अघिको बिम्ब हो या प्रतिबिम्ब, एउटा मानव आलोक। टिलिक्क टल्किने शीतभित्र छरपष्ट भएको सूर्यजस्तो उसको सुन्दर आकृति ।
कसरी उतारौ उसको चित्र? मनकै खाड़लबाट उठाएर एक डालो माटो मूर्ती पो बनाऊँ कि! नाउँ के राखौँ सुन्दरीको काल्पनिक? अब ऊ कहिल्यै नछुट्टिने भई मुटुको अलिन्दबाट। छातीभित्रै धड्कनमा निःसन्देह हल्लिइरहने भई शायद।
सम्झनाको चियाले ओँठ रसाउँदै उसैको ढल्किँदो जोबन हाँगाहाँगा रात्तै फुलेको चैते फलेदोसँग एकक्षण सुस्तायो यो मन।
मन अहिले यहीँ छ। सम्झनाका अक्षरअक्षरको संयोग गर्दै। फेरि उड्यो हृदयको पिञ्जड़ाबाट। बतासियो अघिकै प्रत्युत्तर खोज्न चियाबारीको गल्छेड़ीतिर। साँध लाग्न नमान्ने रहेछ मनका रहरहरू। कसैले भन्यो "कृष्णा" अरे उसको नाउँ। म त रेवती भनौँ भन्दै थिएँ।
तर ऊ भने ईन्द्रेणीजस्तै स्वात्त हराई। जसरी हराउँछ पुर्नेमा बादलभित्र जून।
"परीजस्तै छे, सानो जातकी भई र पो त ! नत्र..."- कसैले बोलेको शब्द कानको पर्दाभित्र स्वात्त पस्यो । अझ उठ्यो जिज्ञासाको पहाड़। अहो सुन्दरतामा पनि जात हुन्छ र? के तिनको सुन्दरतामा ईश्वर रमाउँदैन र? तिनले चढ़ाएको प्रसाद ईश्वरले ग्रहण गर्दैन र?
यहाँ मान्छेहरू मान्छेलाई नै उल्लु बनाउँछन्। सुन्दरता उसको तपस्या हो। आराधना हो। कलम प्रत्युत्तरको पर्खाइमा समय खर्चिरहेथ्यो। हो त्यही बाटोबाट आइन ललिता।
उत्सुकताको निःस्वास लामो तानेर प्रश्न- "ए सुन्यौ ? त्यो राम्री केटी को हो?"
प्रश्न सुनेर भनी ललिताले, "उसको नाम रश्मी हो। कक्षा नौमा पढ्छे। साह्रै मिलनसार छे। कति झुकिन्छन् ऊसित। चरित्र पनि राम्रो छ। दुई दिदी बहिनी र एउटी आमा बस्छन् परिवारमा। मिठो बोल्छे। सफा बस्छे। हाम्रो प्रणेशसँगै पढ्छे। परीक्षामा सधैं प्रथम हुन्छे"
प्रत्युत्तरमा घारबाट मौरी बाहिर निस्केजस्तो ऊप्रतिको व्यवहारिक जानकारी कानभित्र पस्यो।
समय झण्डै साता दिन बितेछ। फोनमा घण्टी बज्यो। उठाउन खोज्दा खोज्दै काटियो।
आज मलाई ऊमाथि लादिएको जात, समाजको अराजकता, उसले जिउन पाउनुपर्ने निसङ्कोच जीवन शैली र उसलाई होच्याउने शिक्षित-अशिक्षित मिश्रणयुक्त गाउँ, धर्महरूको तगारो विषयलाई पारेको नयाँ पृष्ठभूमि चाहिएको छ।
फेरि भेट्ने इच्छाहरूलाई मुटुमा पालिराखेर म मेरै संसारमा उड़ें। अन्ततः केही दिन नबित्दै दुरभाषको घण्टी बज्यो। उठाएँ।
"हल्लो!"- एक परिचित आवाज धारावाहिक आइरहे। म दङ्ग परेँ। विश्वास लागेन। फेरि दोहोराएँ। उसको हठात् निधन भएछ।
त्यो कस्तो दैव हैं? जुन सृजना थियो त्यसले फक्रिनु थियो। किन टुसाउन दियो? यदी निमोठ्नु नै थियो भने। किन जातजातको आँगनमा अजात भनेर परिचय दियो? किन खोस्यो उसले त्यो रूप? किन झारिदियो हुरीले उसको सुन्दर र सुगन्धमय सांसारिक जीवन?
अहिले पनि जिवित छ यो मनको मन्दिरभित्र त्यो तस्बिर। कहिलेकाहीँ अघिल्तिर उभिदिन्छे र म नानीभित्रको पर्दाबाट हेरिदिन्छु।
आऊ पूर्णजन्म लिएर। सुसेल्दै मीठा गीतहरू। यहाँ माघ-फागुनका द्वयमासिक शिशिर रमाउन लेकबाट ब्याँसी झरेका रानी चरी भएर। स्वेच्छिक रङ्गमा उड़ म हेरिदिन्छु त्यही तिम्रो मानव रूप।
त्यहाँ जात छैन न छ छुवाछुत
प्रणय फूलोस् तिम्रो मेरो
नफुलोस् तर काँड़ाहरूमा गुलाब।
घरका सबै भित्ताहरूबाट कमेरो उप्किसकेको थियो। मझेरीमा लिपेको गोबर पनि उप्किएर खल्डाखाल्डा थियो। बार्दलीहरू पानीको बाछिटाले लागेर बेरमाइला देखिन्थे। आँगनको लेउ चर्को घामले छियाछिया देखिन्थ्यो। तै पनि त्यो जिर्ण घरमा कोही बस्थे भन्ने सङ्केत बेलुकाको छुस्स धुवाँ र पिलपिल बल्ने टुकी बत्तीले प्रमाण लाउथ्यो। हिजो सम्पन्न देखिने त्यो तीनतले घर आहा ! बाहाँभरि पच्चीस/तीस मुरी मकैको झुत्ता देखिन्थ्यो। उता थाङ्ग्रामा तीन वर्षजति पुग्ने मकै हुन्थ्यो भने भकारीमा धान र कोदो गरेर प्रायः त्यो गाउँभरि डेढ़ा र पच्चीसा गरेर अन्न दिन्थे र उठाउँथे पनि।
मण्डल बा भनेर चिनिने रनधोजलाई आज कसैले पर्वाह गर्दैन। गाउँका सबै किसानहरू विदेशतिरै रोजगार गरेर घर फर्किन्थे। अष्ट्रेलिया, बोर्नियो, दुवई, मलेसिया, हङकङ आदि इत्यादि मुलुकतिर रोजगार गरेर अमेरिकन डलर भित्र्याएका गाउँलेहरू अब मण्डल बालाई भेट्न किन पो आउँथे र!
प्रायः उनकै सेकतापमा हुर्केका ती गाउँले ठिटा-ठिटीहरू अब आफ्नो पहुँच पाखुरामा चढ़ेपछि हिजोको देवता आज भूत देख्न थाले।
मण्डलका दुई छोरा र छोरी पनि विदेशिएका थिए। गुँड़मा चल्ला नहुर्किउञ्जेल भोकै बसेर चारो खुवाउँछ माऊ। त्यसपछि त पखेटा लागेर आफै उड़ेका बचेराहरू किन पो त्यो पुरानो गुँड़ फर्किन्थ्यो र!
रमेश र प्रहर दाजुभाइ । रमेशको टुङ्गो छैन। न कसैसँग उसको सम्पर्क छ न त ती वृद्ध मातापिताको याद नै छ। सन्तान प्राप्तिको अभिलाषादेखि ओतप्रोत बाबुआमा अब जीवनको अन्तिम निस्वासमा तिनै सन्तानको आगमनको प्रतिक्षामा उदय र अस्त हुन्थ्यो। गाँस नरूचेका कति भोकहरू यातना भएर त्यही घरको चार कुराभित्र सर्वस्व सम्झिएर पुराना मैला थाना परेका सिरक ढसनामा अलिकति हिजोको आर्जनको सञ्चयकोषको रहल खाएर मृत्यु कुर्नबाहेक अरू के नै थियो।
लगभग दुवै दाम्पतिले अस्सीको दशक नाघेको त्यो चिसो हिउँदोले वैशाखको नयाँ पलुवा फेर्लाजस्तो देखिन्नथ्यो।
तर प्रहर भने विदेशमा कैदी जीवन विताए तापनि हृदयमा ती वृद्ध मातापिताको नरकङ्कालसम्म भेट्न सक्छु कि भन्ने भावनाले जेलर साहबलाई बिन्ती बिछ्याएर बहिनी रञ्जनालाई फोन गर्थ्यो- "बहिनी रञ्जना तिमी कसैगरी घर फर्क। एकपल्ट ती आमाबाबाको अवस्थाा बुझ। उनीहरू छन् कि छैनन् ? तिमी स्वदेश फर्क। म कैदबाट जब निस्किन्छु अनि त दुई तीन महिनाजति काम गरेर खर्च भएपछि घर फर्किन्छु। बरू यो बिदेशभन्दा त स्वदेशको तातो घाम नै शितल हुँदोरहेछ। बन्दकी उकासेर आफ्नै पाखा पखेरोमा रमाउँछु। जे उमार्छु त्यसैलाई मेरो भाग्य सम्झिन्छु।”
दुई चार शब्द के बोलेको थियो फेरि प्रहरीहरूले गलहत्याउँदै कैदी गृहमा कोचारे।
आँखाभरि आँसु पारेर प्रहर रून थाल्यो। कैदी मित्रहरू पनि दुःखमा दुःख बाँडेर रून थाले।
समय दौदिँदै गयो। दिनपछि रात। निखिँदै गरेको मुटुको ढुकढुकीसम्म आएर मण्डल बा दैव पुकार्थे। आमै त्यही पुरानो गुनिउको आँचलले आँसु पुछ्दै भन्थिन- "कोती त आउँला नि मर्ने बेलासम्ममा!"
सबै बिदेशिएर गाउँ जङ्गल भयो। बन्य जन्तुहरू आँगन र करेसोबारीसम्म प्रसस्तै आउन थाले। बाघ, चितुवा, स्याल, फ्याउँराहरू दिउँसै बाख्रा, कुकुर, हाँस, कुखुराहरू घिस्याउँथे। निषेध आज्ञाले बन्य जिव मार्न नपाइने। मारे कैद गरिने र कड़ा जरिमाना तिराइने । अन्धो कानुनले मताधिकार पाएका गणतान्त्रिक नागरिकहरू मौन थिए। प्रायः सोझा गाउँलेहरू 'सबसे भला चुप' भनी सहनु नै वेश सम्झन्थे।
एक दिन हठात् जङ्गलमा आगो लाग्यो। कताकता छरिएर बसेका गाउँलेहरूले आगो निभाउन धेरै प्रयत्न गरे। तर निःष्फल रहे। त्यहाँ कुनै दमकल पुगेन। प्रायः पुरूषहरू गाउँमा नभएर होला गृहिणीहरू चिच्याउनबाहेक के नै गर्थे र ! अब मण्डल बाको घर, कटेरो आगोले भेट्नमात्र केही बाँकी थियो। एउटा अपरिचितजस्तो देखिने आधावैसे पुरूष हस्याङ फस्याङ गर्दै आगो निभाउने प्रयत्नमा तल्लिन थियो। गाउँका केही वृद्ध पुरुष र महिला- "लौ ल नि! ठूलो बिगार भयो। बचाऊ !" भन्दै कराउँथे भने नाबालक र अशक्तहरू धुरुधुरु रुन्थे। तर केही क्षणमा गाउँलेहरूको अथक प्रयासमा आगो केही नियन्त्रित भयो। साम्य भएको आगोबाट धूवाँ आकाशिरह्यो।
बिन्दु निक्कै ठूलो रोदनमा अझ चिच्याउन लागी - "ल्या... बित्यास परेछ।"
सबैले "के भयो?"- भन्दै बिन्दु भएका ठाउँमा आइपुगे। मण्डल बाको छोरो रमेश आगोले जलेर मरेछ। लाएका लुगाहरूसमेत शरीरमा टाँसिएका थिए। बिन्दु अझ डाको छोडेर रून थाली। रमेश उसको प्रेमी थियो। बिदेशबाट घर फर्किएपछि विवाह गर्ने उनीहरूको बाचा थियो। अब कसरी मण्डल बालाई रमेशको यो असामायिक मृत्युको खबर सुनाउने? लास पोस्टमार्टममा लगियो। वृद्ध मातापिताले यतिका दिन सन्तान कुरेर बसेका त्यो क्षण आज पुत्र वियोगको कथा कसरी सुनाउनु र?
गाउँकै सल्लाहमा रमेशको लास दहन गर्ने तरखरमा दागबत्ती दिन ठिक्क हुँदा प्रहर आइपुग्यो। रञ्जना एयरपोर्टबाट सिधै त्यो जीर्ण घरको मझेरीमा बाबाआमालाई अन्तिम एक घुट्की पानी पिलाउन सफल भई। निराश भएर प्रहर जब साँझमा त्यो पुरानो घर र बाबाआमाको दर्शन गर्न आइपुग्यो अनि बा'ले लामो अन्तिम सास फेरे।
रञ्जना र प्रहर हेराहेर गरे। साँझ पस्यो। गाउँमा दुईचार बत्तीहरू धिपधिप गर्न थाले। बाँसघारीतिर जुनकिरी बल्दै निभ्दै थिए। स्याल र फ्याउराहरू कराउन थाले।
कत्रो ठूलो अपशकुन हैं! प्रहर झसङ्ग भयो। आमा सधैंलाई प्राणान्त भइन्।
बिन्दु, प्रहर र रञ्जना छाती पिटीपिटी रून थाले। चिता जल्दै थियो। साहु बन्दकीको भर्पाईमा मियाद बितेको लेखापढ़ीमा हस्ताक्षर गराउन छेउमा ठिङ्ग उभियो।
बिन्दुले शिरबन्दी, चुरा र बुलाकी फुकाली, रञ्जनाले कण्ठ र मङ्गलसूत्र खोली, प्रहरले दश लाख नगद राखेर बन्दकी उकासे।
रात उसै बित्यो। भोलिको उज्यालामा एउटा सन्नाटा छायो। सम्भ्रान्त परिवारको विभ्रान्त जीवनको इहलीला घाम नडुब्दै समाप्त भयो।
बा'को इष्टकोटमा एउटा पुरानो डायरी थियो। त्यहाँ लेखिएको थियो- "मझेरीभित्र एउटा तामाको गाग्रीमा बाह्रतोला सुन र चार हजार चाँदीका सिक्काहरू छन्। त्यसैले हाम्रो किरिया गरिदिनू।"
प्रहर जब अत्तालिएर कैदी गृहमा जुरुक्क उठ्यो। बाबा शब्द निक्कै जोड़ले सुनियो। प्रहरीहरू जेलखानामा भेला भए।
प्रहर स्याँ स्याँ गर्दै थियो। आदेश भयो- कैदी गृहबाट प्रहरलाई छुटकारा दिइयो।
सबैलाई सलाम गर्दै प्रहर बाहिरियो। अहो! कस्तो बीभत्स सपना!
शून्य प्रायः छ गाउँ। शहरीकरणको रहर समेट्न गाउँलेहरू उत्तराधुनिक सभ्यता खोज्दै दीर्घकालदेखि बसिआएको पुरानो थलो गाउँ छोडेर शहरतिर एक-दुई गर्दै पस्ने कामले सुनसान छ तर रमाइलो शान्ति छ। कुनै कोलाहलपूर्ण ध्वनि प्रदुषणको सामना गर्नु छैन। अलिकति हिँड्नु पर्छ, गाउँले रहन-सहनमा बस्नु पर्छ। तर मिलनसार, सोझा र ईमान्दार गाउँलेहरू आफूजस्तै ठान्छन् अरूलाई पनि।
विकाशको ढिलो प्रगति देखेका गाउँलेहरू अचेल आफ्नै मेहेनतले पानी, बिजुली र बाटोको अति आवश्यक्ता आफै पूरा गर्न लागिरहेछन्।
बूढापाकाहरू भन्थे - गाउँमा बाटो आएपछि चोर, ठग र छुल्याहाहरू आउने गर्छन् र गाउँ भाँडिन्छ। तर कत्तिको आधुनिक मानवसम्मत छ त्यो कुरा?
मान्छे चरित्रमा निर्भर गर्ने सामाजिक प्राणी हो। शान्तिले हुर्कन सिकेको गाउँ आज विभ्रान्तिमा प्रश्नसूचक पहेली बोल्न थालेको छ। रोजगार छैन, जीवनशैली कसरी अगाडि लैजाने भन्ने चिन्तन छ। शासन व्यवस्था अपत्यारिलो छ। यो प्रतियोगितात्मक युगमा सबै आफूलाई सम्भ्रान्त श्रेणीमा राख्न तम्सिन्छन्। तर पहुँच पनि त हुनु पस्यो नि!
घरमा कुनै महङ्गो धातु छैन। जसबाट आर्जित सम्पति खर्चेर विदेश जाऊँ। छ भने त्यही जमिन छ धितोको रूपमा। तर विदेश स्वदेशजस्तो छ त? त्यहाँका मान्छे अल्छी छन् र हामीलाई ज्यालामा कामदार बनाउँछन्।
यी सबै वसन्तीले रातको पहिलो प्रहरदेखि नै सोचिरही। माखोमुन्द्रो सबै बेची प्रियतमको मृत्युपछि चार सन्तानकी आमा वसन्ती एउटा सुसम्पन्न जीवन जिउने विकल्पको खोजीमा लागिपरिरहन्थी। यसरी कति सपनाहरू बिपना हुन सकेनन् । तैपनि निमुखा छोराछोरीलाई माइतीकै आड़मा छोडेर ऊ विदेश जाने भिसा र मेनपावरका पछि लागि। आगामी दश गते माघ १:४५ बजे उसको हवाइजहाजले उडान भर्नु थियो।
घरका हरेक तारतम्य मिलाउन र छोराछोरीको स्कूल फीको तर्जुमा किलाएर जानुपर्ने एउटा जिम्मेवारीपूर्ण काम थियो भने उता गाउँले समाजले हेरिरहेको नकारात्मक भावनाको प्रत्युत्तरसमेत कर्तव्यले दिनु निक्कै कठिन थियो।
बीएसम्म शिक्षा लिएको वसन्ती निकै गम्भिर देखिन्थी। तर हजारौं ऊजस्तै गाउँले दिदीबहिनीहरूले जुन बाजी जितेका छन् त्यो ऊ पनि जितेर देखाउन चाहन्थी।
पर्खिदा-पर्खिदै माघ दश गते पनि आयो। तर अचानक मौसम परिवर्तनको कारण जहाजले उड़ान भर्न सकेन। एउटी आमा आफ्नो सन्तानको आवश्यक्ता पूरा गर्न कतिसम्म तल्लीन छिन् द्रष्टव्यबाट बुझ्न सकिन्छ। तर महिलाहरू माथिको मानव समाजको सोच भने वैदिककालमा महिलाहरू शिक्षित, सुस्वास्थ्य र अग्रभूमिका निर्वाह गर्न सक्ने दक्ष नागरिक हुनुपर्छ भन्ने धारणा थियो भने वर्तमानमा महिलाहरू सुन्दरी, आधुनिक फेसनगामी र उच्शृङ्खल भएको देख्न चाहन्छ समग्र भूखण्डका नवीन सभ्यताहरू।
यहाँ वसन्तीमा यीखाले सोच होइन अपितु बाँच र बचाऊँ भन्ने जिज्ञासा लिएर एउटा कठिन कार्यलाई आत्मसात गर्न ऊ विदेश जाने तरखरमा छिन्। तर मुलुकमा आएको जनआन्दोलनको कारणले उनको वैदेशिक रोजगारको सुनौलो चाहना अहिलेलाई ठप्प भयो।
जब दीर्घकालिन जनआन्दोलन रोकियो अनि वैशाख २७ गते ३ बजे र १० मिनटको हवाइयात्रा पुनः वायुसेवा निगमले तय गरेपछि वसन्ती स्वदेशले दिन नसकेको रोजगार प्रवासी मुलुकको निग्राहमा आफूलाई समर्पण गरी नाबालक सन्तानको माया स्पन्दनमा छ्याप्प अँठ्याएर सवार गरिन्।
केही घण्टाको उड़ानपछि खाड़ीको उष्ण जलवायुको देश कतारमा अवतरण गरिन्। ऊसित जम्मा सातवटी महिला थिए जो स्वदेशको नुनतेल खान विदेशिएका थिए।
उनका पति प्रा०बि०का निपुण शिक्षक थिए। एक दिन उनी अचानक हराए। अनि आजसम्म बेखबर छन्। यसैले वसन्तीको मनमा जुन आगो छ त्यो जलिरहन्छ। बिछोड़को बेदनाले होइन खप्न नसकेको संवेदनाले यसरी बतासिन पुगिन्।
धन्न भाग्यले साथ दियो। वसन्तीले व्याङ्कमा जागिर पाइन्। त्यहाँ धेरै कर्मचारीहरू महिला नै थिए। त्यसैले उनी सुरक्षित थिइन्।
कठोर परिश्रमले उब्जाएको ज्यालासँग सन्तुष्ट रहेर तीन वर्षको कारागारजस्तै कठिनताबाट आज सकुशल घर फर्किन् वसन्ती।
यता छोरो दिपेशले बाह्रौँ श्रेणी उत्कृष्ट अङ्क ल्याएर उतीर्ण भएको खुशी थियो भने छोरी घरमा नै खुशी थिई। आफ्नै गाउँ फर्केर वसन्ती र परिवार आएको देखेर गाउँलेहरू प्रसन्न थिए। गाउँको वातावरण फेरियो। सबै भेट्न आए। सयपत्री रोपियो। मादल बज्यो। चाढ़पर्वहरू उसै रमाइला भए।
तिहार आउनै लागेको थियो। याद आयो, सधैँ त निमेष घरमा हुँदा दिदी मोनिका भाइटीकाको निम्तो गर्न दुई थुङ्गा सयपत्री र केही सौगात लिएर टुप्लुक्क आउँथिन्। यसपालि के होला? उत्तर दिन नसकिने अवाक प्रश्नहरू समेट्दै वसन्तीले साँझको बत्ती बालिन्। बाहिर डोरबेल बज्यो किरिङ किरिङ...।
अहो! ब्रुनोइबाट निमेष आइपुगेछ।
शिक्षकको थोरै बेतनबाट घर सञ्चालन हुन नसक्ने भएको हुँदा जागिर छोडेर पति विदेशिएको कुरा वसन्तीले पछिमात्र बुझिन्।
पहँलै सुन्तला दाना लच्केर भुइँसम्म लटरम्मै गाउँभरि जताततै पहँलपूर। नेपालतिरबाट काम गर्न आएका ढाक्रे दाइहरू। ठूल्ठूला ढाकरअघाड़ि खकन र पछिल्तिर तोकमाङ लगाएर, ठूलो गह्रौ भारी ठड्याएर लहरै उभिन्थे। उनको मुलुकमा दुःख भएर केही धन आर्जन गर्न मुग्लान आएका अरे। दुःख पाएर सुखको अनुभव गर्न हो या त एक छाक परिवारसँगको भान्सा मिठो खान हो। प्रतिवर्ष ती दाइहरू तिहार सकिनेबित्तिकै गाउँ-गाउँतिर कतै आरा काट्न त कतै दाउरा काट्न, सुन्तला बोक्न आउँथे। जीवनको जिउने तरिका परिवर्तन गर्न नै मान्छे परदेशिन्छन्।
जोगी फेड़ी लाउन विषेश कार्तिक र चैतमा माथि आकाशमा काकाकुलहरू कराउन थालेपछि र कस्याङकुरूङको बाक्लो झुण्डझुण्ड दक्षिण फर्किएपछि बराँठको सिङको नाँद बजाउँदै कहिले त साँझपख रात्रि मन्त्र जपेर, फेड़ी फुकेर स्वजातियताको इतिहास आलो राख्न या त सिद्राको व्यापार पशुपतिको दर्शन भनेजस्तो गरी रातको रखवालीको रूपमा फेड़ी बजाउँदै गाउँ चाहर्थे। रातभर कुकुरहरू भुकेर कहिले त निद्रा पर्दैन थियो। त्यसैगरी पुरोहितहरू यजमान गर्न गराउन उपल्लो मुलुकबाट आउने गर्थे।
कलाका धनी हाम्रा दर्जी दाईहरू सनाहीमा आफ्नै परिवेशको लोकभाका बजाउँदै नाच्दै गाउँदै पनि घर दैलोमा नआएको कहिले हो र! त्यसबेलाको शान्ति मुलुक र पारगमन कति सहज रहेछ अहिले हेरी।
दुलही लिन बरियातहरू कहिले उता कहिले यता डाँडापारि-पारि सिमाना काटेर आउने जाने गर्थे। अहँ वैवाहिक लेनदेनमा कुनै तगारो थिएन।
गाउँबेंसी र दरवारीय कथा-गाथा अनि लोकभाकामा जब सारङ्गी रेट्दा त्यसको खोक्रो पेटबाट जुन ध्वनि निकाल्न तनमय हुन्थ्यो। सायद लाग्छ सारङ्गीको खोक्रोपनसरह उनका समस्याहरू पो कतै ती लोकभाकासँग रोइरहेका त थिएनन्!
एकातिर सारङ्गी रेटिन्थ्यो जब कि मन मस्तिष्कको गहिराइसम्म छुन्थ्यो भने उता उनका पीड़ित परिवार पनि कतै त्यसरी नै रेटिएका त थिएनन्? तर जे होस् हामीलाई राजा मन पर्थ्यो।
रानीले असार पन्द्रमा ती बूढ़ा निलकण्ठ देवतालाई हल चलाएको चामल अछेता चल्दैन थियो अरे र केही आना जमिनमा रानी स्वयं असारपन्द्रमा धान रोप्थिइन् अरे।
उनकै हातले उक्त दिनको मध्यान्नपछि बाँड़िने खाजा (दोप्परे) आज असारपन्द्रको दहीचिउरा। तर अब त किन दोप्परे दहीचिउरा खाने र? उसको ठाउँमा वाईवाई, मिमि र मामाजस्ता तयारी चाउचाउ आएपछि।
दहीले चिसो लाग्छ। चिउराले मुँड़ी ढाड़िन्छ। राजारानी नरहे दहीचिउरा पनि किन र? तर पनि शान्तिको चल्ला काढ्न उताको डाँफे कहिले यता र यताको मुजुर उता मौसम हेरी उडिरहेकै होलान्। समयको चर्को घामले होला अचेल करेसोमा सारङ्गी रेट्दैन न त आँगनमा सनाही नै रून्छ।
रहर बनभोजको। आर्थात् एउटा ड्राइ पिकनिक। केही आठदश ठिटाहरूको मतो। रहरको पखेटा फिजाएर माईतर्फ।
केही लाशहरू चितामा घुवाँसरि थिए। कोही टाउको ताछेर सेत्तै थिए। कसैको पति वियोग त कसैको पत्नी वियोग। लगनको सिन्दुर पखालेर हरियो पोते चुँडाएर चुराहरू फुटाएर त्यहाँ पापहरू कालो मुस्लो धुवाँ आकासिँदै थियो। धर्म भने पानीसँग बग्दै थियो।
हर्ष र विमर्शको समागममा बनभोज एकातिर अर्कातिर पितृभोज। माईको मन्दिरबाट एउटी तरूणी फेरि सुहागिन भई मुग्लान पसी।
कृष्णचुँड़ा फुलेर तराई उसै रमाइलो थियो। कालो सड़कको छातीमा नव दम्पतिको स्वागतमा फूलका पत्रदलहरू फरर झरिदिन्थे या त लाशको अन्तिम विदाइमा बेदनाका आँसुसहर हो या सम्वेदनामा रित्तिरहेका थिए।
यता लाली गुराँस दुरूस्तै बाटो छेकीछेकी फूल बर्साउँथे। त्यो दिन दोसाँधको भन्न नसकिरहेको एउटा आत्मतरङ थियो।
तर जे होस् यता गाउँमा चाहिँ रमाइलो थियो।
उमेरको बालीमा जसरी रहरहरू लहलहाउँछन् उसरी छद्मभेषमा माया टुसाइरहन्छ। तर अदृश्य र अपरिपक्क। सिमल भुवा फुलाउँछ, हावा त्यसलाई समातेर उड़ाउँछ। तैपनि सिमल अस्तित्व बोकेर फेरि टुसाउँछ प्रकृति हेर्नलाई।
खै म त के भन्नु र अचेलकाहरूलाई! बढ़ा बद्द्मास छन्। स्कूल- मदपान, खैनी, बिँड़ी, सिगरेटलगायतका कुकृत्य, कुआचरण र कुबानी सिक्नलाई हो र? स्कूल त शिक्षा आर्जन गर्ने एउटा शिक्षागृह हो। भविष्यको कर्मथलोको पृष्ठभूमि हो।
कुमारले आज आफ्नै नाती शनिलाई परिवारका सबैसामु सम्झाउँदै थिए। शनि भने खिर्कीबाट उँधो हेरेर टोलाइरहेको थियो। रमाले आफ्नो छोराको वर्तमान समयको कुसङ्गत्तमाथि गहिरो चिन्ता गरिरहेकी थिइन्। रमाका पति एक शिक्षित बेरोजगार थिए। तैपनि परिवार पाल्ने जिम्मेवारी आफ्नो काँधमा आइपरेको हुनाले ऊ दैनिक मजदुरी कमाउन गाउँघरकै कतिपय कामहरूमा आफूलाई तल्लिन राख्दथे।
मोबाइलको मिसकलमा आँखा लगाउँदै रमाले पति उदयलाई भनी- "यो को हो? हेर्नु न मिसकल गरिबस्छ। नाम पनि सेभ छैन रहेछ।"
उदयले - "खै फोन मलाई देऊ त।" भनेर पत्नीको हातबाट फोन लिएर कल ब्याक गर्छ।
"हेल्लो ! को हुनुहुन्छ? कताबाट बोल्नु भएको?"
प्रत्युत्तर सुनेर उसले "हुन्छ।" - भन्छ।
हतारहतार खाना खाएर उदय आफ्नो बाइक स्टार्ट गरेर दौड़िन्छ। उनको साथी प्रभाकरलाई मादक पदार्थ ओसारपसार गरेको अभियोगमा पुलिसले नियन्त्रणमा लिएछ। तर उदयले उक्त प्रक्रियामा सङ्लग्न अन्य आरोपीहरूसमेत चार जनालाई इन्स्पेक्टर रसाइलीलाई सम्झाइकन पुलिस नियन्त्रणबाट छुटकारा दिलाएपछि आफ्नो आर्थिक सङ्कटलाई साम्य तुल्याउन काम खोज्दै शहर पस्छ।
शहरमा पनि वर्तमानमा जस्तो काम थिएन। वर्तमानमा भारत देशको सर्वोच्च अदालतले एउटा भर्डीक निकालेर सिक्किमेली मूलका नेपालीहरू बाहिरबाट आएका हुन भन्ने एउटा गम्भीर र ऐतिहासिक आरोप लगाएपछि झण्डै सोह्रौँ ख्रिष्टाब्ददेखि भूमिपुत्रको रूपमा आएका विभिन्न जातीय नेपाली समुदायका नेपालीहरू आफ्नै थलोमा निस्सासिरहेका थिए साथै आक्रोसित थिए।
सन् २०२३ को प्रथम सप्ताहदेखि विभिन्न राजनैतिक पार्टीका कार्यकर्तालगायत अनेकौँ संघ-संस्थादेखि लेखक, बुद्धिजिवी एवं साधारण नागरिक समाजका नेपाली तथा भोटे लेप्चा आदि सड़कमा उत्रिएर सरकारसमक्ष आफ्नो भनाइ वापस लिन भनिरहेका थिए। साथै भारतका विभिन्न प्रान्तबाट समेत सरकारलाई दबाब दिन विभिन्न ब्यानरहरू निकालेर आन्दोलित थिए त्यहाँका जनता।
यता रोजगार नपाएर जनसाधारण आफू र परिवारलाई बचाउने माध्यम खोजिरहेका थिए। यही त्रीकोणीय समस्यामा उदयको घर, छोरा दुष्यन्तको जन्मले काख भरिएको थियो। एउटा सन्तानको आगमनले भविष्यको इतिहास, धर्म, संस्कार, संस्कृतिको रक्षा हुने खुशीले वर्तमानको आर्थिक सङ्कट पनि सहज भएजस्तो लाग्थ्यो। तर जनमानसको एकमुष्ठ आवाजले ९ तारिख २ महिना २०२३ को दिन नबित्दै सर्वोच्च न्यायलयले आफ्नो भनाइ फिर्ता लिएको समाचारले सिक्किमेली नेपालीमात्र होइन अपितु भारतभरि छरिएर बसेका तमाम नेपाली तथा दार्जीलिङ, कालेबुङ भेगका पुस्तौंदेखि बसिआएका गोर्खाहरू जो भारतभूमिलाई मातृभूमि ठानेर विभिन्न युद्धमा देश रक्षार्थ खुनको आहुती दिने वीर गोर्खाहरूको खुशीको सिमा रहेन।
सरकारलाई बधाई र धन्यवाद दिँदै उदय र उनकी श्रीमती रमाले छोराको नाउ शनि राखे। शनि एउटा दस्तावेजको रूपमा प्रकट भएको समाधान नै थियो।
समयले गति फेस्यो। उदयको बन्य विभागमा जागिर मिल्यो। रमाले शिक्षकका रूपमा नियुत्ति पाइन्। समयको आकाशबाट अचानक परेको पानीले हृदयको ब्याँसी फुल्यो-फल्यो, रहरको खेत लटरम्म झुल्यो।
जीवन मोड़िएको क्षण बिहा
बारबाट पेग निलेपछि
रन्किएर पेग निचार्दै
बिहा खाँदैछु।
उनीहरू प्रणयमा लट्पटिंदैछन्
मेरो भने जिब्रो लठपटिंदैछ
आँखाहरू साना भएका छन्
नानीको तिक्ष्ण प्रहारले
सबै राम्री देखिन्छन्
सायद म मातेको छु
बिहाको बन्धन नपाएकाहरू
बेहुली र बेहुलाको अभिनय
ईर्थ्याले कल्पनामा
समेटिन खोज्छन्
आज साँच्चै म बिहामा छु
किन हो हाँस्तै छ प्रणय
एउटा लगनमा दुई मुटुहरू
कसम सिउँदोभरि रात्तै पारेर
हरियो पोते देवता भाकेर
उसको खुशी मनाउन
म निखिँदैछु
अचेल म निक्कै पिउने भएको छु।
क्यासेटमा नौमति बाजा झ्याँई झ्याँई बज्दै थियो। छिमेकीको छोराको बिहा। जानै पर्छ। किन कि निम्तो छ। कार्डमा समय तोकिएको छ- बेलुकी पाँच बजेसम्म। पाठशालाको बेलुकी बिदाको घण्टी टङटङ बजाएर विद्यार्थीहरू लहर लागेपछि उनीहरू राष्ट्रगान गाउँछन्। म मौन भएर उभिन्छु। जय हे जय हे जय जय जय जय हे...। खलीमट्टीको धुलो टक्टकाउँदै गोजी छाम्छु। घरकीले कोपी किन्न पठाएकी पचास रुपियाँ रहेछ। ढुक्क भएर बिहामा गएँ।
आँगन छेउमा गेटनेर बेसुरा भइसकेको मेरै पुरानो विद्यार्थीले 'सर! नमस्ते' भनेर सराउ लेख्नेको छेउमा चौकी हालिदिन्छ। उएटाले बारको निम्तो दिन्छ। अर्कोले बुफेको। म बार पिऊ कि बुफे खाऊ! बार पिए पनि रूपियाँ पचास नै हो। बुफे खाए पनि रूपियाँ पचास नै हो। यसरी बार पिएर बमन गर्नेहरू जीवनको सबै बेदनाहरू सम्झी सम्झी उल्टी गर्थे। कोही सारा पिरहरू निमिट्यान्न पार्न धरधरी रुन्थे। कोही आधा गाग्री छल्किएजस्तै गीतैभित्र पसेर आफैलाई समेट्न नसक्ने अवस्थामा पारा-पाराको भाँतीमा नाच्थे। कोही तरूणी तन्देरीसँग अँगालो हाल्थे। यी मदहोस त्यही बारको पेग खाएर नयाँ संसारमा विचरण गर्थे। यहाँ बियर, हुस्की, ओल्डमक, मिलिनियम, थ्रिस्टार, गोल्डस्टार, कस्तुरीहरू सबै मान्छे भएर नाच्थे, रून्थे, हाँस्थे। न त्यहाँ जाड़ो थियो न त गर्मी। न लाज न घिन।
चेतनाशुन्य अवस्थामा ऊ संसारको पर्दाभित्र थियो कि बादलमा कतै भौतारिँदै थियो। अर्धचेतनामा ऊ बेस्सरी कसलाई किन हो रिसाउँदै थियो अनि होसमा आएकाहरू सम्झाउँथे । तर म बारको छेउको चौकीमा बसेर यी दृश्य खुब नियाल्थे अनि मलाई लाग्यो यहाँ यहाँ विवाह हुँदैछ। दुई भिन्नै रगतका दौतरीहरू एउटा घुम्तीमा आइपुगेका छन्। अब मोडिन्छन् तिनीहरू। अब संसारको लालखातामा नाउँ चड़िसकेको छ तिनको। प्रेमबाट प्रणय, प्रणयबाट पुरस्कार चाहन्छन् तिनीहरू। भोलिदेखि बजारको भाव थाहा हुने छ। मतदान हुँदैछ। सिङ्गो संसारमाथि आफू स्वतन्त्र उम्मेदवार रहेर। त्यहाँ पराजय पनि छ विजयको अभिलाषामा। तर आज त्यहाँ बिहा हुँदैछ। अङ्कुराएकै छैन तिनको स्वर्णीम बिहान। फक्रिनै छ बसन्त। यो एकलै घुम्ने ब्रह्माण्डमा अब मेरो पनि ब्रह्माण्ड घुम्ने पस्यो।
सुटुक्कै घरभित्र बैठक कक्षामा अलिकति मिटसित करिब दुई पेग सिक्किमेली रातो मेरो सामुमा राखेर दुल्हा आफैले अनुरोध जनाएपछि फेरि एकपल्ट खल्ती छामे। त्यही अघिको गोड़ा पचासेक रूपियाँ रहेछ। मन बाँधेर वाइन ग्लास समात्न के आँटेको थिए मेरा एक हितैषी मित्र जो नशा पिउँदैन थिए र आदर्शवान अनि साहित्यप्रेमी औ धार्मिक थिए, उनको प्रवेश देखेर अवाक हुँदै मेचको खुट्टामुनि थपक्क राखेर आफ्नो आदर्शता देखाएँ। डराउँदै पिउनु पर्ने, नपिए नहुने, पिउँदा मज्जा आउने, नपिइदिए रिसाउने, यो बड़ो गजबको मादक पदार्थ रहेछ। पार्वतीले बनाएको रे। आमाको दूधभन्दा नि मिठो। प्रियसीको चुम्बनभन्दा नि रसिलो-सुरा रस। पिउँदा सुरा पिए पनि पिइसकेपछि बेसुरा भइदिने। मनका तमाम व्याथाहरू, सत्य-असत्य उगेल्नै पर्ने।
न खाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाको अनुहार। धन्य मलाई दैवले साथ दियो। उनको मोबाइलमा एउटा डाक आयो। ऊ हेल्लो बोल्दै बाहिरियो। मैले सुरा स्वाट्ट पारेर दुई चोक्टा मासु हतार हतार निले। अनि एउटा सेन्टरफ्रुट चपाउँदै हिजोको अखबारमा ध्यान केन्द्रित गरें। अखबारमा एउटा शिर्षक थियो- 'पुलिसले अवैध रम जफत गरयो।' थुप्रैपल्ट जफत गरे पनि मात्न खाँचो नभएपछि कसको के लाग्छ र! जसरी मैले इज्जत लुकाएँ, पेग लुकाएँ तर न सेन्टरफ्रुटले त्यसको नातो लाग्यो न त मेरो इमान्दारी नै लुक्न सक्यो।
अहिले म सौरमण्डलका नवौँ ग्रहभन्दा माथिको दशौँ ग्रह भएको छु। मेरो ब्रह्माण्डको रफतार माप कसले गर्ने र! ग्रहहरू सूर्यको वरिपरि घुम्छन्। म एउटा घरको विश्राम कक्षको सोफामाथि घुम्दैछु। ती मित्र कता गए? मलाइ पर्वाह छैन। दुई पेग फेरि थपेर कसले हो चीची पनि थपिदिएछ। त्यो पनि पिएर मासु चाटीचाटी खाइसकेपछि बिस्तारै सराउ लेखाउन बाहिरिएँ तर अघि नै काउन्टर उठिसकेछ। अँध्यारैमा घर हिँड़ेछु। न मैले पचास रुपियाँ तिर्नु पस्यो न त घरमा फूलकोपीको तरकारी खाइयो। राम्ररी होस् फर्किंदा त म सदर अस्पतालको मेल वार्ड लक्की नम्बर सेभेनमा पो रहेछु।
मान्छेहरू कुरा गर्दै रहेछन्- "होइन उहाँलाई तलमाथि क्यै भइगएको भए डाइङ हार्नेसमा छोरालाई मिलाइदिन्थ्यौँ नि। त्यसो त यत्रो सङ्गठन भाको के भो र? तर विचना जाती हुनुभयो। भइगयो नि! होइन र!"
श्रीमती रिसले चुर भइछन्। भन्दै थिइन्- "आ... घिच्न पनि अलिकति भा पो।"
डाक्टरले डिसचार्ज सर्टिफिकेट दिँदै घर लानु भन्दै थिए। तर धन्न त्यो दिन मैले धर्तीबाटै डिसचार्ज लिनु परेन।
चार पेगभन्दा कोपी नै मिठो!